इर्मा आँधीबाट क्यारिवियन क्षेत्रमा ब्यापक जनधनको क्षति, फ्लोरिडामा संकटकाल घोषणा

एन्टिगुवा । क्यारिबियन क्षेत्रमा ७ जनाको ज्यान लिएको र व्यापक धनजनको क्षति गराएको शक्तिशाली आँधी इर्मा पोएर्टो रिको पुगेको छ। एन्टिगुवा एण्ड बारब्युडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले करिव ३०० किलोमिटर प्रतिघण्टाको वेगमा आएका आँधीका कारण एक जना मारिएको र १६ सय जनाको बसोबास रहेको उक्त टापुका सबै भवन भत्किएको बताएका छन्।
आपतकालिन सहयोगका प्रयासहरु बढी प्रभावित क्षेत्र सम्मको पहुँचमा देखिएका कठिनाई र सञ्चार सम्पर्कमा उत्पन्न जटिलताका कारण प्रभावित भइरहेका छन्।
सबैभन्दा शक्तिशाली अर्थात ुक्याटेगोरी फाइभुमा पर्ने उक्त आँधी भर्जिन आइलण्डबाट अघि बढिरहेको अमेरिकी राष्ट्रिय आँधी केन्द्रले जनाएको छ।
एक दशकयताकै शक्तिशाली आँधीको सुरुको वेग २ सय ९५ किलोमिटर प्रतिघण्टा रहेको थियो र यो पोएर्टो रिकोको उत्तरी क्षेत्रबाट अघि बढ्दै डोमिनिकन रिपब्लिकको तटीय क्षेत्रमा बिहीबार पुग्ने बताइएको थियो।
पोएर्टो रिकोमा इर्माका कारण ठूलो वर्षा भइरहेको छ र आँधीबेहरी आएको छ।

घर बाहिर ननिस्कन चेतावनी दिइएपनि कैयौँ बासिन्दाहरु खानेकुरा, पानी र अन्य अत्यावश्यक सामाग्री किनमेल गर्न निस्किएका छन्।
अधिकारीहरुले कैयौँ दिनसम्म विद्युत आपूर्ति अवरुद्ध हुने चेतावनी दिएका छन्।
इर्मा आँधीले अमेरिकी मूलभूमीमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन् तर अधिकारीहरुले फ्लोरिडामा संकटकालको घोषणा गर्दै पर्यटकहरुको उद्धार सुरु गरेका छन्।
पोएर्टो रिको र भर्जिन आइलण्डमा पनि संकटकालको घोषणा गरिएको छ।