देशभरका २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाखलाई जुकाको औषधि खुवाइयो
काठमाडौं, ८ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ अभियानअन्तर्गत देशभरका करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।
गत वैशाख ६ र ७ गते सञ्चालन गरिएको यस राष्ट्रिय अभियानअन्तर्गत लक्षित उमेर समूहका २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको हो । मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार यसै अभियानअन्तर्गत करिब ८ लाख बालबालिकालाई पोषणयुक्त ‘बालभिटा’ समेत वितरण गरिएको छ ।
अभियानअन्तर्गत ६ महिनादेखि ५९ महिना (५ वर्षमुनि) का बालबालिकालाई भिटामिन ‘ए’, १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइएको थियो ।
बालबालिकाको आँखाको दृष्टि सुरक्षित राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन, कुपोषण न्यूनीकरण गर्न र बाल मृत्युदर घटाउने उद्देश्यले सरकारले हरेक वर्ष यो अभियान सञ्चालन गर्दै आएको छ ।
यसपटकको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन देशभर करिब ५० हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए ।