कला–संस्कृति बुझ्ने पार्टी एमाले हो -रंगमञ्च कलाकार निशा शर्मा

२७ वैशाख । निशा शर्मा पोख्रेल अहिले ४५ को वयमा हिडिरहेकी छिन् । १० वर्षको कलिलो उमेरदेखि नै रंगमञ्चको दुँनियाँमा होमिएकी शर्मा कलाकारितामा लागेको नै ३५ वर्ष पूरा भएको छ । उनी अलिअलि ज्ञान जान्ने भएदेखि नै कलाकारित र त्यसमा पनि रंगमञ्चको दुँनियाँमा होमिइन् । ‘मलाई कहिल्यै पनि राजनीतिको रंग चढेन । म रंगमञ्चकै दुँनियाँ रमाएँ,’ उनले निकै भावुक बन्दै भनिन्, ‘कलाकारले कुनै पनि राजनीतिक दल वा पार्टीको झण्डा बोक्नु हुँदैन । मैले पनि त्यो झण्डा बोकिन । तर, देश बनाउने सोच भएका व्यक्तिलाई भोट हाल्नु हाम्रो कर्तव्य पनि हो ।’
पुरानो बानेश्वरस्थित आरोहण गुरुकुल स्थापनामा निकै महत्वपूर्ण भूमिका खेलेका काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापितको नाम नै लिएर शर्माले भनिन्– ‘म अहिले पनि उहाँलाई मेयर ‘साव’ भन्छु । उहाँ जस्तो कलकारको मर्म बुझेका व्यक्तिलाई समर्थन गर्दा हामी गौरव गर्छौ ।’


उनले अहिले पनि कुन राजनीतिक दलका व्यक्ति कुन–कुन पदमा उठेका छन् भन्ने चासो नभएको भन्दै स्थापितले समर्थन गरेका व्यक्तिलाई जिताउदा कलाकारको भावनाको प्रतिनिधित्व हुन सक्ने बताइन् । ‘गुरुकुल मेयर ‘साव’ कै पहलमा जन्मिएको हो, अहिले पूर्वाधार अभावका कारण बन्द रहेको छ,’ निकै भावूक बन्दै शर्माले भनिन्, ‘यो पटक विजयी भएका मेयरले गुरुकुलको रक्षा गर्नुहुने छ भन्नेमा म आशावादी छु ।’
उनले एमालेको नाम त लिइनन् तर कला–संस्कृति बुझ्ने पार्टी एमाले भएको चाहिँ उनले घुमौरो पाराले खुलाइन् । ‘म अहिले पनि भन्छु मैले अहिलेसम्म पार्टीलाई होइन व्यक्तिलाई भोट दिदैँ आएकी छु,’ उनले भनिन् ‘अब पनि मैले भोट हाल्ने भनेको पार्टीलाई होइन, कला–संस्कृति बुझेको व्यक्तिलाई नै हो ।
गुरुकुलले देशको राजधानीमा रहेर सयौँ युवा कलाकार मात्र जन्माएन । मञ्चीय नाटकप्रति दर्शकको आकर्षण बढाउने कामको थालनी समेत गर्यो । ‘०६२–०६३ को जनआन्दोलन सफल बनाउन शसक्त भूमिका खेलेको गुरुकुल अहिले खोज्दा नभेटिने अवस्थामा छ,’ स्थापितले शर्मालाई छेउमै राखेर भने, ‘काठमाठौँ र ललितपुरमा एमालेले मेयर जित्यो भने गुरुकुल फेरि पहिलाकै अवस्थामा फर्किने छ । यो मेरो प्रतिवद्धता भयो ।’ स्थापितले त्यसो भन्दा शर्मा केहीबेर ‘फ्ल्यासव्याक’मा फर्किइन् ।