साहित्यकार झमकको जन्मदिन, ओलीदेखि राष्ट्रकविसम्म

 

ललितपुर । साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बृत्तचित्र हेर्नेहरुको भीड ललितपुरको रातोबंगला स्कूलको हलभरी थियो । झमकको जन्मदिन पारेर गरिएको उनको बायोग्राफीमा आधारित बृत्तचित्र हेर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रकवि माधवप्रसाद घिमिरे दम्पती, र संस्कृतिविद सत्यमोहन जोशी पनि पुगेका थिए । कार्यक्रममा उपस्थित सबैलाई नेपाली चलचित्रकि प्रथम नायिका भुवन चन्दले खादा ओढाईदिएकि थिईन् ।
बाहिर अंध्यारो भैसकेको थियो । फिल्म सकेर अरु सबै निस्किसकेका थिए । छुट्टा छुटटै बसेर फिल्म हेरेका ओली भने फिल्म सकिएपछि झमकको छेउ आएर बसे । झमक र ओली ओली सँगै बसेपछि फोटो खिच्नेको भीड बढ्यो । फोटो खिच्नेको भीडबीच ओलीले भने– तपाईंको जीवन कहानी हेर्दा बीचमा धेरै पटक भावुक भएँ । झमकले यसो तन्कीएर केही भने झैं गरिन् । ओलीले भने ‘तपाईं काँडैकाँडा बीचमा फुलेको सुन्दर फूल ।’ ओलीले यसो भन्दा झमक पनि सर्माएजसरी यसो यताउता चल्न खोजिन् । अशक्तताले बाँधिएर पनि सशक्त जीवनको उदाहण प्रस्तुत गरेकामा ओलीले झमकलाई वधाई दिए ।

झमकपछि झमकको भूमिकामा अभिनय गर्ने वालिकातिर फर्किए ओली । बृत्तचित्रमा झमकको बालपन उर्तार्ने वालिकाको अभिनय उत्कृष्ट भएको भन्दै झमककै अगाडी उनको पनि प्रसंशा गरे । ती बालिका पनि छेवैमा आइन्, ओलीले तानेर काखमा राखे । गाला मुसारे कपाल सुम्सुम्याए । अनि सोधे– ‘नातिनीको नाम के हो ?’

उनले जवाफ दिइन्, ‘अवस्था थापा ।’

ओलीले सुझाव दिए– ‘अभिनय राम्रो छ, यसै क्षेत्रमा लागिरहनु ।’ बालिकाले आज्ञाकारी मुन्टो हल्लाईन् ।

चाहने हो भने दैबले पनि रोक्न सक्दैन

झमकको बृत्तचित्र हेर्नुअघि झमकलाई शुभकामना दिने कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आशिर्वाद दिएका थिए– ‘प्रकृतिले नै सबैथोक बाँधेर पनि सानो प्वालबाट निस्किएको तपाईं जस्तो प्रतिभाले संसारलाई श्रृजना रोक्ने कुनै चिज छैन भन्ने सन्देश दिनुभएको छ । जन्मदिनको दिन आइपुगेको छु श्रृजना शक्ति आफैंमा छ सयौं बर्षको उमेर मिलोस् ।’