अमूर्त सांस्कृतिक सम्पदा—डा.जगमान गुरुङ

maitrinews

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चल, तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि उत्तरपूर्र्वमा तनहुँसुरको डाँडा अवस्थित छ । यो तनहुँसुरको डाँडा तनहुँ राज्यको राजधानी हो । तनहुँसुरको डाँडामा सँगसँगै दुइटा चुचुरा छन् । यसैगरी सदरमुकाम दमौलीदेखि पश्चिमपट्टि मानुङको डाँडा अवस्थित छ । तनहुँसुरका दुइटा र मानुङको एउटा गरी यी त्रितुंगबाट तनहुँ नाम रहेको विश्वास छ ।
तनहुँ राज्यको अवसानपछि तनहुँसुरदेखि पश्चिमपट्टि केहीपर छिम्केश्वरीको लेकसँगैको बन्दीपुरलाई तनहुँ जिल्लाको सदरमुकाम कायम गरियो । पूर्व(पश्चिम तथा उत्तर(दखिनको व्यापारिक बाटोमा पर्ने हुनाले बन्दीपुरलाई सदरमुकाम मानिएको थियो । अघि बन्दीपुरमा मूल अड्डा र पोखरामा छोटी अड्डा रहेको थियो । पछिबाट पोखराको छोटी अड्डा बन्दीपुरमा र बन्दीपुरको मूल अड्डा पोखरामा सारियो । पृथ्वी राजमार्ग बनेपछि बन्दीपुरमा रहेको सदरमुकाम दमौलीमा सारियो ।
तनहुँसुरको डाँडादेखि पूर्व र दखिनमा गाउँ र बेँसीको पायक परेको अति सुन्दर रमणीय चुँदीको रम्घा गाउँ अवस्थित छ । यही चुँदीरम्घामा १८७१ असार २९ गते आइतबार आषाढ कृष्णाष्टमी रेवती नक्षत्र धनु लग्न सिंह नवांशक मीन राशिमा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो ।
पञ्चमस्थान र पञ्चमेशबाट विद्या र कवित्वभावको अध्ययन गरिन्छ । भानुभक्त आचार्यको जन्मकुण्डलीमा पञ्चमेश मंगल नीच भएर आठौं स्थानमा बसेको छ । अतः पञ्चमेश मंगल नीच भएर आठौं स्थानमा बसेको व्यक्तिमा कसरी काव्यभाव स्फुरण भयो रु यो एउटा जिज्ञासाको विषय हो । यसैगरी शुक्रलाई काव्यकारक ग्रह मानिन्छ । भानुभक्त आचार्यको जन्मकुण्डलीमा शुक्र वृष राशिमा स्वगृही भएर बसेको छ, तापनि छैटौं स्थानमा बसेको शुक्र त्यति प्रभावकारी मानिँदैन । अतः कुन ग्रहको कारणले भानुभक्त आचार्यमा कवित्वभाव स्फुरण भयो र उनी नेपालका आदिकवि बन्न सके रु यसको राम्रो पहिचान गर्न अत्यावश्यक छ ।
भानुभक्त आचार्यको जन्म धनु लग्न र सिंह नवांशकमा भएको कुरा यसअघि नै उल्लेख भइसकेको छ । जन्मसमयमा लग्नेश वृहस्पति नवौं स्थानमा सिंह राशिमा बसेको छ । नवौं स्थानमा बसेको वृहस्पतिले लग्नमा, तेस्रो स्थानमा र पाँचौं स्थानमा पूर्ण दृष्टिले देखेको हुँदा पञ्चमेश मंगल नीच भए पनि वृहस्पतिको दृष्टि परेको हुँदा नीचभंग राजयोग परेको छ । यसैगरी सिंह नवांशकका पति सूर्य मिथुन राशिमा केन्द्रवर्ती भएर बसेको छ र सप्तम भावमा बसेको सूर्यले लग्नमा पूर्ण दृष्टिले देखेको छ । यसरी जन्मलग्नमा सौर्यमण्डलका स्वामी सूर्य र मन्त्रपति वृहस्पतिको पूर्ण दृष्टि परेको हुँदा लग्नेश वृहस्पतिले भानुभक्त आचार्यमा कवित्व भाव स्फुरण गराई नवांशेश सूर्यले उनलाई आदिकविको उपाधि दिलाएको देखिन्छ ।
