मुगु र बाजुराका दुर्गम हिमाली बस्तीहरूमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

काठमाडौँ, १ साउन । नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली क्षेत्रमा आफ्नो उच्च गतिको फोरजी (4G) मोबाइल सेवा विस्तार गरेको छ। टेलिकमले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नं. ५ कुवाडी क्षेत्रमा नयाँ फोरजी टावर सञ्चालनमा ल्याएको हो।

सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले विकट हिमाली क्षेत्रमा आधुनिक सञ्चार पहुँच पुग्नु स्थानीयका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनीहरूले सेवाको दिगो सञ्चालन, पूर्वाधार संरक्षण र आवश्यकता अनुसार क्षमता विस्तारका लागि स्थानीय तहका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल टेलिकमका अनुसार बाजुराको बिच्छ्याको नेटामा जडान गरिएको नयाँ टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोला तथा स्थानीय गुम्बा क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्। यसका साथै बाजुराबाट रानिसैन पुग्ने पदमार्गसम्म पनि सञ्चार सेवाको पहुँच पुगेको छ। यस्तै, कुवाडी खोला सङ्गम आसपासका गाउँहरू तथा छिमेकी जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिका–२ जाने मार्गमा समेत यस सेवाको पहुँच विस्तार भएको छ।

फोरजी सेवा सुरु भएसँगै दुर्गमका बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस कल र एसएमएस सेवा सहजै प्राप्त गर्न सक्नेछन्। यस प्रविधिको विस्तारबाट स्थानीय आर्थिक तथा सामाजिक गतिविधि चलायमान हुनुका साथै शिक्षा, स्वास्थ्य, बैंकिङ र सरकारी डिजिटल सेवाहरूमा नागरिकको पहुँच सहज हुने अपेक्षा गरिएको छ। टेलिकमले देशका सुगमदेखि विकट क्षेत्रसम्म प्रविधिको पहुँच पुर्‍याउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *