यो स्थायी सरकार हो, जनताले महशुस गर्ने गरी काम गर्नुपर्छ —गगन थापा, नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा विभिन्न नेताहरुले विभिन्न कोणबाट समीक्षा गरिरहेका छन् । चुनावमा नराम्रो परिणाम भोगेपछि नयाँ रणनीतिसहित अघि बढ्ने तयारीमा रहेको कांग्रेसका युवा नेता गगन थापासँग मोहन बास्तोलाले कांग्रेसको नयाँ रणनीति, वर्तमान सरकाप्रतिको अपेक्षालगायतका विषयमा केन्द्रित भएर गरेको कुराकानीः
चुनावमा नराम्रो पराजय भोगेपछि अहिले नेपाली कांग्रेस त्यो समीक्षासहितको बैठकमा जुटेको छ । बैठकमा के–कस्ता विषयले प्राथमिकता पाएका छन् ?
तीन वटै तहका निर्वाचन सम्पन्न भएका छन् । यी निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाकृत मत प्राप्त गर्न सकेन । यो बैठकमा मुख्य गरेर निर्वाचनको परिणाम, नेपाली कांग्रेसले निर्वाचनमा जनताको मत जित्न नसक्नुको कारणलगायतका विषयमा छलफल गरेका छौँ । केन्द्रीय सदस्यहरुले आफ्नो धारणा यसैमा केन्द्रित भएर राखिरहनुभएको छ ।
हारको परिणाम नेतृत्वको कमजोरी हो भन्ने विषयले बैठकमा बढी प्राथमिकता पाएको भन्ने छ नि ?
निर्वाचनमा कांग्रेसले जुन किसिमको पराजय भोग्यो, यसका कारण अलिअलि टिक्काटिप्पणी आउने कुरा स्वभाविक पनि भयो । निक्कै लामो समयदेखि बस्न नसकेको बैठकमा केन्द्रीय सदस्यहरुले खुलेरै आफ्नो धारणा राख्नुभएको पनि छ । मेरो अनुभवमा पनि नेपाली कांग्रेसले आन्तरिक रुपमा आफ्नो पार्टी सुदृढिकरण, भावी रणनीति, विगतको समीक्षालगायतका विषयमा यति धेरै गम्भीर भएर छलफल गरेको मेरो लागि चाँही पहिलो अनुभव नै हो ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले २०१५ सालदेखि अहिलेसम्मको समीक्षा गर्नुभएको छ । कांग्रेस अघि बढ्नेक्रममा कहाँ कसरी र किन चुक्यो ? हामीसँगै अरु पार्टीहरुले के गरे भन्ने कुराहरुदेखि लिएर २०४८ सालदेखि नेपाली कांग्रेस आफ्नो मतको आधार किन गुमाउँदै गयोसहितका थुपैथुपै्र विषयका कुरा उठे । समीक्षा भए ।
मलाई लाग्छ यो छलफलले कांग्रेसलाई धेरै अनुत्तरित प्रश्नको उत्तर दिन यो बैठक सफल हुनेछ । यो छलफल ठीक समयमा भएको छ । यसलाई हामीले सम्हालेर लैजान सक्यौ भने कांग्रेसको प्रगतिका लागि यो नयाँ मार्ग बन्न सक्छ ।
विगतको निकै शक्तिशाली कांग्रेस खुम्चिनुका कारणबारे पनि त छलफल भयो होला नि ?
