एन्जेलिना भन्छिन्— आत्मबलले स्तन क्यान्सर निको हुने एन्जेलिनाको भनाइ

काठमाडौँ । स्तन क्यान्सरबारे सचेतना फैलाउन अक्टोबर महिना प्रायस् विश्वभर विभिन्न कार्यक्रम हुने गर्छन् । गुलाबी रिबन बाँध्नेदेखि यही रङको पहिरन लगाएर यो अभियानमा सामेल हुने गरिएको छ ।

सेलेब्रिटीहरूले पनि आ–आफ्नो ढंगले यसमा हिस्सा लिँदै आएका छन् । यस पटक बलिउडकी ताहिरा कश्यपदेखि हलिउडकी एन्जेलिना जोलीले स्तन क्यान्सरबारे आफ्ना अनुभव साझा गरेका छन् ।

अभिनेता आयुष्मान खुरानाकी पत्नी ताहिराले क्यान्सरबाट गुज्रिँदै गर्दा धेरै कुरा सिकेको बताएकी छन् । उनले क्यान्सर भएको पुष्टि हुनासाथ केही दिनअघि आफ्नो अवस्थाबारे इन्स्टाग्राममार्फत् जानकारी दिएकी थिइन् । ‘जिन्दगीमा आइपरेको यो अवरोधले मलाई पुनर्जन्म दिएको छ,’ उनले क्याप्सन लेखेकी थिइन्, ‘अबको अनिश्चयलाई सम्मान गर्दै जिन्दगीको नाटकमा आफू हिरो हुनेछु भन्नेमा विश्वस्त छु ।’ यस्तो बेला अदम्य साहस वरदान साबित हुने भन्दै उनले दुस्खमा नआत्तिन आग्रह गरेकी छन् ।

आयुष्मानले समेत ३५ वर्षे श्रीमतीको मनोबल अनुकरणीय भएको बताएका छन् । परिवारको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन उनले पुरुषहरूलाई आग्रह गरेका छन् । ताहिराले चाहिँ स्तनलाई लिएर महिलाहरू संकुचित हुन नहुने बताएकी छन् । ‘केही लक्षण देखियो भने त्यसलाई रक्षात्मक शक्तिका रूपमा लिनुहोस्,’ उनले भनेकी छन्, ‘र, तुरुन्त स्वास्थ्य परीक्षण गर्नुहोस् । मेरो स्तनले मलाई नयाँ अवतार प्रदान गरेको छ । सबै स्तनका आफ्नै कथा हुन्छन् ।’

अभिनेत्री एन्जेलिना जोलीले क्यान्सर हुन नदिन दुई पटक मास्टेक्टोमी ९स्तन हटाउनु० गरेकी थिइन् । वर्षौंसम्मको संघर्षपछि उनकी आमाको पनि यही कारण ५६ वर्षको उमेरमा निधन भएको थियो । ‘स्तन क्यान्सर मेरो वंशाणुगत समस्या हो भन्ने थाहा पाएपछि मैले सतर्कता अपनाउन थालें,’ एन्जेलिनाले भनेकी छन्, ‘खतरा कम गर्ने उपाय अपनाएँ । त्यही भएर मास्टेक्टोमी गरें ।’ उनले पनि यो समस्यासँग जुध्न ठूलो साहस चाहिने बताएकी छन् ।

हलिउडकै अर्की अभिनेत्री जुलिया लुइस–ड्रेफुसले स्तन क्यान्सरको पीडा पार लगाउन आफूलाई साथीभाइ, परिवार र समाजले साथ दिएको बताएकी छन् । गत साल मात्रै उनले यसको उपचार गरेकी थिइन् । उनी भन्छिन्, ‘आठमध्ये एक महिलालाई स्तन क्यान्सर हुने गरेको छ । त्यो एकमा म पनि परें । खुशीको कुरा के भने मलाई साथ दिने ठूलो समूह र मायालु परिवार, आत्मीय साथी र आकर्षक बिमा सुविधा थियो । तर, दुस्खको कुरा यी सबै चिज सबै महिलालाई उपलब्ध छैनन् । हामी सबै क्यान्सरविरुद्ध लडौं ।’
अमेरिकी अभिनेत्री एवं नृत्यांगना हुन्, क्रिस्टिना एप्पलगेट । उनलाई सन् २००८ मा ३६ वर्षको छँदा स्तन क्यान्सर भएको थियो । उनले सुरुमा लम्पेक्टोमी गरिन् । स्तनमा पलाएको अनावश्यक गाँठो शल्यक्रिया गरी हटाइयो । तर, समस्या सुल्झिएन । स्तन क्यान्सरको जड नमासिएपछि उनले पनि डबल मास्टेक्टोमी गराइन् । ‘यो मेरा लागि निकै भावुक क्षण थियो’, उनले भनेकी छन्, ‘तर, त्यसले मलाई बलियो बनायो ।’

समयमै रोग पत्ता लगाउँदा आफूले नयाँ जीवन पाएको भन्दै उनले महिलाहरूलाई स्तनको निरीक्षण गरिरहन सुझाव दिएकी छन् ।