प्रदेश नम्बर २ को मुख्यमन्त्री एमालेकै तर्फबाट बन्छ,रघुवीर महासेठ ,नेता, नेकपा (एमाले)
रघुवीर महासेठ एमालेका नेता हुनुहुन्छ । प्रदेश नम्बर २ मा अहिले जुन खालको चुनावी परिणाम देखिएको छ । त्यो परिणामप्रति त्यति सन्तुष्ट नहुनु भएका महासेठ अन्तिम सम्ममा पनि एमाले पहिलो वा दोस्रो शक्ति बन्नेमा ढृुक्क हुनुहुन्छ । सत्ताको चरम दुरुपयोग, एमालेविरुद्ध भएको मोर्चाबद्धी, विदेशी शक्तिको एमालेप्रति भएको प्रहार आदिले गर्दा एमालेले प्रदेश नम्बर २ मा सोचे जस्तो परिणाम नल्याएको बताउने महासेठसँग आगामी चुनाव, प्रदेश नम्बर २ मा एमालेको पोजिसनलगायतका बारेमा केन्द्रित भएर मैत्रिन्युज डकमकका लागि मोहन बास्तोलाले गरेको कुराकानीः
प्रदेश नम्बर २ को स्थानीय निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै चुनावी मत परिणाम पनि बाहिर आउन थालेका छन् । यो परिणामसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामी जति सन्तुष्ट हुनुपर्ने हो त्यति सन्तुष्ट छैनौँ । कांग्रेस, माओवादीको सत्ताको चरम दुरुपयोग, अन्य राजनीतिक दलहरुको एमाले हराउने मोर्चाबद्धी यी सबैका बीच पनि एमालेले जुन खालको उपस्थिति देखाएको छ । यो ठूलो कुरा हो । म अहिले पनि पूर्ण आशावादी भएर भन्न सक्छु । एमाले सकेसम्म प्रदेश नम्बर २ मा पहिलो पार्टी नै बन्छ । त्यो सम्भव भएन भने पनि कांग्रेससँग थोरै सिट अन्तरले दोस्रो हुन्छ । कांग्रेसले मधेसमा जुन खालेको अपेक्षा गरेको थियो । त्यो उसले पनि प्राप्त गर्न सकेको छैन । कांग्रेससँग सिटका हिसावमा एमाले तीन–चार सिटमा मात्र फरक पर्यो भने पनि लोकप्रिय मतमा भने एमाले नै अघि हुनेछ ।
एमालेलाई पराजित गर्न विदेशी शक्तिको पनि प्रयोग भयो भन्ने चर्चा पनि छ नि ?
मैले धेरै कुरा भन्नु पर्दैन । अहिले मधेसमा भारु पैसाको फालाफाल छ । एक सय, दुई सय र पाँच सयका नोट अहिले जताततै पाइन्छ । एक सय ६० को भारु अहिले एक सय पचासमै पाईन्छ । त्यो पैसा कहाँबाट आयो ? प्रत्येक गाउँ र वडामा विदेशमा अझ त्यसमा पनि दिल्लीमा बनाइएका ‘डकुमेन्ट्री’ बनाएर देखाउने काम भयो । त्यसमा कसको सहयोग छ ? मधेस आन्दोलमा मान्छे मार्ने, प्रहरी प्रयोग गर्ने सबै काम एमालेले गरेको हो भन्ने भ्रमपूर्ण ‘डकुमेन्ट्री’ गाउँ र वडामा देखाइयो । त्यति मात्र होइन जहाँ एमाले वलियो भएको ठाउँ छ । त्यहाँत्यहाँ मोर्चाबद्धी गर्ने काम भयो । यो सबै कसले र किन गर्यो ? हामीलाई थाहा छ । यस्तो बेलामा पनि हामीले यो सफलता प्राप्त गर्नु चानचुने कुरा होइन ।
पार्टीको आन्तरिक कारणले पनि केही समस्या भयो भन्ने छ नि ?
केही हदसम्म त्यो पनि सत्य हो । पार्टीको आन्तरिक कारणले गर्दा पनि यस्तो भयो । विरोधीले पैसाको खोलो बगाए । एमालेको विरुद्धमा विभिन्न खाले भ्रमहरु फैलाए । तर, एमालेले आर्थिक सहयोग गर्न सकिएन । हामी विना पैसा चुनाव लड्नु पर्यो । त्यति मात्र होइन हामी आन्तरिक रुपमा पनि एक भएर जान सकेनौँ । उनीहरुले सत्ताको पनि दुरुपयोग गरे । मधेसी दलले त एमालेका विरोधमा ठूलो–ठूलो प्रचार नै गरे । उनीहरुलाई पैसाको कुनै कमी भएन । त्यत्रो पैसा कहाँबाट आयो ? हामीले सोचे जस्तो परिणाम ल्याउन नसक्नुको एउटा कारण त्यो पनि हो ।
निकै लामो समय त एमालेलाई तराई प्रवेशमै मधेसी दलले रोक लगाएका थिए । त्यसको पनि परिणाम हो ?
पहिला के भयो त्यो पहिलाको कुरा भयो । तर, अहिले पनि हामीले प्रचार गर्न सकेनौँ । पार्टी पनि सक्रिय भएन । माओवादीको केन्द्रीय कमिटी नै मधेसमा आयो । हाम्रा केही शीर्ष नेता मात्र मधेसमा आउनुभयो । अघि पनि मैले भने हामी आन्तरिक रुपमा पनि एक हुन सकेनौँ । घात–अन्र्तरघात भयो । हामीले आफ्नै कारणले पनि सोचे जस्तो परिणाम ल्याउन सकेनौँ ।
प्रदेश र संघीय निर्वाचनमा प्रदेश नम्बर २ मा एमालेको कस्तो परिणाम आउला ?
हामी निराश भएका छैनौँ । हामी भित्र भएका गुट–उपगुटको अन्त्य गर्नुपर्छ । जनताका बीचमा हामी अहिले पनि गम्भीर ढंगले जान सकेनौँ । उम्मेदवार चयनमा पनि ढिला भयो । घात–अन्र्तरघातले पनि केही असर गरेको हो । हामीले यी सबै कुराको समीक्ष नगरी प्रदेश र संघीय निर्वाचनमा जाने हो भने यसको असर निश्चित पर्ने छ । तर, हामीले यी सबै कुराको व्यवस्थापन गरेर अघि बढ्ने हो भने प्रदेश नम्बर २ मा एमालेलाई जित्न कुनै समस्या छैन ।
एमाले मधेसीलाई अगाडि बढ्न दिदैँन भन्ने भ्रम परेको छ । एमालेका शीर्ष नेतामा कार्यकर्ताप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक छ । अहिले पनि एमालेको मधेसी जनतामा प्रभाव छ । हामीले त्यसलाई ‘क्यास’ गर्न सकेनौँ । हामी प्रदेश नम्बर २ का आठ वटै जिल्लामा कुनै पनि ठाउँमा कमजोर छैनौँ ।
यो चुनावसँगै नेपालको संविधानलाई राजपालगायतका मधेसी दलले पनि स्वीकार गरेका हुन् ?
संविधानको विरोधमा मधेसी जनता कहिल्यै लागेनन् । विदेशी शक्तिले उचालेका हुन् । मधेसी दलहरुले पनि त्यसैको भरमा जनता उचाले । त्यसले केही असर गर्यो । तर, अहिले चुनावमा गएपछि त्यो भ्रम हटेको छ । अझै पनि हामीले त्यस्ता भ्रमलाई सबै ठाउँमा पुगेर चिर्न सकेका छैनौँ । संविधानको विरोध गर्ने मधेसी दलप्रति यहाँका जनताको जुन खालको अपेक्ष थियो । त्यो झूट रहेछ भन्ने अहिले थाहा भएको छ । त्यसले पनि एमालेलाई राम्रो भएको छ ।
एमालेले लिएको राष्ट्रियतको अडानलाई कसरी लिनुभएको छ ?
अहिले एमालेले लिएको राष्ट्रियताको अडानले सबै नेपालीलाई नेपाली भएर नै बाँच्नुपर्छ भन्ने सन्देश दिएको छ । मधेसका जनता पनि विगतमा हामीले मधेसको विकासमा विदेशको मुख ताकेर बस्योँ । त्यो गलत थियो भन्नेमा पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उहाँको नेतृत्वको सरकारले दुई ओटा बाटो देखायो भन्ने अनुभुत यहाँका जनताले गरेका छन् । पहिलो भनेको नेपाल नेपालीले नै बनाउने हो भन्ने आत्मवल यहाँका जनतामा बढेको छ । हाम्रो देश धनी देशका रुपमा आउन सक्छ भन्ने थाहा यहाँका जनताले पाएका छन् ।
दोस्रो भनेको संविधानका विरोधमा नकाबन्दी भयो । त्यसले मधेसका जनताले सोच्ने मौका पाए । भारतले लगाएका बाँधका कारण नेपाल ढुवेको रहेछ भन्ने पनि यहाँका जनताले थाहा पाए । अहिले मधेसका जनता जनता सचेत भएका छन् । यो सकारात्मक कुरा हो ।
प्रदेश र संघीय केन्द्रीय निर्वाचनमा प्रदेश नम्बर २ मा एमालेको पोजिसन नि ?
प्रदेश नम्बर २ मा ३२ वटा सिट छ । यहाँ राम्रो दमदार उपस्थिति रहन्छ । केन्द्रमा बहुमतको सरकार बन्छ । प्रदेशमा त हामी सरकार जसरी पनि बनाउँछौँ ।
तर, त्यसका लागि पार्टीभित्र भएको भागबण्डा सस्कारको अन्त्य गर्नुपर्छ । लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ । मधेसी जनता र कार्यकर्ताप्रति एमालेका शीर्ष नेताको ध्यान जानुपर्छ । त्यो तरिकाले हामी अघि बढ्यौँ भने हामीलाई जित हात पार्न कुनै समस्या छैन । पार्टीप्रति चाटुप्रथा बढेको छ । यसको अन्त्य हुनुपर्छ । एमालेमा प्रवेश गर्ने अनि विरोधीलाई भोट हाल्ने कुराले पनि समस्या भएको छ । यसमा पनि एमालेले गम्भीर समीक्षा गर्नुपर्छ । यो भयो भने हामी सहज रुपमा जित्छौँ ।