दोक्लामबाट भारतीय सेना पछि हट्यो,कूटनीतिक प्रयास जारी

maitrinews

 

काठमाडौं । अन्तत : आफ्नो गल्ती स्वीकार गर्दै दोक्लामबाट भारतीय सेना पछि हटेको छ । भुटानी सिमा जोडिएको चिनियाँ भूभाग दोक्लाममा भारतको गैरकानुनी प्रवेशपछि उत्पन्न तनावलाई कुटनीतिक माध्यमबाट समाधान गर्न भारत तयार भएको हो ।
चीनले आफ्नो भूभागमा भारतीय फौजको अवैध प्रवेशप्रति आक्रोस व्यक्त गर्दै शान्तिपूर्ण समाधान चाहेको भए आफ्ना फौज फिर्ता गर्न आग्रह गरेको थियो । चीनको आग्रहपछि भारतले पनि आफूले वार्ताका माध्यमबाट समाधान गर्न चाहेको तर त्यसका लागि चीनले पनि सेना त्यहाँबाट हटाउनुपर्ने बताएको थियो ।
भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेको जनाएको हो । ‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला सातामा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन्’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ती संवादमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं । र, हाम्रो चासो र स्वार्थ पनि सम्प्रेषित गरेका छौं ।’

शान्तिपूर्ण समाधानका लागि वार्ता जारी राख्ने भारतको प्रस्तावलाई चीनले स्विकार गरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ,‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुत रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ । र, उक्त विषयलाई लिएर थप संवादहरु जारी रहनेछन् ।’

भारतले आफ्ना सेना फिर्ता गर्ने कारवाही सुरु भइसकेको पनि जनाएको छ ।

भारतीय विदेश मन्त्रालयको प्रेस बक्तब्यपछि चीनले पनि कुटनीतिक समाधानतर्फ अघि बढेको संकेत दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले चिनियाँ भूभागबाट भारतीय सेना पछाडि हटेको पुष्टी गर्नुभएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार उहाँले तर चिनियाँ सेना सधैजस्तै सीमाको नियमित गस्तिमा भने रहिरहने बताउनुभएको हो । चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा गत जुनदेखि तनाव शुरु भएको हो ।