सरकारको राम्रा कामको हामी खुलेर समर्थन गर्छौ —मीन विश्वकर्मा,कन्द्रीय सदस्य, तथा सांसद नेपाली कांग्रेस

maitrinews


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद् मीन विश्वकर्मा सरकारका राम्रा कामका लागि सँधै रचनात्मक सहयोगका साथ अघि बढ्न तयार रहेको बताउनुहुन्छ । तर, विकास र समृद्धिका नाममा बाहनाबाजी गरेर जनताका अधिकार कटौती गर्ने काम सरकारले गरे कडा प्रतिकार गर्ने बताउनुहुन्छ । विश्वकर्मासँग मुलुकको पछिल्लो राजनीतिक अवस्था, कांग्रेसको रणनीति, प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा केद्रित भएर मोहन बास्तोलाले गरेको कुराकानी : 

पछिल्लो निर्वाचन परिणामलाई कसरी लिनु भएको छ ?

हामीले समग्रमा हेर्दा योपटक विगतको भन्दा धेरै मत पाएका छौँ । हामीले पाएको मत प्रतिशत ३७ छ । तर, प्रतिनिधि संख्या भने हाम्रो २२ प्रतिशत मै सीमित भएको छ । यसरी हेर्दा मैले भन्ने गरेको जस्तो आश्चर्यजनक परिणाम छ । यसको विषयमा व्यक्ति नै पिच्छे फरक–फरक दृष्टिकोण र विचार पनि छन् । एकथरी केन्द्रीय सदस्यहरूले जनमत गुमेको छैन । हामी प्राविधिकरूपले हारेका हौँ भन्ने विचार पनि राखेका छन् । अर्कोथरीले पनि जनमत हामीसँग भए पनि नेतृत्वले उचित रणनीति अपनाउन नसकेका कारण जनमत भएर पनि हाम्रो प्रतिनिधित्व संख्या कम भयो । संसदमा हामी हार्न पुग्यौँ त्यसैले नेतृत्वले यसको जिम्मेवारी लिनुपर्छ भन्नुभएको छ ।

तपाईँको बुझाईमा चाहिँ के–हो ?

यी दुवैको बीचबाट पार्टीलाई कसरी मजबुद बनाउने र पार्टीलाई कसरी संगठित बनाउने, जनताको बीचको पुनः सम्बन्ध विस्तार कसरी गरेर लैजाने यो विषयमा हामीले सोच्नुपर्छ । वाम गठबन्धन मिल्दा तीन पार्टीमध्ये दोस्रो र तेस्रो पार्टी मिल्दा जसरी हाम्रो परिणाम दोस्रो हुन आयो । यो कांग्रेसका लागि ठूलो चुनौति हो । यो चुनौतिलाई पनि टकराव दिनेगरी कांग्रेसको पुर्ननिर्माण कसरी हुने भन्ने विषयमा केन्द्रीय समितिमा पनि बहस चलिरहेको छ ।
सार्वजनिकरूपमा हुने कार्यक्रममा पनि हाम्रो यही अभिव्यक्तिहरू आइरहेको छ । त्यस्तै कांग्रेसकै विभिन्न भ्रातृ संगठनको कार्यक्रममा पनि नेताहरूको भाषण, शैली र प्रस्तुती कांग्रेसलाई मजबुत बनाउन चाल्नुपर्ने कदमका विषयमा नै केन्द्रित छ । यसरी हेर्दा कांग्रेस जनबाट आएको अहिलेको अभियव्यक्ति कहीकही कठोर ढंगको पनि छ । कहिँकहिँ वैचारिक ढंगको पनि छ र, कहिँकहीँचाँही पार्टीलाई अब उठाउन मध्यममार्गी बाटो चाहिन्छ पनि भन्नुभएको छ ।

भनेपछि अब कांग्रेस सुधारको रणनीतिमा अघि बढेको छ, होइन त ?

कांग्रेसको अवको निकास के–हो भन्ने विषयको उत्तर निकाल्न नै सिंगो कांग्रेस पार्टी, त्यस भित्रका नेता कार्यकर्ता जुटेका छन् । यो नै अहिलेको वास्तविक अवस्थिति हो । नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले मेची–महाकाली तरुण जागरण अभियान भनेर कार्यक्रम बनाएको छ । यो जागरणका क्रममा जिल्लाका कार्यकर्तालाई दिइने केन्द्रको सन्देश केहो भनेर केही साथीहरू परिचालित हुनुभएको छ ।
यसैको जिम्मेवारी मैले पनि पाएको छु । हामीले केन्द्रीय समितिमा उठेका विभिन्न सवालको जानकारी पनि स्थानीय तहमा गराइरहेका छौँ । यो अभियानमा आफ्नो क्षेत्रमा पर्ने सबै केन्द्रीय सदस्यहरूले जिम्मेवारी पाउनुभएको छ । यहाँ गुट समुह भन्ने कुनै पनि कुरा उठेको छैन ।

कांग्रेसको हारको कारण नेतृत्वको कमजोरी हो भन्ने आरोप बढी छ । यस्तै हो ?

