जनताले निर्वाचनमा जान चाहे भने हामी रोक्न सक्दैनौँ —वृजेशकुमार गुप्ता ,महासचिव, राष्ट्रिय जनता पार्टी नेपाल

राष्ट्रिय जनता पार्टी नेपाल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का महासचिव वृजेशकुमार गुप्ता कपिलबस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद् हुनुहुन्छ । राजपा भित्र प्रष्ट वक्ताको छवी बनाउनु भएको गुप्ता दोस्रो चरणको स्थानीय निर्वाचन ताका आफ्नै जिल्ला कपिलबस्तुमा हुनुहुन्थ्यो । राजपाले दोस्रो चरणको स्थानीय निर्वाचन हुन नदिने भन्दै आन्दोलनको घोषणा गरिहेका बेला उहाँ भने आफ्नो जिल्लामा राजपाबाटै उम्मेदवार बनेका केही नेताहरुलाई चुनावी परिणाम सकारात्मक निकाल्न उत्प्रेरणा दिइरहनु भएको थियो ।  त्यसैबेला पनि उहाँले निकै भाबूक हुँदै जनताको मतदान अधिकार खोस्न नसकिने बताउनु भएको थियो । उम्मदेवारी दर्ताको दिनसम्म निर्वाचन विथोल्ने ढंगले लाग्नु भएका गुप्ताले चुनावका दिन आफ्नो पार्टीका तर्फबाट उठेका स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेपछि केही आलोचना पनि भएको थियो । त्यति मात्र होइन उहाँले त्यसैबेला हामीमाथि गद्धारी भयो भन्दै सरकारले गर्यो  कि आफ्नै पार्टीले गर्यो ? भन्दै  आफू सशंकित भएको बताउनु भएको थियो ।  उहाँले आफूहरु जनताका बीचमा राजनीति गर्ने व्यक्ति भएको भन्दै जनचाहना विपरित कार्यकर्तालाई चुनावमा जानबाट रोक्न नसक्ने बताउनु भएको थियो । अब स्थानीय तहको तेस्रो चरणको निर्वाचन असोज दुईमा हुँदैछ । अघिल्ला दुई निर्वाचनमा निर्वाच आयोगमा दल दर्ता समेत नगरेर बसेको राजपाले यो पटक भने निर्वाचन आयोगमा दल दर्ता गराएको छ । धेरैले राजपाले चुनावमा जाने लक्षण देखिाएको पनि भनेका छन् ।  जनताको बलमा राजनीति गर्नेहरुले चुनावमा जानेलाई रोक्न त सकिन्न भन्दै जनता नै चुनावमा जान तयार भए भने नेताले बहिस्कार गरेर के हुन्छ ? भन्ने गुप्तासँग मैत्रिन्युज डटकमले गरेको कुराकानीः

तेस्रो चरणमा हुने स्थानीय निर्वाचनमा राजपा सहभागी हुन्छ कि हुँदैन ? 

सरकारले असोज दुई गते प्रदेश नम्बर दुईमा स्थानीय निर्वाचन गर्ने भनेर मिति समेत घोषणा गरेको छ । सरकारले राजपाकै सहमतिमा हामीले निर्वाचनको मिति असोज दुईमा तोकेका हौँ पनि भनेको छ । तर, म प्रष्ट पार्न चाहन्छु । असोज दुईमा प्रदेश नम्बर दुईको निर्वाचन गर्ने कुरामा हामीसँग सरकारले कुनै पनि छलफल गरेको छैन । हामीसँग छलफल नै भएको छैन भनेपछि हामीले कसरी सहमति गर्न सक्छौँ ? त्यसैले अहिले सरकारले गरेका सबै हल्ला हुन् । जहाँसम्म असोज दुईको निर्वाचनमा राजपा सहभागी हुने वा नहुने भन्ने प्रश्न छ । हामी हाम्रा माग पूरा नभएसम्म सहभागी हुँदैनौँ ।

सरकारले निर्वाचन अघि माघ पूरा गर्ला भन्ने अपेक्षा छ ? 

हामीले प्रचण्ड र त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको नै हाम्रा माग पूरा गर्छु भन्ने उहाँहरुको शर्तमा हो । उहाँहरुसँग भएको तीन बुँदे सहमतिमै संविधान संशोधन गर्नेलगायतका माग रहेका छन् । त्यसैले हामीले जुन माग राखेर सरकारलाई समर्थन गरेका हौँ  । ती माग सरकारले पूरा गर्छ भन्नेमा हामी आशावादी छौँ ।

  ए भनेपछि निर्वाचन अघि तपाईहरुको माग पूरा भएन भने निर्वाचनमा सहभागी हुनुहुन्न ?

