संघीय संसद् जस्तै व्यवस्थित ढंगले प्रदेश संसद् चलाएका छौँ—सानु श्रेष्ठ,सभामुख, प्रदेश ३


सानु श्रेष्ठ प्रदेश नम्बर तीनका सभामुख हुनुहुन्छ । सरल स्वाभावका श्रेष्ठसँग विपक्षीसँग पनि मिलेर काम गर्ने गज्जबको शैली छ । संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–१० बाट प्रचण्डसँग निर्वाचन लड्नु भएका श्रेष्ठ दिएको जिम्मेवारी कुशल ढंगले पूरा गर्ने नेताका रुपमा पनि परिचित हुनुहुन्छ ।
नेता श्रेष्ठसँग प्रदेश नम्बर तीनको प्रदेशसभा सचिवालय हेटौँडामै उहाँकै कार्यकक्षमा प्रदेश नम्बर तीनको सरकारले गरेका काम, संसद्का गतिविधिलगायतका विषयमा केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराकानीः

तपाईँ अहिले प्रदेश नम्बर तीनको सभामुख हुनुहुन्छ । तपाईँ सभामुख निर्वाचित भएर आएपछि गरेका काम प्रक्रियाका बारेमा तपाईँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

प्रदेशसभा सञ्चालनमा सरकारले पठाएको सांगठनिक ढाँचा अनुसार जनशक्ति जति हुनु पर्ने त्यो छैन । यहाँ मात्र होइन अन्य प्रदेशमा पनि यस्तै समस्या छ भन्ने मैले जानकारी पाएको छु । जनशक्ति अभावले यहाँ काम गर्न केही कठिनाई अवश्य भएको छ ।
दोस्रो भनेको प्रदेशसभा सचिवालय कानुन निर्माण गर्ने थलो हो । तर, कानुन निर्माण गर्ने थलोका रुपमा रहेको यहाँ अहिलेसम्म पनि कानुन मन्त्रालयबाट उप–सचिव यहाँ आउनु पर्ने हो । तर, अहिलेसम्म त्यो व्यवस्था पनि यहाँ भएको छैन । यसले पनि धेरै समस्या अवश्य भएको छ ।
संसद सचिवालयमा संविधानले व्यवस्था गरे अनुसार सचिव नियुक्ति गर्ने व्यवस्था छ । अहिलेसम्म सचिवालय व्यवस्थापनसम्वन्धि ऐन समेत नबनेका कारण केही अभावहरु रहेको मैले महशुस गरेको छु ।
यद्यपि, हामीले प्रदेशसभालाई निकै व्यवस्थित ढंगले सञ्चालन गर्दै अघि बढेका छौँ । बजेट अधिवेशन पनि हामीले व्यवस्थित ढंगले नै अघि बढाएका छैँ । त्योसँगै यहाँ ११ ओटा विधेयक पेस भएकोमा अहिलेसम्म कम्तीमा आठ ओटा विधेयक पास गरिसकेको अवस्था छ ।
प्रदेशमा सरकार सञ्चालन गर्नका लागि ९९ ओटा विधेयक पारित भएपछि मात्र हामीले पूर्णरुपमा काम कारवाही अघि बढाउन सक्छौँ । त्यसका लागि हामीले अझै धेरै तयारी गर्नुपर्ने अवस्था छ । हामी यसलाई व्यवस्थित गर्न पनि निकै मेहनतका साथ लागेका छौँ ।

प्रदेशसभा नयाँ संरचना हो । अझ प्रदेश मुकाम पनि नयाँ नै छ । यहाँ यसको व्यवस्थापनमा पनि त निकै कठिनाई भएको होला नि ?

निश्चय पनि, यहाँको भौतिक पूर्वाधार लगायतका लागि पनि हामीले धेरै मेहनत गर्नु परेको छ । अहिले सचिवालयमै प्रतिपक्षी दलहरुका लागि दलको कार्यालय दिनका लागि पनि हामीले तयारी गरिरहेका छौँ । सत्तापक्षकै पनि ८० जना सांसद् हुनुहुन्छ । उहाँहरुका लागि पनि अहिले छलफल गर्न वैठक बस्न समस्या भएको छ । हामीले दलको कार्यालय व्यवस्थापनका निकै चासोका साथ काम गरिरहेका छौँ । यी सबै कुराका लागि हामीसँग जनशक्तिको अभाव पनि खड्किएको छ । हामी यी सबैको व्यवस्थापनमा संसदीय अभ्यास र मान्यतालाई समेत ख्याल गरेर लागेका छौँ ।
हामीलाई यहाँ हाउस चलाउनका लागि पनि समस्या भएको छ । सानो कोठामा हामी निकै दुःखले हाउस चलाई रहेको छौँ । हामी विस्तारै व्यवस्थित गर्दै जान सक्छौँ भन्नेमा विश्वास छ । अघि माथि उल्लेख गरे अनुसार कर्मचारी व्यवस्थापनको पाटो पनि छदैँछ ।

वास्तवमा भन्ने हो भने यहाँ संरचना नयाँ, तपाईँको अनुभव नयाँ सबै कुरा नयाँ छन् । यी सबै कुराको तालमेल मिलाएर अघि बढ्न त निकै कठिन नै होला नि है ?

