इराकको मोसुल शहर आइएसको कब्जाबाट मुक्त
मोसुल । इराकी प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहर इस्लामिक स्टेटको कब्जाबाट मुक्त भएको घोषणा गरेका छन्।
त्यसका लागि उनले सेना र इराकी जनतालाई बधाई समेत दिएका छन्।
पछिल्लो संघर्षका क्रममा टिग्रिस नदी पार गरेर भाग्न खोज्ने ३० जना लडाकु मारिएको इराकी सेनाले जनाएको छ।
प्राप्त विवरणहरुका अनुसार मध्य मोसुलको आकाशमा अझै धुँवाको मुस्लो देख्न सकिन्छ।
छिटपुट गोली हानाहानको आवाज अझै सुन्न सकिन्छ र आइएस लडाकुका शवहरु सडकमा देख्न सकिन्छ।
मोसुल कब्जामुक्त भएको र विजय प्राप्त गरिएको घोषणा गर्न प्रधानमन्त्री त्यहाँ पुगेको उनको कार्यालयले एउटा विज्ञप्तिमार्फत जनाएको छ।
अमेरिकी सेनाले आइएसविरुद्धको लडाइँमा हवाई हमला गरी इराकी फौजलाई सघाएको थियो।
मोसुललाई सरकारी नियन्त्रणमा फर्काउने उद्देश्यका साथ गत वर्षको नोभेम्बर महिनामा सुरक्षा कारबाही थालिएको थियो।
आइएसले सन् २०१४ को जुन महिनामा मोसुल शहरलाई नियन्त्रणमा लिएको थियो।
सो शहरलाई कब्जामुक्त बनाउने कारबाहीमा कुर्दिश पेशमर्गा लडाकु, सुन्नी अरब आदिवासी र शिया लडाकुले पनि सघाएका थिए।
पुरानो मोसुलको सानो क्षेत्रमा जिहादी र सरकारी फौजबीच अझै संघर्ष भइरहेको बताइएको छ।
यसअघि इराकी सरकारले गत जनवरीमा पूर्वी मोसुल पूर्णरुपमा मुक्त भएको घोषणा गरेको थियो।
सहायता संस्थाहरुका अनुसार सन् २०१४ यता मोसुलबाट करिब ९ लाख मानिस विस्थापित भएका छन्।