सप्तगण्डकीको पवित्र जलले अभिसिञ्चित गण्डकीप्रस्रवणक्षेत्र अतीतकालदेखि नै भाषा(साहित्य, धर्म(दर्शन एवं संस्कृति तथा कला(कौशलको क्षेत्रमा अति प्रसिद्ध छ । यस क्षेत्रमा धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनासलु, गणेश र लामटाङ आदि हिमालय पर्वतहरू अवस्थित छन् । यी हिमालय पर्वतहरू बाह्रै महिना हिउँले ढाकिएका हुन्छन् । यहाँ गोसाइँकुण्ड, दामोदरकुण्ड, मुक्तिक्षेत्र, रुरुक्षेत्र, देवघाट, त्रिवेणी, सिकलेस चोखोपानी आदि तीर्थस्थलहरू छन् । गण्डकी महात्म्यमा माछापुच्छ्रे हिमालको दुइटा चुचुरोलाई नरनारायणको स्वरूप मानिएको छ ।
भारतमा गंगा र यमुनाको बीचको भूभाग अन्तरवेदी नामबाट प्रसिद्ध छ । यसैगरी उत्तराखण्ड नेपालमा कालीगण्डकी र सेतीगण्डकीको बीचको भूभागलाई अन्तरवेदी मानिन्छ । अघि यही सेतीगण्डकी र मादीगंगाको द्वीपमा मत्स्यगन्धाको गर्भबाट पराशर ऋषिका छोरा कृष्ण जन्मेका थिए । सेतीगण्डकी र मादीगंगाको द्वीपमा जन्मेको हुनाले उनी कृष्ण द्वैपायन कहलाएका थिए । यिनै कृष्ण द्वैपायनले वेद र पुराणको व्यास गरेको हुँदा उनी भगवान् वेदव्यासको रूपमा प्रसिद्ध भए । यसरी नेपाल अधिराज्यको तनहुँले प्राचीनकालदेखि नै कवि, लेखकहरूको साधनास्थलको रूपमा प्रसिद्धि पाइआएको छ ।
तनहुँ एउटा उर्वरा भूमि भएको हुँदा यहाँ खान र लगाउनको लागि धेरै मेहनत गर्न नपर्ने हुनाले यहाँका वासिन्दा विद्या साधनामा लाग्न सफल भएका थिए । त्यसकारण अघि पृथ्वीनारायण शाहको समयमा गोरखामा नपाइएको मितक्षराको व्यवहराध्याय नामक ग्रन्थ तनहुँमा पाइएको थियो । जुम्लाको अचार्जबाडा पैत्रिकस्थल भएका आचार्य ब्राह्मणहरू खेतीपातीको लागि सुगम र विद्याको साधनाको लागि उचित थलोको खोजी गर्दै तनहुँको चुँदी, रम्घा आइपुगे । त्यही आचार्य ब्राह्मणको कुलमा श्रीकृष्ण आचार्य जस्ता पण्डित जन्मे । श्रीकृष्ण आचार्यको तेस्रो पुस्तामा भानुभक्त आचार्य जन्मे । भानुभक्त आचार्यले सबैले राम्ररी बुझ्न सक्ने नेपाली भाषाको माध्यमबाट लोकको हित गर्नको लागि आध्यात्मिक रामायण र रामगीतालाई नेपालीमा अनुवाद गरे । भानुभक्त आचार्यको समयभन्दा अघि पनि नेपाली भाषामा केही फुटकर कविताहरू नलेखिएका होइनन् तर भानुभक्तीय रामायणचाहिँ नेपाली भाषामा रचना गरिएको पहिलो र सग्लो ग्रन्थ हो । त्यसकारण भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका आदिकवि हुन् ।
भानुभक्तीय रामायण नेपालको सहर, बजार, गाउँ, घर र गोठमा समेत अति लोकप्रिय छ । मेला(पात, बन(बुट, घाँस(दाउरा तथा उकाली र ओरालीमा भानुभक्तीय रामायणको श्लोक फलाकेर नेपालीहरू आनन्दको सास फेर्छन् । श्रीमद्भागवत्महापुराण वाचन, श्रीसत्यनारायण स्वामीको पूजा आदि धार्मिक आयोजनहरूको अवसरमा रातभर जाग्राम बसेर खैँजडी र मुजुराको तालमा भक्तिहरूले भानुभक्तीय रामायणको विषयलाई लम्बरी भजनको रूपमा गाउँछन् ।
भानुभक्त केवल नेपाली भाषा र साहित्यका आदिकवि मात्र नभएर लोकहितका अभियन्ता पनि हुन् ।
