काठमाडौँ महानगरको नमूना काम, ६ ओटा ए डिभिजन क्लललाई ५५ लाख बढी सहयोग
काठमाडौँ । काठमाडौँ महानगरपालिका ले काठमाडौँका ए डिभिजनका ६ ओटा क्लवलाई रु ९ लाख तीस हजारका दरले अनुदान सहयोग गरेको छ । खेलको विकासलाई समयानुकुल अघि बढाउन काठमाडौँ महानगरपालिकाले सो रकम अनुदान दिएको बताएको छ । राजधानीको राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो रकम हस्तान्तरण गर्नुभएको हो । काठमाडौँका ए डिभिजन क्लवहरु हिमालयन शेर्पा क्लव, मनाङ–मस्याङ्दी क्लव, संकटा युवा क्लव, सरस्वती युवा क्लव, काठमाडौँ खेल मण्डल (नआरटी) मच्छिन्द्र युवा क्लवलाई सो रकमको चेक मेयर शाक्यले हस्तान्तर गर्नुभएको हो ।
हस्तान्तर कार्यक्रममा बोल्दै मेयर शाक्यले महानगरपालिको ध्यान विगतमा पूर्वाधार विकासमा मात्रै जाने गरेको भन्दै अब खेलको विकासमा पनि ध्यान दिन थालेको जानकारी दिनुभयो । ‘महानगरपालिकाले यो दिएको यो रकम निकै ठूला लगानी गरेका क्लवहरुका लागि सानो हुनसक्छ,’ शाक्यले भन्नुभयो, ‘तर, यो सहयोगले खेलाडीको मनोवल बढ्ने अपेक्षा गरेका छौँ ।’
उहाँले लिग चरणका खेलहरुमा यी क्लवले जितुन भन्ने आफ्नो शुभकामना रहेको पनि बताउनुभयो । ‘काठमाडौँ महानगरको मात्र होइन अब काठमाडौँबासीका आखाँ तपाईँहरुको क्लवबाट खेल्ने जर्सी र खेलाडीमा पर्नेछन्,’उहाँले भन्नुभयो, ‘फुटवल सबै भन्दा नियममा बाँधिएर खेल्ने खेल हो । हामी राजनीतिक खेलाडीले पनि तपाईँहरुबाट सिक्नुपर्छ । त्यसैले हामीलाई पनि उत्साहित बनाउने गरी र आगामी दिनमा यो अनुदान अझ थपौँ–थपौँ लाग्ने गरी खेल्नुहोला, शुभकामना छ ।’
शाक्यले यो अनुदान सुरुवात मात्र भएको पनि बताउनुभयो । आगामी दिनमा अनुदान थप्दै जाने बताउनु भयो ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको फुटवल क्षेत्रको विकासका लागि यो कोशेढुंगा भएको दाबी गर्नुभयो । ‘मेरो जानकारी अनुसार स्थानीय सरकारले यसरी खेल क्षेत्रको विकासका लागि यस्तो उदाहरणीय सहयोग गरेको सायद यो नै पहिलो हो,’ उहाँले भन्नुभयो, ‘नेपालको फुटवलमा यो ऐतिहासिक दिन हो । स्थानीय सरकारले खेलक्षेत्रप्रति आफ्नो स्वामित्व लिएको छ । खुशी लाग्यो । नेपालको खेलकुद इतिहासमा सायद यो पहिलो हो, नमूना हो र स्वर्ण अक्षरले लेखिने काम हो ।’
उहाँले आगामी दिनमा वी र सी डिभिजनका क्वललाई पनि विस्तारै सहयोग गर्दै जान उहाँले सुझाव दिनुभयो ।
एवं मनाङ–मस्र्याङ्दी क्लवका अध्यक्ष कान्छा मुखिया गुरुङले पनि स्थानीय सरकारले खेल क्षेत्रको विकासका लागि गरेको यो उदाहरणीय सहयोग भएको बताउनुभयो ।