भीम आचार्य म भन्दा सिनियर हुनुहुन्छ, त्यसैले उहाँ प्रतिस्पर्धी होइन अविभावक हो —शेरधन राई ,प्रदेश १ का मुख्यमन्त्रीका दावेदार

maitrinews

 


प्रदेश नम्बर एकको मुख्यमन्त्रीको चर्चामा रहनुभएका शेरधन राई सबै योग्यता–क्षमता पूरा भएकै कारण आफूले मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेको दाबी गर्नुहुन्छ । प्रदेश नम्बर एकमा आफ्नो प्रतिस्पर्धी कोही नभएको दाबी गर्ने राई एमाले सचिव भीम आचार्यलाई सिनियर नेताको रुपमा प्रदेश नम्बर एकलाई सफल बनाउन भूमिका खेल्न सुझाव दिनुहुन्छ । आफू मूख्यमन्त्री भएपछि प्रदेश नम्बर एकलाई नमूना प्रदेश बनाउने योजनामा रहेको बताउने राईसँग मैत्रीन्युज डटकमका लागि मोहन बास्तोलाले गरेको कुराकानी : 

अहिले सबै भन्दा बढी चर्चा प्रदेश नम्बर एकको मुख्यमन्त्रीको विषयलाई लिएर चलेको छ । यो चर्चालाई तपाईँले कसरी लिनुभएको छ ?

प्रदेशसभाको निर्वाचन सम्पन्न भैसकेको छ । प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि को मुख्यमन्त्री बन्ने भनेर चर्चा चल्नु स्वाभाविक हो । अहिले हामी सरकार गठनको प्रक्रियामा अघि बढिसकेका छौँ । विभिन्न खालका भेला, बैठकहरु पनि निरन्तर चलिरहेका छन् । त्यसैले मुख्यमन्त्रीको चर्चा हुनु आ–आफ्नो दाबी हुनु यी सबै स्वाभाविक कुरा हुन् ।
जहाँ सम्म मेरो सन्दर्भको कुरा छ । मैले प्रदेश नम्बर एकको मुख्यमन्त्रीका लागि पहिलादेखि नै दावा प्रस्तुत गर्दै आएको छु । अझ दावा मात्र होइन मैले बलियो प्रतिष्पर्धीका रुपमा पनि प्रस्तुत गरेको छु । मुख्यमन्त्रीको लागि गरिने छलफल वा भेलाहरुमा पनि मैले मेरो दाबीलाई त्यही ढंगले प्रस्तुत गर्नेछु ।

तपाईँसँगै पार्टीका सचिव एवं प्रदेश नम्बर एकका संयोजक भीम आचार्यले पनि त्यस्तै खाले दाबी प्रस्तुत गरेको अवस्था छ नि ?

उहाँको दाबीलाई मैले अस्वाभाविक रुपमा लिएको छैन । हामी उहाँको दाबीलाई औपचारिक छलफलमा प्रवेश गराउने छौँ । सकेसम्म सर्वसम्मत नेतृत्व छनोटको विधिलाई हामी अपनाउँछौँ । त्यो सबै भन्दा उत्तम विकल्प भयो । सहमति बन्न नसक्दा हामी संसदीय दलको नेता छनोटका लागि मतदान प्रक्रियामा सहभागी हुन्छौँ । यो लोकतान्त्रिक विधि हो । विगतमा पनि हामीले त्यस्ता अनुभवलाई संगालेका छौँ । त्यसैले यो कुरालाई मैले सामान्य रुपमा लिएको छु । लोकतान्त्रिक विधिबाटै जाँदा पनि म राम्रो मतले जित्न सक्छु भन्नेमा म ढुक्क छु ।

तपाईँ चुनावी प्रतिष्पर्धामा जाँदा तपाईँलाई भावी मुख्यमन्त्रीकै रुपमा चर्चा गरियो । अझ भन्ने हो भने पार्टीका दुबै गुटका नेताले समेत तपाईँलाई भावी मुख्यमन्त्री भनेर नै भोट मागे । यस्तो अवस्थामा त तपाईँ सर्वसम्मत हुँन केले छेक्ला र ?

म प्रदेशसभामा निर्वाचन लड्दै गर्दा म एक्लैले निर्णय लिएर गएको होइन । मलाई प्रदेशसभामा निर्वाचन लड्ने र मुख्यमन्त्री बन्ने महत्वकाक्षां जागेर पनि म चुनावमा गएको होइन । म पार्टी नेतृत्वसँग छलफल गरेर, परामर्श गरेर नै प्रदेशसभाको निर्वाचनमा सहभागि भएको थिएँ । निर्वाचनका क्रममा पनि मतदाताले मलाई त्यही आशाका साथ अर्थात भावी मुख्यमन्त्रीकै रुपमा हेरेर विजयी बनाएर पठाए । म अहिले पनि मतदाताको पूर्ण आशा–भरोसामा रहेको छु । त्यति मात्र होइन, मलाई सबै नेताहरुको सहयोग–समर्थन, सुभेच्छा पनि रहेको छ । अहिले संसदीय दलमा विगतका नजिर हेर्दा पनि वरिष्ठताक्रम र पोर्टफोलीयोको आधारमा भन्दा पनि दलको नेता हुनका निम्ति योग्य, सक्षम लगायतका सबै कुराहरुलाई ख्याल गरेर नै दलका सदस्यले मतदान गर्नुहुन्छ र दलको नेता चुन्ने काम हुन्छ । यसकारण पनि म अबको संसदीय दलको बैठकबाट म संसदीय दलको नेता निर्वाचित हुनेछु । अहिले मलै मलाई यही रुपमा प्रस्तुत गरेको छु ।

प्रदेश नम्बर एक जनजाती बाहुल्य क्षेत्र हो । यो क्षेत्रमा जनताति अनुहार नै मुख्यमन्त्री बन्नुपर्छ भन्ने पनि मत छ नि ?

जातको आधारमा मुख्यमन्त्री बन्ने कुरा मैले प्रस्तुत गरेको छैन । हाम्रो पार्टीमा पनि त्यस्तो होला भन्ने मलाई लाग्दैन । तर, हामी अहिले संविधानको कार्यान्वयन गर्ने, संघीयता कार्यान्वयन गर्ने चरणमा छौँ । यो महत्वपूर्ण विन्दुमा छौँ । यस्तो अवस्थामा हामीले संघीयता कार्यान्वयन भयो भनेर नक्शामात्र देखाउने होइन । संविधानका धार–उपधारा जनतालाई पढेर सुनाउने कुरा पनि संघीयता कार्यान्वयन होइन । संघीयता मार्फत जनताले आफ्नो अनुहार प्रत्यक्ष रुपमा देख्न चाहन्छन् । त्यसैले सबैले सबैको प्रतिनिधित्व हुने गरी नेतृत्व हेर्न चाहन्छन् । हो, प्रदेश नम्बर एक स्वाभाविक रुपमा जनताति बाहुल्यता प्रदेश हो । सभ्यता, भौगोलिक र ऐतिहासिक हिसावले पनि जनतातिको विशेष महत्व रहेको प्रदेश हो, प्रदेश नम्बर एक । यी सबै कारणले यो चर्चा चल्नुलाई अस्वाभाविक पनि भन्न सकिन्न । मेरो योग्यता जनताजित भएकाले मात्र होइन सबै हिसावले प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्न पुग्ने भएकाले हो ।
मैले पार्टीले दिएका हरेक जिम्मेवारी पूरा गर्दै आएका कारणले पनि मेरो योग्याता मुख्यमन्त्रीका लागि पुग्छ भन्नेमा ढुक्क छु । केन्द्रमा पटक पटक मन्त्री भइसकेका, महत्वपूर्ण जिम्मेवारी सम्हालीसकेका नेताहरु चुनाव लड्नुको तात्पर्य भनेको भावी प्रदेश सरकारको नेतृत्व गर्नकै लागि हो भन्ने सबैले अनुमान गर्नु स्वभाविकै हो । प्रदेश नम्बर १ मा प्रदेश सभा सदस्यमा म आफु चुनाव लडिरहँदा सर्वत्र रुपमा भावी मुख्यमन्त्रीको रुपमा मलाई हेरियो । चर्चा गरियो । र, मैले आफुलाई सार्वजनिक रुपमा भावी मुख्यमन्त्रीका रुपमा आफ्नो दावेदारी प्रस्तुत गरें । त्यो अस्वभाविक थिएन । मेरो सन्दर्भमा कुरा गर्ने हो भने म संविधान जारी गर्नु अघि निर्वाचित सांसद् हुँ । म महत्वपूर्ण समितिको सभापति भै सकेको व्यक्ति हुँ । त्यति मात्र होइन मसँग सुचना तथा सञ्चारमन्त्री र सरकारको प्रवक्ता भएको पनि अनुभव छ । ती सबै जिम्मेवारी मैले कुशल ढंगले निर्वाह गरेको हुँ । त्यति मात्र होइन म अहिले पार्टीको पोलिट्व्युरो सदस्य हुँ । प्रदेश नम्बर एकको सह–संयोजकको हैसियतमा छु । यी सबै कारणले मैले मुख्यमन्त्रीको रुपमा दाबी प्रस्तुत गरेको छु ।

तपाईँलाई शीर्ष नेताहरुले नै मुख्यमन्त्रीको संकेत गरेर वा आश्वासन दिएर चुनावमा पठाएको भन्ने पनि छ नि ?