यसैगरी मैले रोधी घरमा भानुभक्तीय रामायणको विषयवस्तुलाई लिएर लोकभाकामा दोहोरी गाएको सुनेको छु । मैले गोठालाहरूले आफ्नो गादोमा भानुभक्तीय रामायणको पुस्तक बोकेर हिँडेको पनि देखेको छु । हाम्रो गाउँ याङ्जाकोट, घ्याउजुका मुन्द्रे कामी मित दाइले फुर्सदको बेला आफ्नो आरनको डिलमा बसेर भानुभक्तीय रामायण लयबद्ध गरी वाचेर अरूलाई सुनाएको पनि मैले आफ्नै आँखाले देखेको छु । तर अहिले रेडियो, टीभी, मोबाइल आदि आधुनिक सञ्चारमाध्यम तथा आधुनिक शिक्षाको कारणले भानुभक्तीय रामायणप्रति नेपाली मानसिकता आकर्षित र प्रभावकारी हुन सकेको छैन । यसरी अहिले नेपालको एउटा महत्ववपूर्ण अमूर्त सांस्कृतिक सम्पदा लोपोन्मुख अवस्थामा छ ।
भानुभक्तीय रामायणले नेपाल बाहिर दार्जिलिङको चिया कमान, असामको गोठ, बर्माको कम्युन र देहरादुनको लाइन आदि प्रवासका नेपालीहरूलाई नेपाल बिर्सन दिएको छैन । यसका अतिरिक्त भानुभक्तीय रामायणले प्रवासमा नेपालीबीच आपसी सद्भाव कायम गराएको छ । त्यसकारण नेपालमा भानुभक्त आचार्य आदिकवि हुन् भने प्रवासमा चाहिँ भानुभक्त केवल आदिकवि मात्र नभएर नेपालीको भावनात्मक एकता एवं नेपाली मानसिक सम्मीलनका प्रतीक पनि हुन् ।
आज नेपालमा जातीय एवम् भाषिक अन्तरद्वन्द्व चर्किरहेको छ तर प्रवासका नेपालीहरू भने नेपाली भाषा र भानुभक्त आचार्यलाई माध्यम बनाएर आफ्नो जाति, भाषा, धर्म र संस्कृतिको जगेर्नाका लागि अघि बढिरहेका छन् । अतः आफूलाई रैथाने भन्न रुचाउने नेपालका नेपालीहरूले प्रवासमा बसेका नेपालीहरूबाट यो कुरा राम्ररी सिक्न सक्नुपर्छ । यसरी आदिकवि भानुभक्त र उनको कृति भानुभक्तीय रामायणको महत्वव आज पनि उत्तिकै ओजस्वीपूर्ण एवं गरिमामय छ ।
अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । आदिकवि भानुभक्त जंगबहादुर राणाका समकालिक हुन् । त्यसबेला भर्खरभर्खर नेपालमा राणाहरूको जहानियाँ शासन स्थापना भएको थियो, तर त्यस अवस्थामा पनि आदिकवि भानुभक्त आचार्यमा जनता अथवा लोकको हित गर्ने भावना जागृत भइसकेको थियो । एक दिन नारद सत्यलोक पुगि गया लोकको गरूँ हित भनी भानुभक्तीय रामायणको यो पहिलो श्लोकबाट आदिकवि भानुभक्तमा अन्तरनिहित लोककल्याणको भावना स्पष्ट हुन्छ । यसकारण भानुभक्त केवल नेपाली भाषा र साहित्यका आदिकवि मात्र नभएर लोकहितका अभियन्ता पनि हुन् ।
पृथ्वीनारायणले नेपालको भौगोलिक एकीकरण गरेर नेपाललाई एकताबद्ध गराएका थिए । आदिकवि भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपाली मानसिकताको समीकरण गराए । यसरी एउटा शासकले गर्नुपर्ने काम पृथ्वीनारायण शाहले गरेका छन् भने एउटा प्राज्ञिक व्यक्तिले गर्नुपर्ने काम आदिकवि भानुभक्तले गरेका छन् । अतः आजका राजनीतिज्ञ र प्राज्ञिक व्यक्तिहरूले पृथ्वीनारायण र भानुभक्त आचार्यबाट पाठ सिकेर नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको विकासमा अघि बढ्न सक्नुपर्छ । आदिकवि भानुभक्तको यो आदर्श र मर्यादालाई सधैँ कायम राखि राख्नु हामी सबैको परम दायित्व हो ।