टेलिकमको पुरानो उपकरण प्रतिस्थापना
काठमाडौं । नेपाल टेलिकमले कपन र कीर्तिपुर एक्सचेन्जका पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेको छ । कम्पनीले हालै कपन एक्सचेन्ज र कीर्तिपुर एक्सचेन्जमा सो प्रतिस्थापन कार्य सम्पन्न गरेको हो ।
कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३ लाइन र कपन एक्सचेन्जका ६ हजार ५ सय ३३ लाइन अब नयाँ प्रविधिमा प्रतिस्थापन भएका छन् । आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेपछि ल्यान्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ । यस प्रविधि अन्तर्गतका सबै लाइनबाट अब ग्राहकको मागअनुरुप एडीएसएल लाइन उपलब्ध गराउन सम्भव हुनेछ । साथै भविष्यमा ल्यान्डलाइन सेवामा आधारित अन्य आधुनिक सेवा जस्तै ः आईपीटीभी, भिडियो अन डिमान्ड आदि सेवा समेत प्रदान गर्न मद्दत पुग्ने छ ।
नेपाल टेलिकमले हाल सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन (ल्यान्डलाइन) टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न आरम्भ गरेको छ । गत असार २३ गते नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पीएसटीएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्यको आरम्भ गर्नुभएको थियो । साथै उहाँले पुरानोे टीडीएम प्रविधिको स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गर्दै स्तरोन्नति गर्ने कार्यको शुभारम्भ गर्नु भएको थियो । ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय ४६ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भइसकेको छ ।
आगामी दुई महिना भित्रमा मुलुकका एक लाख ३४ हजार पीएसटीएन टेलिफोन लाइनका उपकरणहरुलाई आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरिनेछ । आगामी आर्थिक वर्ष भित्रमा कुल चार लाख ल्यान्डलाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने कार्यक्रम रहेको छ । साथै त्यसपछि बाँकी ल्यान्डलाइन सेवालाई पनि क्रमशः आइपी बेस्ड प्रविधिमा रुपान्तरण गर्दै लैजाने लक्ष्य रहेको छ ।२५ वर्ष अघि स्थापित डिजिटल प्रविधिका उपकरणलाई प्रविधिको विकासक्रम अनुरुप आधुनिक आईपी बेस्ड प्रविधिमा रुपान्तरण गरी उपभोक्ताको माग अनुरुपको भ्यालु एडेड सेवा समेत वितरण गर्न सकिने गरी यो सेवालाई स्तरोन्नति गर्न आरम्भ गरिएको हो ।
स्मरणीय छ, नेपालमा ल्यान्डलाइन प्रविधिको सेवा उपलब्ध गराउने नेपाल टेलिकम एक मात्र सेवाप्रदायक हो ।