गर्मी महिनामा काँचो र पाकेको दुवै मेवा खानु लाभदायक

maitrinews

काठमाडौँ । गर्मी महिनामा मेवा सेवन गर्नु धेरै नै लाभदायक मानिन्छ । तराई र पहाडको तल्लो क्षेत्रमा पाइने मेवा छिटो पाक्ने फल पनि हो । त्यसो त मेवा पाकेको मात्र होइन, काँचो सेवन गर्नु पनि फाइदाजनक नै हुन्छ । मेवा पहाडमा १३ सयदेखि २१ सय मिटरको उचाइमा हुन्छ । १० देखि १२ फिट अग्लो बोटमा एक सय २५ ग्रामसम्मको फल लाग्छ । प्रायः वर्षभरि नै फलिरहन्छ । पाकेको मेवालाई त्यतिकै काटेर खान सकिन्छ भने काँचो मेवालाई अचारको रूपमा प्रयोग गर्न सकिन्छ ।

काँचो मेवाका फाइदा
काँचो मेवा सेवन गर्दा खाना पचाउन, पेट सफा गर्न, कब्जियत हटाउने, रगत शुद्ध गर्ने, कमलपित्त र अम्लपित्त भएकालाई कम गर्न सहयोग गर्छ । साथै, काँचो मेवा खाँदा मिर्गौलालाई फाइदा गर्ने, पायल्स, आन्द्राको घाउ (अल्सर)लाई ठीक गर्छ । गर्मी लागेका मानिसलाई पनि मेवा सेवनले धेरै नै राम्रो गर्छ ।

पाकेको मेवाका फाइदा
पाकेको मेवा पोषणयुक्त मानिन्छ । मिठो र स्वादिलो हुने कारण पाकेको मेवा धेरैले रुचाउने गर्छन् । यो रगत बढाउने तथा पेट सुक्ने रोगमा उपयोगी हुन्छ । यसको नियमित सेवनले स्मरणशक्ति बढाउनुका साथै कलेजोसम्बन्धी रोग र जन्डिसमा अत्यन्त उपयोगी मानिन्छ ।

मेवाका यस्ता फाइदा
पाकेको १ सय ग्राम मेवामा ४० ग्राम क्यालोरी, कार्बोहाइड्रेड ९.८१ ग्राम, चिनी ५.९० ग्राम, पोषक फाइबर १.८ ग्राम, चिल्लो ०.१४ ग्राम, प्रोटिन ०.६१ ग्राम पाइन्छ । त्यसैगरी, मेवामा भिटामिन ए, बी, बी–१ (थाइमिन), बी–२ (रिगोफ्राबिन), भिटामिन सी, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र सोडियम पाइन्छ ।

मेवाको चोप कलेजोका लागि उपयोगी छ । खाद्य पदार्थमा पाइने प्रोभुजिन पचाउन चोप निकै उपयोगी छ ।

 जाडो–गर्मी दुवै मौसममा मेवा उपयोगी छ । यसको पाकेको फल १ सय ग्रामका दरले दैनिक तीन समय खानु उत्तम हुन्छ ।

 यसको बीजलाई सुकाएर धुलो बनाई खाँदा अजीर्ण, पित्तरोग, पाचन प्रणालीको कमजोरी र तनाव कम गराउन सहयोग गर्छ ।