पाँच प्रदेशमा ‘अति भारी’ वर्षाको रेड-अलर्ट, तीन दिन उच्च जोखिमको प्रक्षेपण

काठमाडौँ, २ साउन । जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणाली सक्रिय भएसँगै मुलुकका विभिन्न भागमा ‘अति भारी’ वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन विशेष बुलेटिन जारी गरेको छ। मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक अवस्थित रहेकाले आगामी ७२ घण्टा प्राकृतिक विपद्का दृष्टिले निकै चुनौतीपूर्ण हुने मौसमविद्हरूको विश्लेषण छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको पूर्ण प्रभाव रहेको छ। न्यूनचापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तर (नेपालको तराई आसपास) सरेको र पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले जलवाष्पयुक्त हावाको प्रवेश तीव्र भएको छ। यसले गर्दा देशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको शृङ्खला सुरु भएको हो।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षाको प्रक्षेपण गरिएको छ। कर्णाली र सुदूरपश्चिम यी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *