बेलायतका प्रधानमन्त्री मेको ब्रेक्जिट सहमति संसदबाट अस्वीकृत
लण्डन । ब्रिटेनको संसदले प्रधानमन्त्री टरिजा मे सरकारको ब्रेक्जिट सहमतिलाई धेरै मतले पराजित गर्दै ब्रिटेन युरोपेली संघ ईयूबाट अलग हुने योजनाका आवश्यक प्रक्रियाहरूलाई अनिश्चित तुल्याइदिएको छ।
ईयूसँग मेले गरेको ब्रेक्जिट सहमतिका कयौँ विषयमाथि सांसदहरूले असहमति जनाएपछि संसदमा मे सरकारको प्रस्ताव २३० मतले पराजित भएको हो।
ब्रिटिश प्रधानमन्त्री मेको ब्रिटेन युरोपेली संघ ईयूबाट बाहिरिने प्रस्तावको पक्षमा २०२ र विपक्षमा ४३२ मत परेका थिए।
यो बहालवाला सरकारको अहिलेसम्मकै ठूलो हार मानिएको छ।
मेले अहिलेको संसदीय पराजयले सन् २०१६ मा ब्रिटेन ईयूबाट अलग हुने पक्षमा ब्रिटेनका जनताले दिएको अभिमतबारे केही नबोलेको प्रतिक्रिया दिएकी छन्।
सरकारले आज राति संसदले भनेको कुरा सुनेको छ। तर म यहाँहरू सबैलाई ब्रिटेनका जनताले भनेको कुरा सुन्न आग्रह गर्दछु र ठीक त्यहि काम गर्न अनुरोध गर्दछु। उनले भनिन्।
पछिल्लो पराजय लगत्तै ब्रिटेनमा प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि संसदमा बुधबारबाट छलफल हुने कार्यक्रम छ।
ब्रिटेनको संसदमा प्रधानमन्त्री मेको हारबारे प्रतिक्रिया आउने क्रम जारी रहँदा ईयूका नेताहरूले दुख प्रकट गरेका छन्।
अर्कोतिर अब ब्रिटेनले दश हप्ताभन्दा थोरै समयपछि ईयू छोड्ने भएपछि स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जनले प्रधानमन्त्री टरिजा मेलाई ब्रेक्जिटका सबै प्रक्रिया स्थगन गरी ब्रिटेनले ईयू छोड्ने कि नछोड्ने भन्ने विषयमा अर्को जनमत संग्रह आयोजना गर्न आग्रह गरेकी छन्।
ब्रिटेन युरोपेली संघ ईयूबाट बाहिरिने सहमतिका लागि दुई वर्षभन्दा लामो समयदेखि जोडतोडले लागिरहेकी प्रधानमन्त्री मेले हारको ठूलो धक्का सामना गरिरहेकी छन्।
मेको योजना अनुसार आगामी मार्च २९ बाट ब्रिटेन इयुबाट औपचारिक रूपमा बाहिरिने र त्यसपछि स्वतन्त्र व्यापार सहमतिका लागि २१ महिने संक्रमणकाल लागु हुने भन्ने थियो।
गत डिसेम्बरमै सो मतदान हुने बताइएको थियो। तर प्रधानमन्त्री मेले धेरै सांसदहरूको समर्थन जुटाउने अपेक्षासहित केही ढिला गरेकी थिइन्।
ब्रिटेन अझै पनि २९ मार्चमा इयुबाट बाहिरिने बाटोमा छ।
तर पक्षभन्दा विपक्षमा धेरै सांसदहरू देखिएपछि बहिर्गमनको तरीका र समयबारे थप शंकाहरू भने बाँकी नै छन्।
प्रधामन्त्री मे आफ्नो स्वतन्त्र व्यापार नीतिमा अडिग रहन चाहन्छिन् त्यो लेबर पार्टीको नीतिसँग मेल खाँदैन।
मेसँग आफूले ईयूसँग गरेको सहमति परित्याग गर्ने उत्साह पनि निकै कम छ।