चराको गीतमा कृसु
नेपाली कविताका पृथक् र सशक्त हस्ती कृसु क्षेत्री चराको गीतमा नयाँ ढंगले प्रस्तुत भएका छन् । कविता यात्रामा तीन दशकभन्दा बढी समय पूरा गरेका उनले २०४३ सालको रुपरेखा पत्रिकामा मुक्तक प्रकाशित गरेर कवितायात्रा थालेका हुन् । एक दर्जनभन्दा बढी पुस्तक तथा पत्रिकाहरुको सम्पादन गरेका उनका प्रस्तुत कृतिसहित उनका अद्र्धमुदित आँखाहरु, आगोको मूच्र्छना, बोधीसत्वको मृत्यु, उत्सव, रगतको दरबार, चौध वर्षपछिसमेत गरी आधा दर्जन काव्य,कविता,गजल कृति र अन्य अनुसन्धानात्मक कृतिसमेत आठवटा कृतिहरु प्रकाशित छन् ।
प्रणयपरक रागात्मक चेतनाका गजलदेखि विलयन काव्यलेखन हुँदै नवीन किसिमका फुटकर कविता लेखनसम्मको कवितायात्रामा उनको कवित्व गतिशील देखिन्छ । समकालीन नेपाली कवितामा विलयन लेखनका अभियन्ता कृसुका कवितामा यस अभियानका मान्यताहरु पनि प्रतिविम्बित भएका छन् । लेखनमा स्वतन्त्रता, नवीनता र बुहुलतालाई अंगिकार गर्दै विश्वव्यापीकरणको मान्यतालाई पनि विलयन लेखनले आत्मसात् गरेको छ ।
प्रस्तुत चराको गीत कविता संग्रहमा ४२ वटा कविता समावेश गरिएका छन् । प्रत्येक कविताले नयाँ सन्देश दिएका छन् । आमा कवितामा कविले मातृविम्वका सबै कुराको विलयन हुन्छ भन्ने भाव व्यक्त गरेका छन् भने चराको गीतमा स्वतन्त्रता र उन्मुक्तिको गीत संसारको सबैभन्दा सुन्दर गीतका रुपमा प्रस्तुत गरेका छन् । अमेरिकामा भानु कवितामा भानुभक्तको विनिर्मित रुपको चर्चा गरिएको छ । क्याराभानमा बाँचेका थिग्लेमा सीमान्त वर्गको नायक थिन्लेले बोकेको हिमाली संस्कृति पस्किएको छ । म कीर्तिपुरको नाक माग्दै छु कवितामा कविले अस्तित्वको निरन्तर युद्ध र इतिहासको पुनव्र्याख्या गरेका छन् । मृत्युसँग साक्षात्कारमा मृत्युसँग एकछिन साक्षात्कार गरेका कविको यथार्थ अनुभूति गरिएको छ । पानी कवितामा स्वतन्त्रता, गतिशीलता, सभ्यता र क्रान्तिको बीजका रुपमा पानीको चर्चा गरिएको छ । कवि र जिम्मेवारीमा संवेदनामा प्रहार भएपछि कविता फुर्दैन भन्ने भाव प्रकट भएको छ ।
बुबाः एक सारथीमा बुबाप्रतिको गहन,महनीय र आदर्श अभिव्यक्ति व्यक्त भएको छ । आङ साङ सुकीलाई पत्रमा सुकीको प्रजातन्त्रवादी चिन्तनप्रतिको आस्था देखाइएको छ । समुद्र र ढुंगामा समुद्रतटको ढंगामा मान्छेको जीवनको विम्बीकरण गरिएको छ । दुवसी क्षेत्रीमा दुवसु व्यक्तिविम्वको विराटताको विम्वचित्र खिचिएको छ । नीलो आँसुमा पितृविम्ब र मातृविम्बभित्र लुकेको विराटता र संवेदना व्यक्त भएको छ । रुखमा वृक्षविम्ब ईश्वरीय सत्ताको प्रतिविम्बन गरिएको छ । पुनरागमनको प्रतीक्षामा यावत् विषमताहरु चिर्ने युगपुरुषको आगमनको प्रतीक्षा गरिएको छ । मेरो देशको नक्सामा देशको विखण्डन र विभाजनप्रति आउँदो पुस्ताको चिन्ता व्यक्त गरिएको छ भने बादलको तस्बिरमा बादलका अनेकौँ अमूर्त आकृतिभित्र अनेकौँ कवि र कविताको परिकल्पना गरिएको छ ।