१२ औँ महाधिवेशनपछि नेपाली कांग्रेस सामूहिक नेतृत्वमा विश्वास राख्दै काम गरिरहेको छ । सभापति एक्लैले कुनै पनि निर्णय गलत छैन । सभापति एक्लै केही पनि होइन । त्यसैले सामूहिक नेतृत्व भएका कारणले निर्वाचन परिचालन समितिको संयोजक ‘चिफ अफ कमान्डर’ वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउनुभयो । त्यस्तै पार्टीको प्रचारप्रसार समितिमा पनि रमेश लेखक, गगन थापालगायतका प्रखर वक्ता र असल नेताहरूलाई जिम्मेवारी दिनुभयो ।
यसरी सबै जिम्मेवारी बाँडफाँट भैसकेको अवस्थामा कुनै राम्रो काम भएको रहेछ भने पनि नेतृत्वले जसलाई बाँडेर लिनुपर्छ । कमजोरी नै भयो परिणाम उल्टै आयो भने पनि त्यसको अपजस बाँडेरै लिनुपर्छ । म पनि सभापतिलाई सहयोग गर्नुपर्छ भन्ने पक्षको मान्छे हो । त्यसैले मैले पनि मेरो जिम्मेवारीभित्र परेको जस अपजसलाई बाँडेर नै लिनुपर्ने हुन्छ । अहिलेको निर्वाचनमा नेपाली कांग्रेसको मत घटेको भए, पहिलेका उम्मेद्वारले भन्दा अहिलेका उम्मेद्वारले कम मत पाएको भए, सरासरी पार्टीको कार्यक्रम खराब भएर भन्ने हुन्थ्यो होला ।
पार्टीको नीति नै नराम्रो भन्ने कुरा पनि हुन्थ्यो होला । पार्टीको विचार तथा नेतृत्व खराब भन्ने प्रश्न पनि उठ्ने थिए होलान् । रणनीति खराब भयो भनेर दोष लगाउने ठाउँ हुन्थ्यो । तर, विगतमा हामी २९ प्रतिशत मतमा थियौँ । अहिले हामी ३७ प्रतिशत मतमा छौँ । आठ प्रतिशत मत बढेको छ । एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये एक सय सात वटा निर्वाचन क्षेत्रमा त कांग्रेसले स्पष्टरूपमा पाँच प्रतिशत मत बढाएर आएको छ । योसँगै कांग्रेस विगतमाभन्दा आठ प्रतिशत मत बढाएर आएको छ । यो राम्रो मत परिणाम हो ।
त्यसैले अहिले कांग्रेसको जनमत घटेको भए नेतृत्व असफल हुन्थ्यो होला । नीति असफल हुन्थ्यो होला । जनमत घटेको छैन । परिणाममात्रै प्राविधिक कारणले पछि परेको हुनाले नीति र नेतृत्व असफल होइन । अरूको गठजोडका कारणले हामी पछाडि पर्न गएका छौँ । त्यसैले अब हामी संयमित हुनुपर्छ । अब हामीले धैर्यता अपनाउनुपर्छ । पार्टी्भित्रका विचार र चिन्तनको मनन गर्नुपर्छ । नयाँ नीति र रणनीति अवलम्बन गरेर अघि बढ्नुपर्छ ।

तर, अहिले कांग्रेसमा एकले अर्कालाई खुइल्याउने मोर्चाबन्दी नै बनेको छ नि ?

कसैका विरुद्धमा मोर्चाबन्दी गर्ने, यस्तो मोर्चाबन्दी र विरुद्धमा सञ्चालन गरिएका अभियानहरूले पार्टीलाई अझै कमजोर बनाउँछ, पार्टीलाई विभाजित गर्छ । पार्टीका नेतृत्वहरूबीच मनमुटाव सिर्जना गर्छ । त्यसैले अब संगठन भनेर मात्रै पुग्दैन । सिंगो नेपाली कांग्रेस र पार्टी निर्माणको अभियान जारी भएको छ । सबै केन्द्रीय सदस्यहरूको विचारलाई केन्द्रीय समिति बैठकमा राखिनुपर्छ ।
असन्तुष्टिको सम्बोधनका लागि पार्टीले कदम चाल्नुपर्छ । नेताका सुझाव र असन्तुष्टिलाई पनि मार्ग दर्शनका रूपमा लिएर सिंगो पार्टी निर्माणको अभियानमा लाग्नुपर्छ । उहाँहरूले धारणा राख्न पाउने अधिकार हो । यो स्वभाविक पनि हो । तर, सडकमा छताछुल्ल हुने गरी नेतृत्वको चरित्र, नेतृत्वको कार्यशैलीका बारेमा टिकाटिप्पणी गर्नु त्यो अनुशासनहिनता नै हुन्छ । थप बुझ्न आवश्यक पर्छ भने बुझ्नका लागि पनि अनुरोध गर्दछु ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी लिनुभएको छ ?

नेपालको विकास र समृद्धिका लागि पाँच वर्षे स्थायी सरकारको नेतृत्व गरेर भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेजस्तो उपलब्धिमूलक काम गरेर आउनुभएको छ भन्ने चाँही मलाई लागेको छैन । तर, समग्रमा त्यति नराम्रो भन्ने अवस्था पनि छैन । नेपाली कांग्रेस प्रतिपक्षमा रहेर सरकारले गरेका कामको समीक्षा गरिरहे पनि नेपाली जनताको हितका पक्षमा भने सधैँ अग्रसर भएर सबैसँग सहकार्य गर्न तयार छ ।
यो पार्टी नेपाली जनताको स्वतन्त्रताका लागि नेपाली जनताको अधिकारको रक्षाका लागि स्थापना भएकाले विकास निर्माण, शान्ति, सुरक्षा र पार्टीको घोषणा पत्रमा उल्लेख भएअनुसारको समग्र समृद्धिका लागि सरकारले चाल्ने जुनसुकै कदमका लागि पनि अघि बढ्न तयार नै छ । सरकारका राम्रा कामका लागि सँधै हामी रचनात्मक सहयोगका साथ अघि बढ्न तयार छौँ । तर, विकास र समृद्धिका नाममा बाहनाबाजी गरेर जनताका अधिकार कटौती गर्ने काम गरे हामी कडा प्रतिकार गर्नेछौँ ।