लाठी, भाला देखाएर केही हुँदैन, मधेसमा चुनाव कसैले रोक्न सक्दैन
लालबाबु पण्डित, पूर्वमन्त्री एवं एमाले नेता
यही असार १४ अर्थात जननेता मदन भण्डारीको जन्मदिनका दिन चार वटा प्रदेशमा दोस्रो चरणमा स्थानीय निर्वाचन हुँदैछ । मधेस केन्द्रित दलका केही नेताले निर्वाचनमा भाग नलिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । मधेस केन्द्रिनै केही दलले भने निर्वाचनमा भाग लिने भन्दै चुनावी प्रचारलाई तीव्र बनाएका छन् । एमाले, काँग्रेस र माओवादी त तीव्ररुपमा चुनावी अभियानमा होमिने नै भए । यसरी चुनावी अभियान तीव्र भए पनि केही मधेस केन्द्रित दलहरुले आन्दोलन घोषणा गरेपछि विभिन्न खालका संसय पनि उत्पन्न भएका छन् । निर्वाचन नै नहुने हो कि, मधेसमा द्वन्द्व भएर फेरि केही मान्छेको ज्यान जाने हो कि ? यस्ता संसयका बीचमा निर्वाचन हुन लागे पनि मधेसकै नेताहरु भने निर्वाचन हुनेमा ढुक्क छन् । पूर्वमन्त्री समेत रहनु भएका लालबाबु पण्डितसँग मैत्रीन्युज डटकमले कुराकानी गर्दा उहाँले निर्वाचन ढुक्कसाथ हुने दाबी गर्नुभयो । पण्डितसँग मुलुकको पछिल्लो राजनीतिक अवस्था, तराईमा नेकपा (एमाले) को अवस्था लगाएतका बारेमा केन्द्रित भएर गरेको कुराकानीः
सरकारले यही असार १४ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति घोषणा गरेको छ । चुनावी प्रचार पनि अहिले एमाले, काँग्रेस, माओवादीलगायतका दलले तीव्र बनाएका छन् । के त्यही मितिमा निर्वाचन हुन्छ ?
निर्वाचन हुन्छ कि हुँदैन ? यहाँ त्यो प्रश्न पनि आवश्यक छैन । निर्वाचन हुन्छ, हुनुपर्छ । जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्छ । कुनै पनि बाहनामा निर्वाचन रोक्ने वा नगर्ने वा पछि सार्ने भन्ने हुँदैन । असार १४ मै निर्वाचन हुन्छ, हुनुपर्छ ।
तर, मधेसलाई आधार बनाएर राजनीति गरेको दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)ले त निर्वाचन नै बहिष्कार गर्ने भनेको छ । अनि कसरी तराईमा निर्वाचन होला र ?
अहिले राजपा मात्र होइन चुनाव विरोधी देशी–विदेशी शक्ति सलबलाई रहेका छन् । उनीहरु देशमा शान्ति र अमन–चयन भएको देख्न सकिरहेका छैनन् । उनीहरु देशलाई अस्थिरतामा धकेल्न आतुर भएका छन् । सकेसम्म निर्वाचन गर्न नदिएर अस्थिरता पैदा गर्न सकिन्छ कि भन्ने उनीहरुको चाहना छ ।
भनेपछि राजपाको पनि चाहना त्यही हो ?
जनताको समर्थन नचाहिने । आफू लुटेर भए पनि सम्पन्न हुनुपर्ने । अहिले केही तत्वहरु त्यसैमा लागेका छन् । जनतालाई सधैँ कंगाल बनाई राख्ने अनि विचरा ती सोझा–सिधा जनताका नाममा राजनीति गरेर आफू सधैँ सम्पन्न बन्नुपर्ने तत्वहरुका कारण समस्या भएको छ । लोकतन्त्र, प्रजातन्त्रका पक्षमा कहिल्यै नलाग्ने, खाली, देशलाई जनप्रतिनिधि विहीन बनाएर सबै आफै लुट्ने अनि दोष सबै अरुका थाप्लामा हाल्नेहरुले गर्दा समस्या भएको छ ।
यसको मतलव केही मधेसी दल पनि विदेशी शक्तिको गोटी बनेर देशमा अस्थिरता मच्याइरहेका छन् होइन ?
हो, अहिले भएको त्यही हो । नेपालमा अस्थिरता मच्याउन खोज्ने विदेशी शक्तिको गोटी बन्नेहरुका कारणले समस्या भएको छ । त्यस्ता शक्तिको गोटी बनेर निर्वाचन हुन नदिनेहरुलाई तराईका जनताले अस्वीकार गर्छन् । एमालेले पनि अस्वीकार गर्छ । हामीलाई चाहिएको स्थीरता हो । देशमा स्थीरता ल्याउने हो भने सबै भन्दा पहिला संविधान कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि तीन तहका निर्वाचन सम्पन्न हुुनुपर्छ । त्यसैले म सबैलाई निर्वाचनमा लाग्न र देशलाई स्थीरताको दिशामा लैजान आग्रह गर्छु । अहिले जातैका आन्दोलनकारीले विभिन्न बाहनामा निर्वाचन हुन नदिने खेल सुरु गरेका छन् । ती सबैलाई परास्त गरेर निर्वाचनमा सहभागी हुनुको अर्को विकल्प छैन ।
तर, तपाईँले त्यसो भन्दै गर्दा राजपाले त निर्वाचन विथोल्ने गरी आन्दोलनकै घोषणा गरेको छ नि ?