उता नायग्रा फल्समा नायग्रा फल्सको अप्रतिम दिव्य सौन्दर्यको अनुभूति गरिएको छ । आगलागीमा राजतन्त्रको अन्त्य, क्रान्ति चेतना र राजनीतिक व्यंग्य गरिएको छ । प्रवासको दसैँमा विदेशमा श्रम बेच्ने नेपालीहरुको यथार्थ नियतिको विम्बचित्र कोरिएको छ । स्ट्याचु अफ लिवर्टीमा एक शरणार्थीमा रंगभेदकाविरुद्ध स्वतन्त्रता र स्वाधीनताको प्रतीकीकरण गरिएको छ । एउटा युगपुरुषमा युगपुरुषको आगमनको प्रतीक्षा र आवश्यकता महसुस गरिएको छ ।
अनागरिक हुनुको अर्थमा आफ्नो देश छोडेर विदेशिन विवश नेपालीहरुको आक्रोश व्यक्त भएको छ । मेरो इतिहासमा वर्तमानका मान्छेभित्रको कुरुप यथार्थको चित्रण गरिएको छ । काजोल खातुनमा सशस्त्र द्वन्द्वका बेला बसभित्र आगोे लगाएर जिउँदै जलाइएकी मुस्लिम बालिकाप्रतिको संवेदना व्यक्त गरिएको छ । सूर्यग्रहण समापनको घोषणामा कविले निरंकुशताको अन्धकारबाट देशलाई मुक्त गर्नुपर्ने अभिप्राय र उज्यालोको खोजी गरेका छन् भने बार्ड अफ एभनमा एभन नदीको किनारबाट महान् स्रष्टा शेक्सपियरलाई सम्बोधन गरेका छन् ।
हिमपातमा न्युयोर्कमा न्युयोर्कमा हिमपातका बेलाको अनुभूति र परिवेश चित्रण गरिएकाृे छ । धरोधर्म रक्सी लागेको छैन मलाईमा राजनीतिको चक्र उल्टो घुमिरहेको युगीन यथार्थप्रति आत्मव्यंग्यका माध्यमबाट तीव्र व्यंग्य गरिएको छ । बादशाहको रहरमा राजतन्त्रको राज्यआतंकको विरोध गरिएको छ । पाहिचानको खोजीमा आफूलाई क्िरत्त नढाँटी प्रस्तुत गरिएको आत्मकथ्यमा कविको आत्मपहिचानको खोजी गरिएको छ ।
भोक कवितमा कविले भोकका नाममा हुने गरेको राजनीति र भ्रष्टाचारको चित्रणका साथ भोकाका विरुद्ध संघर्ष गर्नुपर्ने अभिप्राय व्यक्त गरेका छन् ।
सहागरातमा रागात्मक सौन्दर्यचेतनाको अनुभूति गरिएको छ । साँझमा पेरिसमा साँझको पेरिसको सौन्दर्यमा कविको रागात्मक एकाकारता व्यक्त भएको छ । निरो र अभिनन्दनमा राजतन्त्रप्रतिको अत्यन्त कठोर श्यामव्यंग्य गरिएको छ । भो मलाई प्रेम नगरमा प्रेमको कोमलता र ढुंगाको कठोरताको विपर्यय गरिएको छ ।
शत्रु नहुँदा हुन् त हराउनेरैछ जीवनको अर्थमा नकारात्मकताबाट पनि सकारात्मकतातिर जीवन गतिशील र उद्दीप्त हुन्छ भन्ने भाव व्यक्त भएको छ । दुई दशकपछिमा अतीतका कुनै स्मृतिविम्बको रागात्मक नोस्टाल्जिया देखाइएको छ भने स्पिकर कर्नरमा उभिएरमा स्पिकर कर्नरको प्रतीक विधानबाट स्वतन्त्रताको चाहना व्यक्त भएको छ । तिम्रो अनुपस्थितिमा तिमी आलम्बनको अनुपस्थितिजन्य प्रणयपीडा पोखिएको छ । भुइँचालोपछिमा भूकम्पजन्य विध्वंशमा पनि संवेदनाको व्यापार र मानवताको उपहास भएको यथार्थ चित्रण गरिएको छ भने … र अन्त्यमा आफैँमाथिको र आफैँले आफैँलाई कवितामा हेरिएको कविको आत्मकविता प्रस्तुत गरिएको छ ।
कवि कृसुका कवितामा वस्तुसौन्दर्यका दृष्टिले जेजति विविधतामय छन् , आफ्ना विचार, चिन्तन, चेतना र धारणाको प्रस्तुतिको दृष्टिले पनि ती त्यत्तिकै विविधतामय देखिन्छन् । उनका कविता पढ्दा अरुचि हुँदैन पढुँ पढुँ लाग्छ । हरेक कविताले नयाँ सन्देश दिएका छन् । पाठकलाई मानवतासहितको मानव बन्न प्रेरित गर्ने उनका कवितामा बहुपठनीयता छ ।