अहिले महन्थजीहरुले सोचे जस्तो मधेस छैन-उपेन्द्र यादव अध्यक्ष, संघीय समाजवादी फोरम

उपेन्द्र यादव अध्यक्ष, संघीय समाजवादी फोरम

नेपाल दोस्रो चरणको स्थानीय निर्वाचन मिति नजिक–नजिक आउँदै गर्दा तराई–मधेस केन्द्रित दलहरु अहिले निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने दोधारमै छन् । मधेसवादी दल हुँ भन्नेहरुका अधिकांश जनता निर्वाचनका पक्षमा भए पनि मुख्य गरेर अहिले मधेस केन्द्रित दलहरु भने तीन कित्तामा विभाजन भएका छन् । सरकारमै उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रदेश नम्बर दुईका पूरै र पाँचका केही जिल्लामा निर्वाचन सार्नुपर्छ भन्ने देखवटी विरोधमा छन् । हरेक पटक वार्गेनिङमा मन्त्री पड्काउने सो दलका अध्यक्ष विजयकुमार गच्छदार अन्तिममा निर्वाचनकै पक्षमा उभिने सम्भावना छ । सबै भन्दा बढी मधेसवादी हुँ भन्ने तर, दिल्ली र विहारको इशारामा चल्ने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल ) भने अहिले निर्वाचनको पूर्ण विरोधमा छ । पहिलो चरणको निर्वाचन ताकै आधा दर्जन दल मिलेर बनेको राजपा विस्तारै मधेसमा आफ्नो अस्तित्व कमजोर बन्दै गएको आँकलनसहित विभिन्न वाहनामा निर्वाचनसँग भागिरहेको छ । उसले हरेक बाहना बनाएर अहिले पनि निर्वाचनमा सहभागी नहुने वा निर्वाचन सार्नु पर्ने अत्तो थापिरहेको छ । उसकैका कारण प्रदेश नम्बर दुईको निर्वाचन नै अन्योलमा परेको छ । संघीय समाजवादी फोरम नेपाल भने अहिले भरपुर रुपमा निर्वाचनको सदुपयोग गर्नुपर्ने अडानमा छ । सो पार्टीले अहिले डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालसँग समेत चुनावी तालमेल गरेको छ । पहिलो निर्वाचनमा पनि सो पार्टी निर्वाचनमा सहभागी थियो ।  सोही दलका संयोजक उपेन्द्र यादव अहिले पनि निर्वाचनमा भाग लिनुको अर्को विकल्प नभएको बताउनुहुन्छ । निर्वाचन र संविधान संशोधन फरक कुरा भएको भन्दै उहाँ संविधान संशोधनलाई निर्वाचनसँग जोड्नु नहुने अडानमा हुनुहुन्छ । पहिला निर्वाचन त्यसपछि संशोधन भन्ने पक्षमा रहनु भएको यादवसँग मैत्री न्युज डटकमले गरेको कुराकानीः 

 

संघीय समाजवादी फोरम नेपाल निर्वाचनमा जाने निश्चित भएको हो ? 

निश्चित मात्र होइन संघीय समाजवादी फोरम अहिले निर्वाचनको अन्तिम तयारीमा जुटेको छ ।

 मधेस आन्दोलकै हस्ती ठान्ने केही दलहरुले त निर्वाचनमा नजाने भनेर बहिष्कार गरेका छन् । आन्दोलनको घोषणा गरेका छन् । तपाईँ चाहिँ किन निर्वाचनका पक्षमा ? 

निर्वाचन देश र जनताको आवश्यकता हो । लोकतन्त्रलाई बचाई राख्न निर्वाचन आवश्यक छ । त्यसैले संघीय समाजवादी फोरम नेपाल देश, जनता र लोकतन्त्रका पक्षमा भएकाले निर्वाचन चाहेको हो । निर्वाचन हुनुपर्छ भनेर निर्वाचनकै पक्षमा उभिएको हो । २० वर्षपछि हुन लागेको निर्वाचनमा सहभागी हुनु सबै नेपाली जनताको अधिकार हो । त्यसैले हामी निर्वाचनबाट भाग्दैनौँ । निर्वाचनकै पक्षमा छौँ भन्नका लागि पनि निर्वाचनमा जान चाहेका हौँ । मधेसी जनताका अधिकार राज्यसत्ताले खोस्यो । ती माग पूरा नहुन्जेल हामी संविधान नै मान्दैनौँ । संविधान संशोधन हाम्रो पहिलो एजेण्डा हो  ।

त्यो पूरा नहुन्जेल निर्वाचनमा भाग लिदैनौँ भनेर आन्दोलन गर्ने त तपाईँहरुको दल पनि होइन र ? 

निर्वाचन र संविधान संशोधन फरक कुरा हुन् । हामी निर्वाचनमा सहभागी भयौँ अब संविधान संशोधनको एजेण्डा नै सकियो भन्ने ती भ्रमपूर्ण कुरा हुन् । अहिले पनि हामीले संविधान संशोधन हुनुपर्छ । संविधान सबै नेपाली जनताका लागि सर्वस्वीकार्य हुनुपर्छ भनेर भन्दै आएका छौँ । संविधान संशोधन हाम्रो माग हुँदै हो । तर, त्यो माग पूरा नभई निर्वाचनमा जाँदैनौँ भन्नु लोकतन्त्र, देश र जनताको विपक्षमा जानु हो । त्यसैले हामी निर्वाचनमा सहभागी भएका हौँ । हामीले तुलनात्मक रुपमा मधेसका थारु, मुसहर, डोमलगायतका जाती बढी हेपिएका छन् । उनीहरुको पक्षमा, उनीहरुले पनि अनुभूति गर्ने खालको संविधान होस भन्न खोजेका हौँ । हामी मधेसी जनताको मात्र पार्टी होइनौँ । हाम्रो राष्ट्रिय पार्टी हो । त्यसैले हामीले कर्णलाीका जनता, पहाडका जनता, आदिवासी, जनजाती, दलित, पीडित सबैले स्वीकार गर्ने संविधान होस भनेर नै संशोधन गर्नुपर्छ भनेका हौँ । यो माग अहिले पनि छ । हिजो पनि थियो र पूरा नहुन्जेल यो माग हामी राखिरहन्छौँ । तर, अहिले चाहिँ निर्वाचन पहिलो एजेण्डा भएको छ ।  

