दुई कम्युनिष्ट पार्टीको एतकता जोगाई राख्न चुनौती छ —झलनाथ खनाल, वरिष्ठ नेता नेकपा (एमाले)

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादीबीचको एकतालाई जोगाए राख्न चुनौति रहेको बताउनुभएको छ । विगतमा धेरै कम्युनिष्टहरु एक भएको र एकता जोगाउन नसकेको स्मरण गर्दै उहाँले समृद्धिका लागि पनि दुई पार्टीको एकता जरुरी भएको बताउनुभयो । खनालसँग मोहन बास्तोलाले गरेको कुराकानीः
नेपालमा अहिले वाम एकताको माहोल चलेको छ । दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी एक हुँदैछन् । यो एकतालाई जोगाए राख्न कत्तिको चुनौति देख्नुभएको छ ?
नेपालमा वामपन्थी इतिहासले ७० वर्ष टेकेको छ । पहिलो र दोस्रो दशक वामपन्थी पार्टीको विकासमा केन्द्रित रह््यो । तेस्रो दशकमा आएपछि धेरै टुक्रामा विभाजित भयो । चौथो दशकबाट पुर्नगठनको प्रक्रिया सुरु भयो । पाँचौ दशकमा ठूलो संख्यामा पुर्नगठन पनि भयो । जसका कारण नेपालको कम्युनिष्ट आन्दोलन एक राष्ट्रिय शक्तिका रुपमा उदय पनि भयो । छटौं दशकमा केही विभाजन भएपनि सातौ दशकमा आउँदा अहिले कम्युनिष्ट आन्दोलन एकीकृत भएर आएको छ । यतिमात्र होइन अहिले आएर हाम्रो पार्टी नेृकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जुन एकताको प्रक्रिया अघि बढिरहेको छ । यो एकता प्रक्रिया सम्पन्न भइसक्दा हामी सातौं दशकमा सबैभन्दा ठूलो उपलब्धी हासिल गर्नेछौं । र, सातौ दशक एकताको दशक, अग्रगतिको दशक, प्रगतिको दशक, कम्युनिष्ट आन्दोलनमा, लोकतान्त्रिक आन्दोलनमा देशभक्तिपूर्ण आन्दोलनमा एउटा सुाँच्चिनै ब्रेकथ्रो गर्ने दशकका रुपमा यो विकसित हुँदैछ । यसको निम्ती नेपालको कम्युनिष्ट आन्दोलनले जुनखालको भूमिका निर्वाह गरिरहेको छ सिंगा राष्ट्रलाई परिवर्तन, रुपान्तरण गर्ने काममा जुन धेरै महत्वपूर्ण हुन्छ ।
कार्यशैलीगत रुपले पनि एकताबद्ध हुनु पर्ला नि ?
एकता गर्नु वा एकताबद्ध बनाउनु मात्र ठूलो कुरा होइन । खाली संगठनात्मक रुपले एकताबद्ध बनाएर पुग्दैन । पार्टीलाई वैचारिक रुपले एकताबद्ध गर्नसक्नुपर्छ । राजनीतिक रुपले एकताबद्ध गर्नसक्नुपर्छ । सैद्दान्तिक रुपले एकताबद्ध गर्न सक्नुपर्छ । कार्यशैलीगत रुपले एकताबद्ध गर्न सक्नुपर्छ । पद्धतीका, तरिकाका, प्रक्रियाका हिसाबले पनि एकताबद्ध गर्न सक्नुपर्छ । त्यो भएन भने पार्टीमा समस्याहरु आउँछन् । खास गरेर नेकपा एमालेभित्र पनि ती समस्याहरु देखा परेका छन् । कहिले गुटबन्दीका समस्याहरु, कहिले आग्रह पुर्वाग्रहका समस्याहरु छन् । विभिन्न घटनाक्रमको अध्ययनका क्रममा पनि हेर्ने दृष्टिकोण फरकफरक हुँदा समस्या आउँछ । अब यस्ता कमीकमजोरीहरुलाई पार्टी एकताभएपछि पूरै धुलो हुनेृगरी समाधान गर्नुपर्ने हुन्छ । आफ्ना वा अरुका जसका भएपनि कमिकमजोरीलाई समाप्त पार्नुपर्छ । अनि नयाँपार्टीलाई विल्कुल विचारधाराका रुपले एकताबद्ध, सैद्दान्तिक रुपले एकताबद्ध र राजनीतिक रुपले पनि एकताबद्ध बनायौ भने मात्रै कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ । होइन भने, भोलि त्यो संगठनात्मक रुपले मात्र एकताबद्ध बनाएको शक्ति काम विहिन हुनसक्छ ।
ठूलाठूला कम्युनिष्ट शक्ति बनेर पनि सँधै एकताबद्ध हुननसकेको इतिहास पनि त छ नि ?
