संहिताको विरोधमा चिकित्सकहरुद्वारा माइतीघरमा प्रदर्शन

maitrinews

काठमाडौँ  । भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरु नारा लगाउँदै नयाँ बानेश्वर चोकमा पुगेर कोणसभा गरेका छन् ।

बिरामीको ज्यान बचाउने सफा नियतले आफूले भ्याएसम्म उपचार गर्दा केही अनपेक्षित घटना भए चिकित्सकलाई ज्यानमारासरह व्यवहार गर्ने कानुन संशोधन गर्न माग गर्दै उनीहरूले संगठित विरोध सुरु गरेका हुन् । नेपाल चिकित्सक संघको आह्वानमा उनीहरूले आइतबार नै मेडिकल काउन्सिलमा लाइसेन्ससमेत जम्मा गर्ने घोषणा गरेका छन् । आफ्ना मागप्रति सरकार संवेदनशील नभए शुक्रबारदेखि अनिश्चितकालीन रूपमा स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी संघले दिएको छ ।