आइएमएसले मनायो २५ औं “आइएमएस दिवस”

काठमाडौं । सामसङ स्मार्टफोन तथा कोरियन लक्जरी ब्राण्ड साङयङ मोटर्स्का आधिकारिक वितरक आइएमएस ग्रुपले आफ्नो २५औं वार्षिकोत्सवको उत्सव मनाउँदै २५औं आइएमएस दिवसको आयोजना गरेको थियो । ग्रुप चेयरम्यान दिपक मल्होत्रा, कम्पनीका प्रेसिडेन्ट तथा सि.इ.ओ. दिकेश मल्होत्रा तथा केही अन्य अतिथिहरु लगायत कम्पनीका ३५० भन्दा बढि कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम भएको थियो । यस २५औं माइलस्टोनको उपलक्ष्यमा कम्पनीले सबै कर्मचारीहरुलाई सौगातस्वरुप चाँदीको सिक्का समेत वितरण गरेको थियो । साथै कार्यक्रममा कर्मचारीहरुकै सहभागीतामा विभिन्न रमाइला ट्यालेन्ट शो, खेल, क्विज् तथा अन्य कार्यक्रमका साथै पुरस्कार वितरण पनि भएको थियो । छनौट गरिएका केही कर्मचारीहरुलाई विभिन्न मेडल तथा नगद उपहारहरुले “वर्षकै सर्वाेत्कृष्ट कर्मचारी”, “सर्वाेत्कृष्ट डिपार्टमेन्ट”, तथा “सबैभन्दा लामो सेवाअवधि” का रुपमा सम्मानीत पनि गरिएको थियो ।
चेयरम्यान दिपक मल्होत्राले कार्यक्रममा भने “हामीले यस माइलस्टोन प्राप्त गर्न सफल हुनुमा हाम्रो निरन्तर प्रयास, प्रतिबद्धता तथा टिमवर्कको धेरै महत्वपूर्ण योगदान छ र म सम्पूर्ण आइएमएस परिवारलाई यस उपलब्धिका लागि धन्यवाद दिन चाहन्छु । हामी विगत २५ वर्ष देखि सबैको क्षमता विकास गराउने र हाम्रा ग्राहकहरुलाई सेवाहरु प्रदान गर्नमा प्रतिबद्ध रहँदै आएका छौं । यस सफलतालाई निरन्तरता दिँदै आउने वर्षहरुमा पनि थप नवीनता, अभिवृद्धि तथा उपलब्धीहरु प्राप्त गर्दै जान प्रेरित छौं ।”
आइएमएस ग्रुप विगत २४ वर्षमा क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ जुन कम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल १२ वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित छ ।