नेपालको राष्ट्रिय खेल बन्यो भलिबल

maitrinews

 

काठमाडौँ । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो । डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गरे पनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेल अहिलेसम्म टुंगो लागेको थिएन ।
सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल राष्ट्रिय खेल हुनुपर्ने माग नेपाल भलिबल एशोसियसनले सुरुदेखि नै गर्दै आएको थियो ।
नेपाल भलिबल एशोसियसन राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका खेल संघहरुमध्ये निक्कै सक्रिय थोरै संघहरुमा पर्छ । बार्षिक क्यालेण्डर बनाएर ब्यवस्थित रुपमा नेपाल भलिबल संघ सक्रिय छ ।

राष्ट्रिय खेल बनाए पनि नेपालमा भलिबल खेल्न एउटै सुविधासम्पन्न कवर्डहल छैन । त्रिपुरेश्वरमा भएको हल पनि गोरखा भूकम्पले क्षतविक्षत भएको र अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । कमजोर भौतिक संरचनाका बावजुद भलिबल प्रतियोगिताहरु देशभर नै भइरहेका छन् ।