पाँच प्रदेशमा ‘भारी वर्षा’ को उच्च जोखिम, तराई नजिकै न्यूनचापीय रेखा

काठमाडौँ, ३१ असार । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तर सरेर नेपालको तराई भू–भाग नजिक अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव निकै शक्तिशाली बनेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा ‘भारी वर्षा’ हुने प्रक्षेपण गरिएको छ।

महाशाखाको पछिल्लो विवरण अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको अवस्था: देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा मधेस प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा ‘भारी वर्षा’को सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ।

राति पनि वर्षाको क्रम जारी रहने देखिन्छ। कोशी प्रदेशका पहाडी भू–भाग तथा कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै महाशाखाले निम्न क्षेत्रमा विशेष सावधानी अपनाउन ‘अलर्ट’ जारी गरेको छ ।

पहाडी भू–भागमा गेग्रान बहाव पहिरो र भू–क्षयको उच्च जोखिम रहेको छ। नदी तथा खोलाहरूमा जलस्तर बढेर आकस्मिक बाढी आउन सक्ने र तराईका होचा भू–भागमा डुबानको समस्या हुन सक्ने देखिएको छ। सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य, र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भन्दै विशेष गरी पर्वतारोहण र सवारीसाधनमा यात्रामा रहेकाहरूलाई सजग रहन आग्रह गरिएको छ।