मिस नेपालको उपाधि निकिता चन्दकलाई

 

काठमाडौँ । निकिता चन्दकले ‘मिस नेपाल–२०१७’ को उपाधि जितिन् । राजधानीमा मोरङकी २० वर्षीया निकिताले नयाँ मिस नेपाल वल्र्डको ताज पहिरेकी हुन् ।
दरबार मार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न प्रतियोगितामा उनले १८ प्रतिपस्र्धीलाई पछि पारिन् । पूर्वमिस नेपाल अस्मी श्रेष्ठले आफ्नो शिरको ताज एकपटक चुमेर निकिताको शिरमा पहिर्‍याइदिइन् । शीर्ष ताजसँगै उनले मिस कन्फिडेन्ट र पब्लिक च्वाइस अवार्ड पनि जितिन् ।

रोजिना श्रेष्ठ मिस नेपाल अर्थ, नीति शाह मिस नेपाल इन्टरनेसनल र सहारा बस्नेत मिस एसिया प्यासिफिक इन्टरनेसनल घोषित भए । नीतिले मिस फ्यासिनो र मिस कम्प्लेक्सनको टाइटलसमेत पाइन् । सहाराले मिस इन्टेलेक्चुअल टाइटल पनि पाइन् ।

मोडलिङ पेसा अँगाल्दै आएकी निकिताले प्रतियोगितामा परिचय राउन्डदेखि नै आत्मविश्वास झल्काएकी थिइन् । १९ प्रतियोगीमध्ये १४ हुँदै सेमी फाइनलमा ७ जना छानिएका थिए । यसअघि यो राउन्डमा सधैं लिखित प्रश्न सोध्ने गरिन्थ्यो । यसपटक भने प्रश्न र उत्तर दुवै मौखिक थिए । प्रमुख निर्णायक नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले ७ जना फाइनल प्रतियोगीलाई ‘तपाईंको विचारमा एउटी नारीले देशको आर्थिक विकासमा कस्तो भूमिका खेल्न सक्छिन् रु’ सोधेका थिए । जवाफ दिने क्रममा निकिताको आत्मविश्वास प्रशंसायोग्य थियो । उनले समाजसेवी अनुराधा कोइरालालगायत विभिन्न सक्षम र प्रतिभाशाली महिलाको उदाहरण पेस गर्दै अर्थतन्त्रमा महिलाको भूमिका अहम् हुने बताएकी थिइन् ।

उनले कुल जनसंख्यामध्ये ५१ प्रतिशत रहेका महिला सबै शिक्षित र आर्थिक रूपले सबल हुन सके देशको विकास हुन समय नलाग्ने धारणा राखेकी थिइन् । जवाफको अन्तिममा उनले भनेकी थिइन्, ‘यद्यपि मुलुक विकासमा महिला र पुरुष दुवैको उत्तिकै भूमिका अनिवार्य रहन्छ ।’

प्रतियोगितामा मिस टयालेन्ट टाइटल नर्मता गुरुङले, मिस फ्रेन्डसिप रोजिना श्रेष्ठले, मिस बेस्ट हेयर वर्षा पोखरेलले, मिस फोटोजेनिक अनुषा लम्सालले, मिस एथलेट मञ्जरी सिंहले र मिस ब्युटी विथ पर्पोसको टाइटल दृष्टि कटवाल पाए ।

जेठ २१ गते ।