हो, मैले अघि पनि भने । अहिले धेरै कठिन भएको छ । तर, हामीले यी सबै कुरालाई निकै मेहनतका साथ व्यवस्थापन गर्दै अघि बढेका छौँ । कर्मचारीको अभाव भए पनि जति कर्मचारी हुनुहुन्छ । उहाँहरुले निकै मेहनेतका साथ काम गर्नु भएको छ । त्यसले गर्दा पनि काममा निकै सहजता पैदा भएको छ । हाम्रो संविधान, हाम्रो नियमावली अनि अनुभवप्राप्त माननीयहरुको उपस्थिति सबै कुराले हामीले यहाँ अहिले पनि संघीय संसद् जसरी चलेको छ । त्यस्तै व्यवस्थित ढंगले सञ्चालन गर्न सकेका छौँ । यसकारण पनि मलाई धेरै खुशी लागेको छ ।
हो, अघि तपाईँले भने जस्तै सभामुख पद मेरो लागि नयाँ अनुभव हो । कतिपय मैले नबुझेका कुराहरु अहिले विज्ञहरुसँग सल्लाह गरेर पनि अघि बढ्ने गरेको छु । यी सबै कुराले निकै सहजता पनि पैदा भएको छ । सबैतिरको सहयोग र सद्भावले मलाई ऊर्जा मात्रै मिलेको छैन । अब संसद् निकै व्यवस्थित ढंगले चलाउन सकिन्छ भन्ने आत्माविश्वास पनि बढेको छ ।

भनेपछि कर्मचारीहरुको सहयोग पनि निकै राम्रो पाउनु भएको छ । जसले गर्दा तपाईँलाई काममा सहजता भएको छ, होइन ?

हो, मैले कर्मचारीहरुबाट निकै राम्रो सहयोग प्राप्त गरेको छु । कर्मचारीको अभावले गर्दा यहाँका कर्मचारीलाई निकै भारी परेको छ । यद्यपि उहाँहरुले निकै मेहनतका साथ काम गरिरहनु भएको छ । कतिपय कर्मचारी त विहान सात बजे आएर बेलुका सात बजेसम्म बस्ने अवस्था समेत छ । विदाका दिनमा समेत आएर कर्मचारीले काम गर्नुभएको छ ।
तपाईँ सभामुख हुनुहुन्छ । यहाँ पनि सत्तापक्ष–प्रतिपक्षका कुराहरु त स्वाभाविक हुने नै भए । संसद् अवरुद्ध गर्ने, अवरोध गर्ने जस्ता काम पनि होलान । यस्तो बेलामा तपाईँले दल भन्दा माथि उठेर सभामुखको जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । यस्तो जिम्मेवारी चाहिँ कत्तिको सामना गर्नु परेको छ ?
अहिले १ सय ९ जना माननीय हुनुहुन्छ । सत्तापक्ष मात्र होइन प्रतिपक्षका माननीयहरुले पनि मलाई सहयोग नै गर्नुभएको छ । यसकारण पनि मलाई खुशी लागेको छ । बजेटका एक–दुई ओटा सेसन् बाहेक अहिलेसम्म मैले संसद् नै अवरुद्ध गर्ने काम भएको छैन । सबै प्रक्रियालाई हामीले छलफल र सहमतिकै साथ अघि बढाउने गरेका छौँ । यसलाई मैले सफलता पनि मानेको छु । अझ गज्जब त के छ भने यहाँ प्रतिपक्षी माननीयहरुले समेत रचनात्मक सुझाव दिने गर्नुभएको छ । कानुन निर्माणकै सन्दर्भमा कुरा गर्दा हामीले सबै सर्वसम्मत ढंगले अघि बढाएका छौँ । पक्ष÷विपक्ष नभई हामीले कानुनहरु पारि गर्ने गरेका छौँ । कानुन निर्माण भन्ने कुरा कुनै पनि दलको होइन सबैको हो । आज एउटा दलको सत्ता होला भोलि अर्कै दलको सत्ता हुन्छ । तर, काननु त सबैको हुन्छ । त्यहि भएर पनि हामीले निकै जिम्मेवार ढंगले छलफल गरेर निर्णय लिने गरेका छौँ । त्यसमा पनि निकै राम्रो सहयोग प्राप्त भएको छ ।

असार १ गते तपाईँहरुले बजेट ल्याउनु भएको छ । बजेटका बारेमा प्रतिपक्षीहरुको कस्तो प्रतिक्रिया छ ?

बजेटको सैद्धान्तिक पक्षमा सत्तापक्ष र प्रतिपक्ष भनेर आलोचना भएको मैले पाएको छैन । हामीले ३५ अर्ब भन्दा माथिको बजेट ल्याएका छौँ । यो प्रदेश नम्बर तीनका लागि निकै थोरै नै हो । हामीले विन्यास गर्दा निकै सन्तुलित ढंगले गर्नुपर्ने जिम्मेवारी छ । प्रतिपक्षीहरुको पनि त्यस्तै सुझाव रहेको छ । हामी प्रदेश नम्बर तीनका जनताले परिवर्तनको महशुस गर्ने गरी काम गर्ने उदेश्यले अघि बढेका कारण पनि हामी जिम्मेवार भएर लागेका छौँ । हामीलाई सल्लाह–सुझाव पनि त्यस्तै खालका आएका छन् ।