इण्डोनेसियामा ज्वालामुखी सुनामी, ४३ जनाको मृत्यु

इन्डोनेसिया । इण्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीका कारण कम्तीमा ४३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। सो देशको विपद व्यवस्थापन निकायका अनुसार ५८४ जना घाइते भएका छन् भने दर्जनौँ भवन भत्किएका छन्।
क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्र मुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुनसक्ने उनीहरूले अनुमान गरेका छन्।
जाभा र सुमात्रा टापु बीचमा अवस्थित सुन्दा स्ट्रेट ले जाभा सागरलाई हिन्द महासागरसँग जोड्छ।
विपद व्यवस्थापन निकायका प्रमुखले राखेका तस्बिरहरूमा सुनामीपछिका दृश्य देखिन्छन् जसमा पानीमा डुबेका सहर तथा पल्टिएका गाडीहरू देखिन्छन्।
अनाक क्राकाटोआ नामक यो ज्वालामुखी हालैका महिनाहरूमा धेरै पटक विस्फोट भइसक्यो। यो दृश्य जुलाई महिनाको हो।
उनले त्यसअघि पानीको तेज बहाव पसेपछि स्थानीयबासीहरू भागिरहेको दृश्यपनि राखेका थिए।
आपतकालीन सेवा प्रदायक अधिकारीहरूले उक्त सुनामी क्राकाटोआ ज्वालामुखीका कारण आएको हो कि भनेर अनुसन्धान गरिरहेका छन्।