बर्डफ्लु नियन्त्रणपछि जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि पुनः सञ्चालनमा
ललितपुर, १ साउन । ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। हाँस, काग र गिद्ध लगायतका पक्षीहरूमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि जैविक सुरक्षाका कारण चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो।
सङ्क्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि संकलित वातावरणीय नमुनाको प्रयोगशाला परीक्षणमा भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले चिडियाखाना पुनः खोल्ने निर्णय गरेको थियो।
चिडियाखानाका प्रवक्ता एवं सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने आगन्तुकहरू बेलुका ५:०० बजेभित्र बाहिरिसक्नुपर्नेछ।
चिडियाखाना प्रशासनले आगन्तुकहरूलाई जनावर तथा पक्षीहरूसँग सुरक्षित दूरी कायम गरेर मात्र अवलोकन गर्न विशेष आग्रह गरेको छ। यसअघि सङ्क्रमण पुष्टि भएका खोरहरूलाई रातो रिबनले घेरेर राखिएकाले ती क्षेत्र आसपास अनावश्यक रूपमा नबस्न र दूरी कायम गर्न अनुरोध गरिएको छ।
यसैगरी, बाहिरबाट ल्याइएका खानेकुरा खुला स्थानमा नखान, प्रयोगपछि फोहरलाई अनिवार्य रूपमा डस्टबिनमा व्यवस्थित रूपमा फाल्न र चिडियाखाना परिसरभित्र रहँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न सर्वसाधारणलाई सूचित गरिएको छ