निर्वाचन विथोलिदैँन । कुनै–कुनै ठाउँमा उनीहरुले केही हर्कत गरेर निर्वाचन विथोल्न सक्छन् । त्यस्ता ठाउँमा पनि तुरुन्त घोषणा गरेर निर्वाचन गर्नुपर्छ । उनीहरुले लाठी, भाला देखाएर जनतालाई तर्साउन पनि खोज्लान । तर, उनीहरुका ती सबै प्रयास असफल हुन्छन् । निर्वाचन हुन्छ । मैले अघि पनि भने यो वा त्यो बाहनामा निर्वाचन कुनै पनि हालतमा रोकिनु हुन्न । २० वर्ष पछि हुन लागेको निर्वाचन अहिले पनि भएन भने त्यसले दीर्घकालिन असर गर्न सक्छ । हामी सबै मिलेर त्यसको सदुपयोग गर्नुपर्छ । निर्वाचन विरोधीहरुलाई जसरी पनि परास्त गर्ने गरी हामी लाग्नुपर्छ । यो भयो भने मात्र संविधान कार्यान्वयन हुन्छ । नभए समस्या हुन्छ । पहिलो चरणमा निर्वाचन भएका प्रदेशमा एमाले पहिलो भयो ।
तर, अब दोस्रो चरणमा निर्वाचन हुने प्रदेशमा एमालेका लागि त्यति अनुकुल छैन भन्ने छ नि । तपाईँलाई कस्तो लाग्छ ?
अब निर्वाचन हुने प्रदेश एमालेका लागि प्रतिकुल होइन, अनुकुल छन् । अहिले धेरैले तराईमा एमाले बडारिन्छ भनेर हल्ला गरेका छन् । सबै भन्दा अनुकुलता एमालेका लागि तराईमा छ । तराईका जनता एमालेका पक्षमा छन् । एमालेले लिएको राष्ट्रियताको अडानका पक्षमा तराईका जनता छन् । त्यसैले म ढुक्कका साथ भन्न सक्छु । दोस्रो चरणको निर्वाचनमा पनि एमाले नै पहिलो हुन्छ । अहिले दुई नम्बर प्रदेशमा एमालेले कतै पनि जित्दैन भनेर भन्नेहरु निर्वाचनमा एमालेले दुई नम्बर प्रदेशमा लाएको परिणाम देखेर बेहोस हुनेछन् । यसो भन्नुको अर्थ प्रदेश नम्बर दुईमा अरुले सोचे भन्दा राम्रो परिणाम एमालेले ल्याउने छ । अहिले केही साथीहरुले चुनाव विथोल्छौ, निर्वाचनमा भाग लिदैँनौ भन्नुको अर्थ उनीहरुलाई हामी जनताका बीचमा अलोकप्रिय छौँ भन्ने नै हो । उनीहरु त्यही कारण निर्वाचनमा जान डराई रहेका छन् । हल्ला गर्ने तर जनआधार नभएकाहरुले गर्ने नै यही हो । त्यसैले उनीहरुको यो घुर्कीलाई एमालेले सामान्य रुपमा लिएको छ ।
दोस्रो चरणको निर्वाचनमा उम्मेदवार छनोटमा केही तलमाथि भयो । यसकारण पनि एमालेलाई केही समस्या होला कि भन्ने पनि छ । कत्तिको सत्य हो ?
कसैलाई कुन राम्रो, कसैलाई कुन राम्रो लाग्नु स्वाभाविक हो । तर, यस्ता कुरामा जनआधार भएको, लोकप्रिय, जित्ने आधार भएको र भूगोलमा बसेर बढी काम गरेको व्यक्ति छान्नुपर्छ । त्यसमा केही कमजोरी भएकै हो कि भन्ने लागेको छ । तर, उम्मेदवार छनोट भएपछि सबै एक ढिक्का भएर लाग्ने हो । त्यो वा यो भन्ने हुँदैन । अर्जुन दृष्टि नै निर्वाचन हुनेछ । हामी त्यही ढंगले लाग्ने छौँ ।
०७४ माघ ७ भित्रमा संविधान कार्यान्वयन हुने सम्भावना कत्तिको देख्नु भएको छ ?
त्यो सम्भव छ । त्यसका लागि स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन मंसिर अघि नै सम्पन्न गर्नुपर्छ । मंसिरपछि मौसमले पनि साथ नदिने भएकाले सबै निर्वाचनमा लाग्नुपर्छ । अहिले स्थानीय निर्वाचन पर धकेलिने हो भने अरु निर्वाचन पनि पर धकेलिने छन् । त्यसको असरले गर्दा संविधान नै कार्यान्वयन नहुने खतरा पनि बढी हुन्छ । त्यसैले सबै लागेर निर्वाचनमा होमिनुको अर्को विकल्प छैन । तपाईँहरुको पार्टी अध्यक्षले अब मंसिरपछि काँग्रेस–माओवादी खोज्नुपर्छ ।
एमाले देशको सबै भन्दा ठूलो शक्ति बन्छ भन्नुभएको छ, सत्य त्यही हो ?
अब मंसिरपछि साना–साना पार्टी गठन गरेर कमाई खानेहरुको अस्तित्व समाप्त हुन्छ । काँग्रेस–माओवादीको पनि कुनै पोजिसन होला । तर, एमालेलाई पहिलो शक्ति बन्न कसैले रोक्नेवाला छैनन् । त्यो तागत कुनै राजनीतिक दलसँग पनि छैन । यसमा हामी ढुक्क छौँ । हामी अब मंसिरपछि जनअनुमोदित भएर पहिलो शक्ति बन्ने छौँ ।