दोक्लाम क्षेत्रबाट सेना फिर्ता गर्न भारतलाई चीनको चेतावनी

 

चीन । चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानूनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाजमर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ।
सिन्ह्वा समाचार सस्थाले प्रकाशन गरेको एउटा टिप्पणीमा चीन, भारत र भुटानको सीमा क्षेत्र नजिकै पर्ने दोक्लमबाट भारतीय फौज फिर्ता नहुनजेलसम्म कुनै किसिमको वार्ता हुननसक्ने उल्लेख गरिएको छ।
भारतले उक्त भूभागमाथि भुटानले दाबी गरिरहेको भन्दै चिनियाँ पक्षलाई त्यस क्षेत्रमा नयाँ सडक निर्माण गर्न नदिन आफूले अघिल्लो महिना सैनिकहरु पठाएको बताउने गरेको छ।
उक्त सडकका कारण आफ्नो सुरक्षामा गम्भिर चुनौती थपिने नयाँ दिल्लीको चिन्ता रहेको छ।
सिन्ह्वामा प्रकाशित उक्त लेखमा चीनले दोक्लम क्षेत्रबाट आफ्ना फौज फिर्ता लान पटक पटक गरेको आग्रह भारतले अस्वीकार गरिरहेको उल्लेख गरिएको छ।
एक महिनादेखि चलिरहेको उक्त विवाद समाधान गर्न भारतले वेवास्ता गरिरहे उसले थप लाजमर्दो अवस्थाको सामाना गर्नुपर्ने चेतावनी उक्त लेखमा दिइएको छ।
उक्त लेखमा पहिलो पटक सिक्किमसँग सीमा जोडिएको आफ्नो भूििममा भारतीय फौज प्रवेश गरेको भन्दै अहिलेको अवस्थालाई पाकिस्तान, भारत र चीन तीनै देशको दाबी रहेको दक्षिणपूर्वी कश्मिरमा सन् २०१३ र सन् २०१४ मा भएका भिडन्त जसरी साधारण रुपमा नलिन भनिएको छ।