अहिले राजपाले आन्दोलकै घोषणा गरेको छ । उसको आन्दोलनले त मधेसमा निर्वाचन हुन मुस्किल होला नि ? 

मधेस अहिले उहाँहरुले आँकलन गरे जस्तो छैन । हामी अहिले पनि निर्वाचनमा सकेसम्म उहाँहरुलाई पनि समेटेर जानुपर्छ भन्ने पक्षमा छौँ । यो जिम्मेवारी राज्यको हो । उहाँहरु निर्वाचनमै भाग नलिने भन्नुहुन्छ भने उहाँहरुको कुरा भयो । हामी लोकतन्त्रवादीले व्यालेटमा विश्वास गर्नुपर्छ ।  त्यसका लागि पनि निर्वाचनमा जानुको अर्को विकल्प छैन ।  अहिले तराईका जनताले निर्वाचन चाहेका छन् । त्यसैले उहाँहरु पनि तराईका जनताको भावनालाई प्रतिनिधित्व गर्न निर्वाचनमा जानुको पर्छ भन्ने मेरो भनाई छ ।  

राजपाले भाग लिए पनि नलिए पनि तपाईँहरुको पार्टी चाहिँ निर्वाचनमा जाने निश्चित हो, होइन त ? 

मैले अघि पनि भनिसकेँ । हाम्रो पार्टी राष्ट्रिय पार्टी हो । देशभक्तहरुको पार्टी हो । हाम्रो उत्तरदायित्व नेपालभरीका जनतामा छ । हाम्रो पार्टी  शोषण, उत्पिडनका पक्षमा लड्दै आएको पार्टी पनि हो । त्यसैले हामी हिजो, आज र भोलि पनि शोषणमा पारिएका उत्पीडित जनताका पक्षमा थियौँ, छौँ र रहिरहने छौँ ।  राजेन्द्र महतो भारतीय हुन् । उनले भारतबाट भारतीयहरु ल्याएर आन्दोलन गरेका थिए ।

अब भारतबाट आन्दोलनकारी ल्याएर नेपालको मधेसमा आन्दोलन चल्दैन भनेर तपाईँले महतोहरुलाई धम्की नै दिनुभयो भन्ने पनि चर्चा छ । तपाईँले त्यसो भन्नु भएकै हो ? 

अहिले निर्वाचनको बेला हो । धेरै उत्तेजित कुरा नगरौँ । सहमतिका कुरा गरौँ, सहकार्यका कुरा गरौँ । सहमति र सहकार्यलाई विथोल्ने कुरा नगरौँ । विगतमा के भएको थियो । कस्तो भएको थियो । त्यो बारेमा सञ्चार जगत पनि जानकार थियो । त्यसैले मैले धेरै भनिरहनु पर्छ जस्तो लाग्दैन ।  

यही असार १४ मा हुने निर्वाचनको पूरै तयारीमा संघीय समाजवादी फोरम छ भन्दा सही हुन्छ ? 

असार १४ मा गर्ने कि मंसिर १५ मा गर्ने त्यो हाम्रो कुरा भएन । निर्वाचन कहिले गर्ने भन्ने सरकार र निर्वाचन आयोगको कुरा भयो । हामी सरकार र निर्वाचन आयोगले कहिले निर्वाचन गर्ने भन्छ त्यही बेलाका लागि तयारी अवस्थामा छौँ ।  आज गर्छ भने आजै भोलि गर्छ भने भोलि नै तयारी अवस्थामा छौँ ।  

दोस्रो निर्वाचनमा संघीय समाजवादी फोरमको पोजिसन कस्तो होला ? 

हामीले पहिलो निर्वाचनमा भाग लिएका थियौँ । सन्तोषजनक अवस्था नै छ । हाम्रो बलियो पकड भएका ठाउँमा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।  त्यसैले हामी सन्तोषजनक अवस्थामा आउँछौँ भन्ने हामीले विश्वास लिएको छौँ । 

पहाडमा संगठन बिस्तार गर्ने र मधेसमा अरु घटकलाई खुम्च्याउने रणनीतिका रुपमा तपाईँहरुको पार्टी निर्वाचनमा सहभागी भएको भन्ने पनि चर्चा छ नि ? 

अरुले के भन्छन् त्यो हामीलाई थाहा हुने कुरा भएन । तर, जनता नै आफूसँग नराख्ने, संगठन नै नबनाउने, अन्य राजनीतिक दलसँग प्रतिष्पर्धा नै नगर्ने भने त के राजनीति गर्नु र अरु कुनै दललाई लौ है भनेर समर्थन गरे भैहाल्यो नि । त्यसैले हामीले राजनीति गरेको शोषण, उत्पीडनको अन्त्यका लागि हो । त्यसका लागि एक्लै उफ्रिएर हुँदैन । त्यसका लागि संगठन चाहिन्छ । साथ चाहिन्छ । त्यो गर्दा अरुलाई मन परेन भने के भन्नु ।