मैले अघि पनि भने, आश्वासन भन्दा पनि मैले नेतृत्वहरुसंग विभिन्न कोणबाट प्रसस्त रुपमा छलफल गरेर नै प्रदेश सभा सदस्यमा उठ्ने निधो गरेको हुँ । म आफैंमा पद प्रति त्यस्तो महत्वकांक्षी छैन । ममा कुनै व्यक्तिगत लोभ वा स्वार्थ पनि छैन । मलाई कुनै मुख्यमन्त्री बन्नको निम्ति रहर जाग्यो, महत्वकाँक्षा जाग्यो, त्यसो भएर नितान्त होइन । म एउटा इमान्दार कार्यकर्ता हो । एउटा त्याग, निष्ठा र मुल्यको राजनीति गर्दै एउटा इमान्दार कार्यकर्ता र नेताको रुपमा काम गर्दै आइरहेको छु । मैले पाएको पार्टीभित्रको जिम्मेवारीको कुरा गर्नुस्, चाहे संसदीय क्षेत्रको जिम्मेवारीको कुरा गर्नुस् वा कार्यकारी जिम्मेवारी र मन्त्री समेतको जिम्मेवारीको कुरा गर्नुस् मैले सम्पूर्ण रुपमा आफ्नो योग्यता पुरा गरेर यो जिम्मेवारी दिँदा यसले जिम्मेवारी पुरा गर्न सक्छ भन्ने विश्वास लिएर पार्टी र नेतृत्वले जिम्मेवारी दिँदै आएको छ । र, ती जिम्मेवारीहरु मैले योग्यतापूर्वक पुरा गर्दै आएको छु ।
कतिपयले पार्टी अध्यक्षले ने बचन दिएको पनि भन्ने गरेका छन् । त्यो पनि होइन , तर हाम्रो पार्टीको नेतृत्व, सिङ्गो हाम्रो पार्टी, अहिलेको संविधान, त्यसको मर्म र भावना एवं स्पिरीट प्रति गम्भीर छ ।

तपाईँले अलिक छिटो–छिटो जिम्मेवारी पाउनुभयो भन्ने पनि छ नि ?

मैले चार कार्यकाल पार्टीको जिल्ला प्रमुख सर्वसम्मत रुपमा सम्हालेको छु । जुन बेला पार्टी गुटको हिसावले चिरा चिरामा थियो, समानान्तर रुपमा कतिपय जिल्लाहरुमा २, ३ वटा सम्म जिल्ला कमिटीहरु थिए । तर, म नै त्यस्तो पार्टीको जिल्ला प्रमुख थिँए । जहाँ गुटवन्दीको गुन्जायस थिएन । जहाँ कुनैपनि कार्यकर्ताहरु विभाजित हुनुपर्ने स्थिति थिएन । त्यसप्रकार सम्पूर्ण पार्टी कार्यकर्ताहरुको सर्वसम्मत विश्वास जितेर चार कार्यकाल मैले पार्टी प्रमुख भएर जिल्लामा भूमिका निर्वाह गरें । हो, त्यही भूमिकाका कारणले मलाई पार्टीले मूल्याङ्कन गरे वैकल्पिक केन्द्रीय सदस्यका रुपमा २०७० सालमा मनोनयन ग¥यो । कार्यक्षेत्र तोक्यो । तोकिएको कार्यक्षेत्रमा मैले काम गरें । नवौं राष्ट्रिय महाधिवेशनमा मैले केन्द्रीय सदस्यमा उमेद्वारी दर्ता गरें । अत्याधिक मतले निर्वाचित भए । त्सपछि स्वभाविक रुपमा एक अवधि वैकल्पिक केन्द्रीय सदस्यका रुपमा काम गरिसकेको र महाधिवेशनबाट पूर्ण केन्द्रीय सदस्यका रुपमा निवार्चित भइसकेको हुनाले म पार्टीको वैकल्पिक पोलिट्व्युरो सदस्यका रुपमा फेरी निर्वाचित भए । त्यसपछि मैले युवा फाँट हेर्ने इन्चार्जको जिम्मेवारी पाँए । १३–१४ महिनादेखि युवासंघ २ वटा चिरामा विभक्त थियो । नेताहरु दुइवटा किनारामा उभिएर एक प्रकारले दोहोरी खेलिरहनु भएको अवस्था थियो । त्यस्तो समस्याग्रस्त संगठनलाई मिलाएर अघि बढाए, एक ढिक्का पारें । युवा संघले वेग्लै गति लियो । त्यसपछि संविधान सभामा स्वभाविक रुपमा निवार्चित भएर आइसकेपछि मैले समितिको सभापति चाहेर होइन, खोजेर होइन पार्टीले पठाएर गएँ । हाम्रो संसदीय इतिहासमा शुसासन तथा अनुगमन समिति पहिलो पटक बन्यो, त्यस्तो महत्वपूर्ण समितिको सभापतिको जिम्मेवारी लिनको निम्ति पार्टीले र संसदीय दलले आग्रह ग¥यो । मैले त्यो जिम्मेवारी ग्रहण गरें । म सभापतिको हैसियतमा जति दिन बसें राम्ररी आफ्नो योग्यता क्षमताले भ्याएसम्म मैले काम गरें । एउटा इमेज बनाँए । त्यसपश्चात संविधान जारी भइसकेपश्चात मलाई सरकारको सूचना तथा सञ्चारमन्त्रीको रुपमा र प्रवक्ताको रुपमा जिम्मेवारी दिइयो । त्यो पार्टीले पत्याएर र नेतृत्वले पत्याएर नै दिइएको हो । मैले पनि पत्यार अनुसार नै जिम्मेवारी पुरा गरें । मलाई लाग्छ म जति महिना सञ्चारमन्त्री र प्रवक्ताको रुपमा रहें, कहीँ कतै अलिकति पनि नचुकिकन एउटा सफल मन्त्रीको रुपमा म उत्रिए । मैले सञ्चारमन्त्री वा सरकारको प्रवक्ताको रुपमा मैले राम्ररी जिम्मेवारी पुरा गर्न नसकेको भए आज सहज र स्वभाविक रुपमा मुख्यमन्त्रीको रुपमा मलाई बनाउन सकिन्छ भनेर कसैले भन्दैनथे होलान् ।

भीम आचार्य तपाईँ भन्दा सिनियर हुनुहुन्छ । तपाईँ मुख्यमन्त्री बनेपछि उहाँको व्यवस्थापन पनि त चाहिएला नि ?

उहाँ पार्टीको नेता हो । उहाँ म भन्दा सिनियर हुनुहुन्छ । स्वाभाविक रुपमा उहाँले नेताको हैसियतमा समग्र प्रदेश नम्बर एकको अविभावको रुपमा भूमिका खेल्नुपर्छ । उहाँ पार्टीको सचिव र प्रदेशको संयोजकको हैसियतमा हुनुहुन्छ । त्यसैले उहाँको व्यवस्थापन गर्नु पर्ने आवश्यकता नै देख्दिन । उहाँले अविभावको रुपमा सिनियर नेताको हिसावमा समग्र प्रदेश नम्बर एकलाई सफल बनाउन लाग्नुपर्छ ।

तपाईँ मुख्य मन्त्री बनेपछि यो प्रदेश कस्तो बनाउने भन्ने योजना पनि त होला नि ?

हामीले प्रदेश नम्बर एकलाई कस्तो बनाउने भन्ने मास्टर प्लानलाई संस्थागत रुपमा अघि बढाउने छौँ । सुशासन कायम गर्ने, भ्रष्ट्राचारलाई शून्यमा झार्ने, सामाजिक सद्भाव कायम राख्ने मेरा एजेण्डा हुन् । पर्यटन, जलस्रोत, कृषि र आइटीलाई प्राथमिकतामा राखेर नमूना प्रदेश बनाउने मेरो अर्को एजेण्डा हो । हिमाल, पहाड र तराई जोडिएको यो सुन्दर प्रदेशलाई नमूना प्रदेश बनाउँदै हामी भुटान र वंगलादेशसँग पनि सिधा सम्वन्ध राख्न चाहन्छौँ । यो प्रदेश हिमालै हिमालको प्रदेश हो । यो प्रदेशमा पर्यटनका प्रचुर सम्भावना छन् । तालतलैया, नदी–नाला, ऐतिहासिक, धार्मिक र पुरातात्वविक महत्वका स्थान पनि यही क्षेत्रमा छन् । सगरमाथा, हलेसीधाम, पाथीभारा यही प्रदेशमा छ । त्यसैले यी सबैलाई महत्व दिइए आर्थिक संमृद्धिको दिशामा अघि बढाउने छु ।