सात वर्षीय बालक बने क्रिकेट कप्तान

maitrinews

 

मेलर्वन । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गरेका छन् । पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो । सात वर्षीय बालक आर्ची चिलरले कप्तानको भूमिका निर्वाह गर्दा मैदानमा छुट्टै उत्साहा देखियो । खेलमा नियमित कप्तान टिम पाइनसँगै आर्चीले पनि संयुक्त रूपमा कप्तानको जिम्मेवारी निर्वाह गरेका हुन् । आर्ची सानै उमेरदेखि मुटु रोगबाट पीडित छन ्। थुप्रै पटक उनको मुटुको गम्भीर शल्यक्रिया भइसकेको छ । आर्ची क्रिकेट भनेपछि हुरुक्कै हुन्छन् । तर, मुटुको गम्भीर समस्याका कारण क्रिकेट खेल्ने उनको सपना भने पूरा हुन सक्दैन । उनी आफ्नै साथीहरूसँग पनि लामो समय खेल्न वा दौडन सक्दैनन् । केही समयअघि आर्चीका पिताले उनको सपनाबारे सोधेका थिए । त्यतिबेला आर्चीले कप्तानका रूपमा अस्ट्रेलियन क्रिकेट टोलीको नेतृत्व गर्नु आफ्नो सपना भएको बताएका थिए । उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि त्यही सपना पूरा गर्न भारतविरुद्ध तेस्रो टेस्टमा आर्चीलाई अस्ट्रेलियन टोलीको कप्तान बनाइएको हो ।