क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा
क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।
नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् ।
नेपालले साउन १३ मा लड्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी २० सिरिज खेल्नेछ । लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृंखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ ।
शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ । तर, नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका छन् ।
भैरहवाका लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू १७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए ।
उनी करियरको टर्निङ प्वाइन्ट बंगलादेश टुरलाई नै मान्छन् । उनले भनेका छन्, ‘कप्तान भएर जाँदा र मार्चपास गर्दा मैले नेपालको झण्डा बोकेँ र राष्ट्रिय गान गाएँ । त्यसबेला माइण्डमा क्लिक भयो कि मैले नेपालकै लागि खेल्नपर्छ ।’
शक्तिले भैरहवामा क्रिकेट एकमेमी चलाएका छन् ।