नेपालमा हिजो ठूलाठूला कम्युनिष्ट शक्ति नबनेका होइनन । तर, उनीहरु सँधै एकताबद्ध हुनसकेन । किनभने उनीहरुमा राजनीतिक कार्यदिशा, नीति र सिद्दान्तका आधारमा सम्पूर्ण रुपले वैचारिक एकता कायम गर्न सकिएन । यी कारणले पार्टी विभाजन भएका छन् । विश्वका ठूलठूला देशमा पनि कम्युनिष्ट पार्टी विभाजनको कारण यही नै हो । त्यसैले अब हामीले विश्वमा भएको कम्युनिष्ट आन्दोलनको विभाजन, नेपालमै भएको पार्टी विभाजनको पाठबाट शिक्षित भइ नयाँ कार्यदिशा तय गर्नु अत्यावश्यक छ । यो एकता प्रक्रिया जसरी अघि बढिरहेको छ, यसमा सबै नेताहरुले सबैलाई कसरी समेट्ने, सबैलाई कसरी एकताबद्ध बनाउने, सबै पक्षमा कसरी एकताबद्ध हुने भन्ने कुरालाई ध्यानमा राखेर काम गर्नुपर्छ । अनि मात्र दीगो, सबल, शक्तिशाली, राष्ट्रव्यापी, जनव्यापी राष्ट्रिय पार्टी बनाउन सक्छौं । जसले २१ औं सताब्दीको आवश्यकतालाई परिपूर्ति गर्नसक्छ । र, साँचो अर्थमा सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने उद्देश्य प्राप्त गर्न सकिन्छ । अनि देशलाई समाजवादको लक्ष्यतर्फ प्रवाहित गर्न सकिन्छ ।
सरकारले अहिले सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने कुरालाई प्राथमिकतामा राखेको छ । यो सम्भव छ ?
राज्यमा सुशासन कायम गर्नु सबैभन्दा ठूलो चुनौती हो । भ्रष्टाचारको अन्त्य गर्न अहिलेको सरकार लागि परेको पनि छ र रोक्नु जरुरी छ । सबैतिर मौलाइरहेको भ्रष्टाचारी प्रवृत्ति अन्त्य गर्न सके आधा नेपाल स्वतः विकास हुन्छ । त्यसैले सरकारले स्थानीय प्रशासनलाई पनि आफ्नो जिम्मेवारी बोध हुने खालका काम दिएर उनीहरुबाट पनि नतिजामुखी कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाउनु जरुरी छ । यो सहज काम पक्कै छैन । तर, स्थीर सरकार भएकाले धेरै कठिन पनि छैन । सहज व्यवस्थापनसहित सरकार र सरकारको अंगका रुपमा रहेका प्रदेश अनि स्थानीय निकायले मजवुद भएर अघि बढ्नुपर्छ ।
इयुको पछिल्लो अभिव्यक्तिलाई चाहिँ के भन्नु हुन्छ ?
नेपाल एउटा स्वतन्त्र मुलुक हो । सार्वभौमसत्ता मुलुक हो । यो राष्ट्रिय अखण्डताले युक्त मुलुक छ । हामी संयुक्त राष्ट्र संघका वडापत्रका कुरालाई समेत सम्मान गर्दै सम्पूर्ण अन्तराष्ट्रिय अभिसन्धिहरुलाई पनि सम्मान गर्दै हामी यो मुलुकलाई अघि बढाई रहेका छौँ । हाम्रो देशमा कस्तो व्यवस्था चाहिन्छ । हाम्रो देशमा कस्तो खालको राजनीतिक पद्धति आवश्यक छ ? कस्तो खालको निर्वाचन पद्धत्ति हुनुपर्छ ? कसलाई कति संरक्षण दिनुपर्छ ? कसलाई कति आरक्षण दिनुपर्छ वा दिनु पर्दैन । यो सबै नेपाली जनताको नीजि कुरा हो । यो कसैले पनि टिप्पणी गर्नु पर्ने कुरा होइन । संसारका कुनै पनि मुलुकलाई नेपालका बारेमा टिप्पणी गर्नुपर्ने अधिकार र आवश्यकता छैन । युरोपियनहरुलाई पनि अधिकार छैन । युरोपियन शक्तिहरुले पाँच सय वर्षसम्म यो दुँनियालाई उपनिवेश बनाएर चलाए । उनीहरुले उपनिवेश मात्र बनाएनन् सत्ताको घोडा नै चढे, दोहन गरे । तर, त्यो युगको अव अन्त्य भयो । सिङ्गो विश्वव्यापि रुपमा त्यो युगको अन्त्य भएको छ । हिजोका उपनिवेश एशिया, अफ्रिकाहरु, ल्याटिन अमेरिकाहरु अहिले व्युँझिएका छन् । सारा राष्ट्रहरु अहिले एकतावद्ध भएका छन् । उनीहरु स्वतन्त्र छन् । सार्वभौमसत्ता छन् । उनीहरु आ–आफ्नो विकासको नीति लिएर अघि बढेका छन् । यो बेलामा युरोपियन युनियनले संयमता अपनाएर तेस्रो मुलुकको विकासलाई सहयोग गर्नुपर्छ ।
आफ्नो स्वतन्त्रतालाई सधैँभरी बचाएर राखेको नेपालप्रतिको यस्ता अभिव्यक्ति गलत हुन होइन त ?
नेपाल त अझ त्यस्तो देश हो, जहाँ विश्वमै उपनिवेश हावी भएका बेला पनि यहाँ कुनै उपनिवेश टिक्न सकेन । नेपाल जुझ्यो, नेपालले संघर्ष गर्यो । नेपालले आफ्नो स्वतन्त्रतालाई सधैँभरी बचाएर राख्यो । त्यसकारण म भन्न चाहन्छु । हामीलाई आजको अवस्थामा हाम्रो कुनै पनि आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्ने कोशिस नगरोस् । नेपाल स्वतन्त्र मुलुक छ । हामी हाम्रो विकासको बाटो, हाम्रो क्रान्तिको बाटो हामी आफैँ निर्माण गर्न सक्छौँ । म फेरि पनि भन्छु– कसलाई कति आरक्षण दिनुपर्छ वा दिनु पर्दैन त्यो अरुले सिकाउनु पर्दैन । त्यो नेपाली जनताले नै गर्न सक्छन् ।