 हामी हुँदैनौँ । तपाईँहरुले भाग नलिए पनि निर्वाचन त होला नि ? पहिलो र दोस्रो चरणको निर्वाचनमा पनि सेना, प्रहरी लगाएर सरकारले निर्वाचन गरेकै हो । अहिले पनि सेना प्रहरी लगाएर निर्वाचन गर्न सक्छ । तर, संविधान कार्यान्वयनका लागि गरिने यो निर्वाचन सर्वस्वीकार्य हुँदैन भन्ने हेक्का सरकालाई होस भन्ने हाम्रो आग्रह छ । मधेसका जनता, आदिवासी जनजाति सबैले अस्वीकार गरेको संविधान कसरी कसरी सर्वस्वीकार्य हुन्छ ? त्यसैले हामी फेरि पनि आग्रह गर्न चाहन्छौँ । बलमिच्याईँले होइन सबैको सहमतिमा संविधान कार्यान्वयन होस् । हामी पनि संविधानकै पक्षमा छौँ । हाम्रो पनि एजेण्डा समावेश होस् ।  पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा तपाईँहरुले निर्वाचन आयोगमा दल दर्ता समेत गर्नुभएको थिएन । तर, अहिले गर्नुभयो । यो निर्वाचनमा जाने संकेत हो पनि भनिएको छ नि ? हामीले ६ वटा पार्टी मिलेर एक भएका छौँ । हामीले पार्टी एकीकरण भएकै बेला निर्वाचन आयोगमा दल दर्ता गर्ने भनेका थियौँ । विद्यानलगायतका विषयमा केही विवाद भएका कारण त्यसैबेला दल दर्ता गर्न सम्भव भएन । अहिले गएर हामीले दल दर्ता गरायौँ । भएको यही हो । अझै पनि हामीले निर्वाचन चिन्ह पाएका छैनौँ ।  फेरि निर्वाचन आयोगमा दर्ता भएका सबै दलले निर्वाचनमा भाग लिने भन्ने पनि केही छैन । सबै दलले निर्वाचनमै भाग लिन्छन् भन्ने के–छ ? त्यसैले हामीले जे माग सरकारसँग राख्दै आएको छौँ । ती माग पूरा नभएसम्म निर्वाचनमा भाग लिदैँनौँ । यो हाम्रो एजेण्डा नै हो । त्यसैले राजपालाई फकाएर वा झुक्याएर निर्वाचन गर्ने भन्ने कुरा सम्भव छैन ।

 तर, तपाईँहरुले भाग नलिए पनि जनताले त चुनाव चाहेका छन् नि त ? 

हामीले पनि निर्वाचनमा त जादैँनौ कहाँ भनेका छौँ र । हामीले पनि निर्वाचन नै चाहेका छौँ नि ? मात्रै हामीले हाम्रा माग पूरा गर्नुहोस । सबैले स्वीकार गर्ने संविधान होस् मात्र भनेको हौँ । तपाईँहरुका कार्यकर्ता नै निर्वाचनमा सहभागी भएका छन् । दोस्रो चरणको निर्वाचनकै कुरा गर्ने हो भने पनि केही ठाउँमा तपाईँहरुकै कार्यकर्ता स्वतन्त्र उम्मेदवार बनेर जिते ।

यस्तो बेलामा हामी मात्र निर्वाचन विरोधी रहेछौँ जस्तो लाग्दैन ? 

जनता र पार्टीका कार्यकर्ता फरक हुन् ।  राजपाले निर्वाचनमा भाग लिएको छैन । सबै भन्दा पहिला यसमा क्लीयर हुनुपर्छ ।  दोस्रो चरणको निर्वाचनमा केही ठाउँमा स्वतन्त्र उम्मेदवारले भाग लिए । त्यतिबेलासम्म हामी पार्टी नै भएका थिएनौँ । हामीले राजपा–राजपा भनेर पार्टीको चर्चा मात्र गरेका थियौँ । त्यसैले केही साथीहरुले स्वतन्त्र रुपमा पनि निर्वाचनमा भाग लिनुभयो । अब हामी औपचारिक रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेर राजपा पार्टी भएका छौँ । यो राजपा पार्टीले निर्वाचनमा हाम्रा माग पूरा नभएसम्म भाग लिने छैन ।

 तपाईँहरुकै पार्टीबाट प्रदेश नम्बर दुईमा निर्वाचन हुँदा कार्यकर्ताले भाग लिए भने नि ?

 अहिले नै यसो गर्छौ भनेर भन्दैनौँ । हामी पार्टीमा छलफल गरिरहेका छौँ । पहिलो औपचारिक पार्टी थिएन् । कसले के गरे भन्ने कुरा भएन । अब पार्टी औपचारिक रुपमा दर्ता भएको छ । हामी पार्टी नियम अनुसार चल्छौँ । राजपाले बहिष्कार गरेपछि केहीले निर्वाचनमा भाग लिने कुरा सम्भव छैन ।  निर्वाचनमा भाग लिए भने कारवाही गर्नुहुन्छ ? हामी ५० वर्ष पुरानो पार्टी होइनौँ । भर्खर एक भएको पार्टी हो । हामी त्यस्ता विषयमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्छौँ । दोस्रो चरणको निर्वाचनमा जस्तो सहज चाहिँ छाड्दैनौँ ।  जहाँसम्म असोज दुईको निर्वाचनमा सहभागी हुने भन्ने कुरा छ । मैले अघि पनि भने–राजपाले त कुनै पनि हालतमा माग पूरा नभएसम्म भाग लिदैँन । केहीले स्वतन्त्र उम्मेदवार उठ्ने भनेको अवस्थामा उनीहरु स्वतन्त्र रुपमा उठ्नुभयो भने हाम्रो भन्नु केही छैन । हामी त अहिले पनि सरकारलाई गम्भीर रुपमा प्रस्तुत हुन आग्रह गरिरहेका छौँ ।

तपाईँहरु निर्वाचनमा नजाने सरकार निर्वाचन नगरी नछाडने भनेपछि समस्या त झन् जटिल हुने भयो नि होइन ? 

हामीले सैनिक शासन होइन, डेमोक्रेसी खोजेका हौँ । हामी कांग्रेस, एमाले र माओवादीलाई त्यही भनिरहेका छौँ । तर, उहाँहरु सैनिक शासनका कुरा गरिरहनु भएको छ । देशलाई सम्वृद्धिको दिशामा लैजाने हो भने सबै राजनीतिक दल एक ठाउँमा आउनुको विकल्प छैन । सबै राजनीतिक दलहरुले गम्भीर भएर देशका बारेमा सोचौँ भन्ने मेरो आग्रह छ ।