सुदूरपश्चिम प्रदेश बजेट : कञ्चनपुरमा खेलकुद पूर्वाधार निर्माणका लागि प्राथमिकता

काठमाडौँ, असार ५ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी कञ्चनपुर जिल्लाको खेलकुद विकास र विस्तारलाई विशेष प्राथमिकता दिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा मिनी स्टेडियमदेखि कभर्डहल परिसरमा इन्डोर क्रिकेट हल निर्माणसम्मका योजनाहरूका लागि बजेट विनियोजन गरिएको छ ।

प्रमुख आयोजना र बजेट विनियोजन
जिल्ला खेलकुद विकास समितिका अनुसार दोधारा चाँदनी नगरपालिका २ मा खेलकुद मिनी स्टेडियम निर्माणका लागि करोड रुपियाँ विनियोजन गरिएको छ। यस्तै, सोही नगरपालिकाको वडा नं. ८ मा फुटसल स्टेडियम निर्माणका लागि ३० लाख ४० हजार छुट्याइएको छ ।

भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलका लागि प्रदेश सरकारले १ करोड ५० लाख रुपियाँ थप बजेट विनियोजन गरेको छ। यसका साथै, महेन्द्रनगरमै क्रिकेट इन्डोर हल निर्माणका लागि १९ लाख रुपियाँ विनियोजन भएको छ ।

स्थानीय तहका अन्य खेलकुद योजनाहरू

बेदकोट नगरपालिका वडा नं. १ मा गौँडी खेल मैदान निर्माणका लागि लाख रुपियाँ र वडा नं. १० चतहरीमा अधुरो ब्याडमिन्टन हल सम्पन्न गर्न १९ लाख रुपियाँ, भीमदत्त नगरपालिका वडा नं. ३ मा कराते तालिम हल निर्माणका लागि २२ लाख ८० हजार रुपियाँ, वडा नं. ९ रिडौना खेल मैदानका लागि ७ लाख ६० हजार रुपियाँ र सोही मैदानको पर्खाल निर्माणमा ११ लाख ४० हजार रुपियाँ विनियोजन भएको छ ।

कृष्णपुर नगरपालिका वडा नं. ५ को पुरानो पञ्चायत खेल मैदान र सयपत्री खेल मैदान स्तरोन्नतिका लागि क्रमशः १९-१९ लाख विनियोजन भएको छ । साथै, वडा नं. ८ स्थित राजघाट क्रिकेट मैदान स्तरोन्नतिका लागि ११ लाख ४० हजार विनियोजन भएको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नं. १० मा बाल व्यायामशाला निर्माणका लागि  ७ लाख ६० हजार दोधारा चाँदनी र बेलौरी खुला व्यायामशाला र क्रिकेट मैदान निर्माण तथा सामग्री खरिदका लागि विभिन्न शीर्षकमा ७ लाखदेखि ११ लाखसम्म बजेट विनियोजन भएको छ ।

खेल संघ र प्रशिक्षण केन्द्रलाई सहयोग
जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार विभिन्न खेल विधाको विकासका लागि पनि रकम विनियोजन गरिएको छ । जसअन्तर्गत फुटबल संघको भवन निर्माणका लागि ५३ लाख २० हजार रुपियाँ, कबड्डी संघको हल मर्मतमा १५ लाख २० हजार  रुपियाँ, ब्याडमिन्टन सामग्री खरिदमा  ७ लाख ६० हजार रुपियाँ र कुस्ती प्रशिक्षण केन्द्रका लागि ३ लाख ८० हजार रुपियाँ विनियोजन भएको छ।

संघीय सरकारको सहयोग र वर्तमान अवस्था
प्रदेश सरकारका अतिरिक्त संघीय सरकारले पनि महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन क्रिकेट मैदानका लागि रु. ३ करोड विनियोजन गरेको जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो।

चालु आर्थिक वर्षमा पनि कञ्चनपुरमा बक्सिङ हल मर्मत, हक्की मैदान निर्माण, क्रिकेट मैदानमा माटो भरान र ४०० मिटर एथ्लेटिक्स ट्रयाक निर्माणको कार्य अगाडि बढिरहेको छ। जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले बजेट विनियोजन सकारात्मक रहेको बताउँदै अब सामाजिक विकास मन्त्रालय र सरोकारवाला निकायले कार्यान्वयनमा तदारुपता देखाउनुपर्नेमा जोड दिनुभयो।