उत्तर कोरियाद्वारा दक्षिण कोरियाको वार्ता प्रस्ताव स्वीकार

प्योङयोङ । दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले सोलसँग अर्को हप्ता वार्ता गर्न सहमति जनाउँदै एउटा पत्र पठाएको जानकारी दिएका छन्। उक्त वार्ता आउँदो मंगलवार हुनेछ।
एकजना सरकारी प्रवक्ताले पियोङचाङ हिउँदे ओलिम्पिक्स र अरु आपसी स्वार्थका विषयमा वार्ताको एजेण्डा हुने बताएका छन्। जनबरी ९ मा हुने वार्तामा उत्तर कोरियाली खेलाडीहरुलाई आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्समा कसरी सहभागी गराउने भन्नेबारे छलफल हुनेछ।
यसै हप्ता उत्तर कोरियाली नेता किम जङ अनले उक्त प्रतियोगितामा प्रतिनिधिमण्डल पठाउने विषय दुई देशको जनस्तरमा रहेको एकता देखाउने उपयुक्त अवसर भएको बताएका थिए।
उक्त बैठक सीमावर्ती क्षेत्र पाममुनजोममा हुने अपेक्षा गरिएको छ।
शान्ति गाउँ पनि भनिने उक्त स्थान कडा सुरक्षा घेरा भएको गैरसैनिक क्षेत्रमा अवस्थित छ र त्यहाँ ऐतिहासिक रुपमा दुई देशबीच वार्ताहरु हुने गरेको छ।
यसअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले हिउँदे ओलिम्पिक्स दुई देशबीचको सम्बन्ध सुधार गर्ने ऐतिहासिक अवसर भएको बताएका थिए। दुई देश अहिले पनि प्राविधिक रुपमा युद्धकै अवस्थामा छन् तर यसै हप्ताको शुरुमा प्रगति जस्तो देखिने एउटा सानो साङ्केतिक कदममा उत्तर कोरियाले दक्षिण कोरियासँग टेलिफोन हटलाइन पुनस् स्थापित गरेको थियो।