एमाले र माओवादीबीच तालमेल भएको भए धेरै राम्रो परिणाम आउने थियो —रेखा शर्मा ,नेता,नेकपा माओवादी केन्द्र
स्थानीय निर्वाचन पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लामा सम्पन्न मात्र भएको छैन । ती मध्ये अधिकांश जिल्लाको चुनावी परिणाम पनि घोषणा भैसकेको छ । अहिलेसम्मको चुनावी परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिलो स्थानमा छ भने अन्तिम परिणाम आउदा पनि पहिलो नै हुने निश्चित छ । तर, सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्र भने निकै कम स्थानसहित तेस्रोमा छ । यद्यपि माओवादीले यो चुनावी परिणामलाई सकारात्मक नै भनेको छ । एमालेले ल्याएको चुनावी परिणामलाई समेत माओवादीले सकारात्मक भनेको छ । पूर्वमन्त्री समेत रहनु भएकी रेखा शर्माले पनि मैत्रीन्युज डटकमसँग कुराकानी गर्दै एमालेले ल्याएको स्थानलाई सकारात्मक भन्नुभयो । उहाँसँग पहिलो चरणको स्थानीय निर्वाचनको परिणाम, काँग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वमा बन्ने आगामी सरकार, संविधान कार्यान्वयन लगायतका विषयमा केन्द्रित भएर गरेको कुराकानीः
पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय निर्वाचन सम्पन्न भएको छ । तीन प्रदेशका ३४ जिल्लामा भएको चुनावी परिणामलाई तपाईँले कसरी लिनुभएको छ ?
स्थानीय निर्वाचन नै हुँदैन भनेर विभिन्न खाले हल्ला चलाइएको थियो । धेरैलाई निर्वाचन नै नहुने हो कि भन्ने आशंका पनि उत्पन्न भएको थियो । तर, यस्तो बेलामा पनि स्थानीय निर्वाचन भयो । यो हुनु नै ठूलो कुरा हो । माओवादी संविधान कार्यान्वयनका सन्दर्भमा जिम्मेवार देखिएन भनेर धेरैले हल्ला गरिहेका बेला हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको सरकारले निर्वाचन गराउन सफल भयो । यसले मुलुक संविधान कार्यान्वयनको दिशामा प्रवेश गर्यो भन्ने संकेत गरेको छ । यो ठूलो उपलब्धि हो । निर्वाचनमा हार्नु–जित्नु स्वाभाविक हो । निर्वाचनमा पहिलो, दोस्रो वा तेस्रो हुनुलाई अस्वाभाविक मानेका छैनौ । निर्वाचन नै पहिलो प्राथमिकता भएकाले निर्वाचन भयो । यसमा हामी सबै भन्दा बढी खुशी छौँ । केही समीक्षा गर्नु आवश्यक छ । हामी औपचारिक धारणा बैठकपछि बनाउने छौँ ।
माओवादी चिरा–चिरा परेको छ । संगठन ध्वस्त भएको छ । यो चुनावमा माओवादी नै भेटिदैन भन्नेहरुका लागि त तपाईँहरुले प्राप्त गरेको यो परिणाम सकारात्मक नै होला नि होइन ?
भन्नेहरुले जे–जे पनि भन्छन् । तर, हामीलाई माओवादी नै छैन । एक सिट पनि आउँदैन भन्नेहरुका लागि त यो गतिलो जवाफ होला । तर, हामी स्वयंले भने यो भन्दा पनि बढी स्थानमा विजयी हात पार्छौ भन्ने ठानेका थियो । यद्यपि यो परिणामलाई माओवादीले सकारात्मक रुपमा लिएको छ । एजेण्डा जित्नु ठूलो कुरा हो । हाम्रो एजेण्डाले जितेको छ । आगामी दिनमा हामी अझ सच्चिएर जान्छौँ । यो भन्दा पनि स्वाभाविक र सकारात्मक परिणाम ल्याउने गरी हामी लाग्ने छौँ ।
अब केही दिन भित्रै प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिने भन्नुभएको छ । त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित छ । माओवादीले सहज रुपमा छाड्न लागेको हो ?
अहिले कुनै पनि पार्टीको बहुमत छैन । यस्तो बेलामा एउटै पार्टीको सरकार बन्ने कुराको सम्भावना छैन । त्यसैले समतिको सरकार नै बन्ने हो । हामीले पनि त्यही बाध्यतामा काँग्रेससँग सहमति गरेको हो । सहमतिमै पहिलो चरणको निर्वाचनपछि सरकार छाड्ने भन्ने नै हो । हामी त्यही सहमति पालन गर्न चाहन्छौँ । यो सकारात्मक कुरा पनि हो । हामी सहमति पालना गर्नुपर्छ भनेर नै सरकार छाड्न तयार भएका हौँ । अब बन्ने सरकारमा पनि माओवादी सहभागी हुनेछ । त्यही सरकारले साझा नीति, कार्यक्रम ल्याउनुपर्छ, ल्याउँछ । त्योसँगै अब बन्ने सरकारको ध्यान संविधान कार्यान्वयनमै हुनुपर्छ । हामी पनि त्यसलाई नै ध्यानमा राखेर अघि बढ्ने छौँ र खवरदारी पनि त्यही हुन्छ ।
काँग्रेसको नेतृत्वमा सरकार गठन भएपछि त स्थानीय निर्वाचन सहज ढंगले सम्पन्न गर्न समस्या होला नि ?
पहिला पनि चुनाव हुन नदिने प्रवृत्ति देखिएका थिए । ती सबैलाई तोडेर निर्वाचन गर्न सफल भयौँ । अब पनि त्यस्ता प्रयास अवस्य हुनेछन् । ती हर्कतलाई पनि तोडेर अघि बढ्नुको अर्को विकल्प छैन । भोलिको निर्वाचन पनि सहजरुपमा हुन्छ । नयाँ सरकारले मेहनेत गरेर अघि बढ्नुपर्छ । निर्वाचन सरल तरिकाले सम्पन्न हुन्छ, गर्नुपर्छ । निर्वाचनले नै सरकारको सफलता–असफलता निर्धारण गर्छ ।
जेठ ३१ गते नै दोस्रो चरणको स्थानीय निर्वाचन हुन्छ ?
प्राविधिक कारणले एक–दुई दिन तलमाथि होला । तर, हुन्छ ।
मधेसी मोर्चाले निर्वाचनका सन्दर्भमा समस्या खडा गर्ने पनि चर्चा छ नि ?
मधेसी मोर्चाका मागप्रति सरकार सकारात्मक छ । अहिले पनि सरकार मोर्चाका सकारात्मक माग पूरा गर्नुपर्छ भन्नेमा नै छ । तर, मोर्चाका नेताहरुले पनि परिस्थितिलाई बुझ्नुपर्छ भन्ने मलाई लागेको छ । आफूसँग दुईतिहाई पुग्ने अवस्था छैन भने जसरी पनि दुईतिहाई पुर्याएर हाम्रा माग सम्वोधन गर्नुपर्छ भन्ने उहाँहरुका माग सकारात्मक होइनन् । उहाँहरुले जसरी पनि पुर्याउनै पर्छ होइन भने हामी मान्दैनौ भनेर अत्तो थाप्न मिल्दैन । अहिले सबै मिलेर संविधान कार्यान्वयनमा जानुपर्छ । त्यसका लागि निर्वाचनमा सहभागी हुनु पहिलो महत्वपूर्ण कुरा हो । उपेन्द्र यादवजीले त निर्वाचनमा भाग लिइसक्नु भएको छ । अब, मधेसी मोर्चामा संलग्न दलले पनि चुनावमा भाग लिनुको अर्को विकल्प छैन । ‘मेरो गोरुको बाह्ैटक्का भनेर हुदैँन । निर्वाचनमा जानुको विकल्प छैन ।
एमाले–माओवादीको सरकार गठन हुने सम्भावना कत्तिको देख्नु भएको छ ?
मुलुकमा वामपन्थीको एकता होस् भन्ने आम जनताको चाहना छ । केही दम्भ र घमण्डले अहिले आम जनताको चाहना पूरा हुन सकेको छैन । आगामी दिनमा सबैको आत्मसम्मान गरेर अघि बढ्ने हो भने आम जनताको चाहना वामपन्थीहरुले पूरा गर्न सक्छन् । तत्काल सम्भावना नहोला तर दीर्घकालमा त्यो सम्भव छ । कम्युनिष्टहरुका नीति कार्यक्रम बढी जनउत्तरदायी हुन्छन् । त्यसकारण पनि सबै वामपन्थी मिल्नुको अर्को विकल्प छैन ।
पहिलो चरणको स्थानीय निर्वाचनमा एमाले र माओवादीबीच तालमेल भएको भए परिणाम अझ सकारात्मक आउने थियो भन्ने लागेको छ कि छैन ?
बामपन्थीबीच एकता हुनुपर्छ भन्ने आम जनताको चाहना छ । मैले अघि पनि भने । त्यही चाहनालाई पूरा गर्नुपर्छ भनेर माओवादी र एमालेबीच तालमेल भएको भए परिणाम अझ सकारात्मक आउने थियो । प्रयास पनि भएको हो तर सम्भव भएन । आगामी दिनमा एमाले र माओवादीबीच सहकार्य गरेका विश्वासको वातावण बन्न जरुरी छ । धेरै वर्ष अघिदेखि नै एउटाको अस्तित्वमा अर्काको भविश्य नदेख्ने भएकाले समस्या भएको छ । यसलाई हटाएर अघि बढ्ने हो भने अझै सम्भावना छ । यही निर्वाचनका सन्दर्भमा पनि केही अनिष्ट हुन्छ । निर्वाचन हुँदेन भन्ने भ्रम फैलाइएको थियो । तर, निर्वाचन भयो । अहिले निर्वाचन हुनु नै ठूलो कुरा भयो । अब हामीले माघ ७ भित्रमा प्रदेश र केन्द्रीय निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नुछ । यस्तो गहन जिम्मेवादी हाम्रो काँधमा छ । त्यसैले अब हामी सबै मिलेर जानुपछ । निर्वाचन विरोधीका भ्रम चिर्नुपर्छ ।
एमालेको चुनावी परिणामलाई कसरी लिनुभएको छ ?
एमाले आफैँले चाहिँ उसले सोचे भन्दा राम्रो परिणाम आयो भन्ने ठानेको होला भन्ने लागेको छ । तर, माओवादीको विचारमा एमालेले ल्याएको चुनावी परिणाम अस्वाभाविक होइन । पहिलो कुरा एमाले जनआधार भएको पार्टी हो । दोस्रो कुरा एमालेको पछिल्लो समय निकै राम्रो माहोल आएको थियो । यी सबै कुराले एमालेलाई साथ दिएको जस्तो लागेको छ ।
प्रधानन्यायाधीलाई महाअभियोग लगाउने, प्रहरी प्रमुख नियुक्त गर्ने जस्ता कुरामा सरकार चुक्यो । जसका कारण एमालेका पक्षमा सकारात्मक माहोल बन्यो भन्ने पनि छ नि ?
त्यो केही हदसम्म सत्य छ ।
जेठ ७ गते ।