व्यवस्था थोरै फरक होला, कार्यशैलीलाई परिमार्जन गरिएको पनि होला तर, एजेन्डा भनेको नेपाली कांग्रेसले उठाएकै नै हो म यसमा दावाका साथ भन्छु । यो हिसाबले हेर्ने हो भने नेपाली कांग्रेसले यी विषयहरुलाई संविधानमा सुत्रबद्ध गर्नु । संविधान मान्दिन भनेको शक्तिलाई निर्वाचन प्रक्रियामा सहभागि गराउनु, तिनै शक्तिहरुलाई सरकार तथा प्रदेश सरकारका विभिन्न तहमा सहभागि गराउन सक्नु, नेपाली कांग्रेसका लागि अभूतपूर्व उपलब्धी हो । नेपालमा नेपाली कांग्रेसले विश्वास गरेको राजनीतिमा सबैलाई सहभागि हुने अवस्था सिर्जना ग¥यो । तर, कांग्रेसले नै चुनाव हा¥यो । त्यसैले नेपाली कांग्रेसले धेरै हिनताबोध गर्नुपर्ने कुनै कारण नै छैन । निर्वाचनका अवस्यपनि दुई पाटा हुन्छन जित र हार । यो आवधिक हो । फेरि अर्को निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन कुनै अफ्ठ्यारो पनि छैन । ०६४ सालमा हामीले अहिलेको भन्दा कम मत पाएका थियौ । तर, ७० सालमा फेरि जनताको विश्वास नेपाली कांग्रेसलाई नै भयो । हामी नै देशको सब भन्दा ठूलो पार्टी बन्यौ । अहिले फेरि मत केही कम भयो । यसरी एउटा निर्वाचन जित्दा त्यसपछिको अर्को निर्वाचन किन हा¥यौ भनेर समीक्षा गरौं भन्ने बैठकको एजेन्डा हो । अर्को पार्टी निर्वाचनमा जितेर सरकारमा जाने विषय मात्र होइन । एउटा जिम्मेवार राजनीतिक दलसँग राष्ट्रिय दायित्वका विषय पनि जोडिएका हुन्छन् । अब पाँच वर्ष पछि हुने निर्वाचनमा हामीले जित्नुपर्नेछ । कांग्रेस कार्यकर्ताको एकमात्र लक्ष्य निर्वाचनमा कांग्रेस जित्नुपर्छ भन्ने नै हो । तर, आम मतदातासँग त यो कुरा जोडिएको छैन । त्यसैले पाँच वर्षको अवधिमा कांग्रेसले किन जित्ने भन्ने कुरा आम मतदाताले भन्नुपर्छ । यो वातावरण बनाउन बैठकमा समीक्षा भइरहेको छ । आगामी रणनीतिक योजनाका विषयमा पनि कुराकानी भइरहेको छ ।
भनेपछि हारको कारण खोज्ने प्रयास पनि भएको छ ?
हामीले यही विषयलाई गम्भीरताका साथ लिएर छलफल गरिरहेका छौं । यसको एउटा मात्र कारण भने छैन । एउटा देखिने र साच्चै नै भएको कारण भने कम्युनिष्ट पार्टीबीचको एकता नै हो । देशका दुई ठूला कम्युनिष्ट पार्टी मिल्दै गर्दा निर्वाचनको परिणाममा ठूलो असर त्यसले पार्ने नै भयो । अहिलेको एमाले र माओवादीजस्तै निर्वाचनमा त्यतिबेलाको सत्तासाझेदार कांग्रेस र माओवादी मिलेको भए एमालेको अवस्था अहिलेको कांग्रेसको भन्दापनि सानो हुन्थ्यो । कांग्रेस र माओवादी मिलेर चुनाव त लडेन एमाले र माओवादी मिलेर चुनाव लड्यो । यसरी दुई ठूला पार्टी एक ठाउँमा भएर लड्दा आएको मतको परिणामलाई सानो कारण नमानौ यो सबैभन्दा ठूलो कारण हो भनेर धेरै सदस्यले भन्नुभएको छ । तर, यो मात्र कारणले कांग्रेस हारेको होइन । अरुपनि थुपै्र कारणछन् । त्यसका विषयमा हामी छलफल गरिरहेका छौं । छलफलको निष्कर्ष तपाईं समक्ष हामी चाँडै ल्याउनेनै छौं ।
गुटउपगुटमा जेलिएको कांग्रेसमा तपाईंले भनेजस्तो नतिजा पाँच वर्षभित्र ल्याउन सम्भव छ ?
