आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ,  असार ३० । आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा आज निधन भएको छ।

सर्लाहीको गोडैता नगरपालिका निवासी मण्डलले गत शुक्रबार आत्मदाहको प्रयास गरेका थिए। उनलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत मण्डलको आज बिहान २:०५ बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

प्रहरीका अनुसार, पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा मण्डलको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो। गम्भीर अवस्थामा रहेका उनको चिकित्सकहरूको अथक प्रयासका बावजुद ज्यान जोगिन सकेन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।