साउन १ देखि हेटौँडामा नदीजन्य पदार्थको बिक्री वितरण र ओसारपसारमा रोक
काठमाडौँ, असार ३१ । हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि लागू हुने गरी नगर क्षेत्रभित्र नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसारपसारमा पूर्ण रोक लगाएको छ । उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्षको मसान्तमा गरिने प्रशासनिक प्रक्रियाका लागि यस्तो निर्णय गरिएको जनाएको हो ।
प्रचलित कानुनी व्यवस्था अनुसार, प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र क्रसर तथा बालुवा उद्योगहरूले आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद-बिक्रीको यकिन परिमाण सम्बन्धित स्थानीय तहमा बुझाउनुपर्ने हुन्छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्न उपमहानगरले केही समयका लागि कारोबार बन्द गराएको हो ।
उपमहानगरपालिकाका अनुसार नगर क्षेत्रभित्र सञ्चालित उद्योग तथा फर्महरूले चालु आर्थिक वर्षको कारोबार विवरणसहितको अन्तिम मौज्दात प्रमाणित गराएर मात्र आगामी आर्थिक वर्षको कारोबार प्रारम्भ गर्नुपर्नेछ । यसै प्रयोजनका लागि २०८१ असार ३२ गते राति १२:०० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कुनै पनि फर्म, उद्योग वा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण र ढुवानी कार्य नगर्न आग्रह गरिएको छ ।
उपमहानगरपालिकाले तोकिएको समय सीमाभित्र विवरण पेश नगर्ने वा प्रतिबन्धित समयमा लुकिछिपी नदीजन्य पदार्थको ओसारपसार गर्नेलाई कानुन बमोजिम कारबाही गरिने जनाइएकाे छ ।