बाढीले म्याग्दीकाे रेलेखोला जलविद्युत् आयोजनाको उत्पादन ठप्प: बाँधस्थल क्षतिग्रस्त हुँदा पहुँच मार्ग समेत अवरुद्ध
म्याग्दी, ३१ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। मनसुनको सक्रियतासँगै रेलेखोलामा आएको आकस्मिक बहाव आयोजनाको मुख्य संरचनामा पसेपछि गत असार २८ गतेदेखि उत्पादन ठप्प भएको हो।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीले आयोजनाको बाँध क्षेत्रमा उल्लेख्य क्षति पुर्याएको छ। बाँधस्थलमा बालुवा र गेग्रान भरिएपछि सुरुङतर्फ पानी पठाउन सकिने अवस्था छैन। यसका साथै, विद्युत् गृहदेखि बाँधस्थलसम्म पुग्ने पहुँच मार्गसमेत विभिन्न स्थानमा खसेको पहिरोका कारण विच्छेद भएको छ। सडक अवरुद्ध हुँदा मर्मतका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गर्न प्राविधिक कठिनाइ उत्पन्न भएको छ।
गत वर्ष मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको यो आयोजना निजी क्षेत्रको लगानीमा तयार पारिएको हो। आयोजनाबाट उत्पादित बिजुली म्याग्दीकै दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुँदै आएको थियो। “विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले दैनिक ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ,” प्रमुख काफ्लेले भन्नुभयो, “भौगोलिक विकटता र निरन्तरको वर्षाले गर्दा तत्काल पुनःसञ्चालनका लागि चुनौती थपिएको छ।”