एउटा जीवन्त पार्टीमा गुटउपगुट हुन्छ । समूहहरु मिलेरै त सिंगो पार्टी बन्छ । पार्टीभित्र समूह बन्ने र भत्कनेक्रम रहन्छ । यो कांग्रेसमात्र होइन सबै दलमा हो । त्यो समस्या हुँदै होइन । समस्या त्यहाँनेर हो जहाँ गुट वा समूहका कुरामा पार्टी अल्मलियो वा पार्टीका समूहको स्वार्थ नै कार्यकर्ताको स्वार्थ भयो, पार्टीको स्वार्थचाँही गौण भयो भने समस्या हुन्छ । अहिलेको नेपाली कांग्रेसमा भएको पनि त्यही हो ।
एउटा पार्टीमा बस्नुको कारण हो विचार मिल्नु । विचारमा पनि कार्यशैली, कामको प्रकार, क्षेत्र, भुगोलका कारणले समूह बन्छ । यो नेपालमा मात्र होइन । तर, तिनै समूहको व्यवस्थापनको विषय नै पार्टीको दैनिकीको विषय बन्यो भने समस्या सिर्जना भयो । हामीले भोगेको पनि त्यही नै हो ।
अब हामीले धेरै अपेक्षा यही बैठकलाई राखेका छौं । समूहबीचको विभाजनलाई कसरी चिरेर जान सक्छौं । ०६४ मा भएको पराजयपश्चात पार्टीले जुन मिसन बनायो जसरी पनि हामीले जित्ने भन्ने त्यसैको परिणामले ०७०मा हामीले जनताको मत जितेको इतिहास त हाम्रा सामू छ । माओवादीको दबदबाबाट कसरी निस्कने भन्ने हाम्रो एकमात्र मिसन थियो । सफल भयौं हामी बाहिर निस्क्यौ । अब हामीले पनि यो बैठकबाट यस्तै मिसन बनाउने हो ।
संसद्मा कांग्रेसको भूमिका ?
हो एकदमै राम्रो विषय उठाउनुभयो । जनताहरुले पार्टीमा हामी के छलफल गछौं भन्ने कुरालाई प्राथमिकताका साथ हेरेका हुँदैनन् । हाम्रो उपस्थिति संसदमै होस भन्ने जनताको चाहाना छ । त्यो चाहाना हामी पूरा गछौं । सरकारले गर्ने कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कडा प्रतिपक्षीका रुपमा हामी हुन्छौं ।
त्यस्तै संविधानको कार्यान्वयनका लागि हामी कहिल्यै पनि प्रतिपक्षी बन्ने छैनौ । जसरी पनि जारी भएको संविधानलाई कार्यान्वयनको क्षेत्रमा पु¥याउनुछ । यसका लागि हाम्रो योगदान महत्वपूर्ण हुनेछ ।
त्यसमा पनि हामी सरकारको साझेदार हौं, सहकर्मी हौ । कतिपय ठाउँमा हामी नेता नै हौं । सरकारको शासनका विषयमा हाम्रा केही नीति छन् त्यसमा तलमाथि भयो भने हामी त्यसको विरोध गछौं नत्र, हामी सँधै सहकार्यका साथ अघि बढ्छौं ।
वर्तमान सरकारलाई तपाईंले दिने सुझाव ?
यो छोटो समयका लागि आएको सरकार हैन । लामो समयपछि एउटा स्थीर सरकार आएको छ । यो राम्रो कुरा हो । सरकारको निश्चित उद्देश्य हुनुपर्छ । त्यसको कार्यान्वयनका लागि प्रधानमन्त्रीको नेतृत्वको टीम जुट्नुपर्छ । तर, अर्को कुरा मन्त्रीहरुले अहिले जुन रुपमा म यो गर्दैछु, म त्यो गर्छु भनेर भनिरहनुभएको छ त्यसबाट टाढा रहेर । सबैले मौन बसेर जनताले महशुस गर्ने गरी काम गर्नुपर्छ । अब हामी प्रतिपक्षी र जनता सबैले चाहेको कुरा भनेको काम हो । कुराले सरकारलाई माथि पु¥याउँदैन । यस विषयमा सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री तथा मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्रीहरु सबै जानकार हुनुहुन्छ भन्ने मलाई लाग्छ ।