साताभर शेयर बजारमा उतार चढाव
काठमाडौं, ९ बैशाख । यो साताभर शेयर बजारमा उतार चढाव देखिएको छ । साताभरको उतार चढावका वावजुद साताको अन्तमा शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७३ अंकले बढेर अन्तिम दिन १६५८.३४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७१ अंकले बढेर ३५८.०३ अंकमा आईपुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३३८३१ कारोबारबाट पाँच अर्ब १८ करोड १७ लाख ३५ हजार रुपैयाँ बराबरका ७५ लाख १६ हजार सात सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३७.६९ प्रतिशत कम हो । गत साता १५३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ५०६०२ कारोबारबाट आठ अर्ब ३१ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरका एक करोड ४० लाख ५१ हजार सात सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम (२१ करोड ७७ लाख ८० हजार रुपैयाँ) को आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख एक हजार कित्ता) र कारोबार संख्या (१४८९ वटा) को आधारमा पनि नेपाल क्रेडिट एन्ड कमर्स बैंक लि अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।