वाणिज्य बैंकहरूको नाफामा १९ प्रतिशतको सुधार, ११ महिनामा कुल ६४ अर्ब ४७ करोड रुपैयाँ आर्जन

काठमाडौँ, २८ असार । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको खुद नाफामा १९ प्रतिशतले वृद्धि भएको छ। बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कुल ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कुल नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा सबैभन्दा बढी नाफा कमाउने सूचीमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिल बैंकले समीक्षा अवधिमा ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सर्वाधिक नाफा कमाउनेको दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमईले जेठ मसान्तसम्म ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये नाफाको वृद्धिदरका आधारमा कुमारी बैंक अग्रस्थानमा देखिएको छ। कुमारी बैंकले चालु आर्थिक वर्षको जेठसम्म ४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार १६८.४५ प्रतिशत बढी हो। गत वर्षको यसै अवधिमा कुमारी बैंकले ३७ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो।

बजारमा तरलताको अनुकूलता र ब्याजदरमा आएको सामान्य गिरावटका कारण वाणिज्य बैंकहरूको नाफाको सूचकमा सकारात्मक सुधार देखिएको वित्तीय विश्लेषकहरू बताउँछन्।