राष्ट्रसङ्घका एकतिहाइ कर्मचारी यौन दुर्व्यवहारको सिकार

 

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घमा काम गर्ने प्रत्येक तीनमध्ये एक कर्मचारीले गत दुई वर्षभित्र यौन दुर्व्यवहार भोगेको एक प्रतिवेदनले उजागर गरेको छ।
नोभेम्बरमा गरिएको उक्त सर्वेक्षणमा ३०,३६४ कर्मचारी तथा ठेकेदारहरूले भाग लिएका थिए। उक्त सङ्ख्या सर्वेक्षणमा भाग लिन योग्य कुल सङ्ख्याको १७ प्रतिशत हो।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले प्रतिवेदन तथा त्यसमा सहभागी हुन चाहनेको थोरै सङ्ख्याले उक्त संस्थाभित्र अझै धेरै सुधार गर्न बाँकी रहेको देखाएको प्रतिक्रिया दिएका छन्।
यौन दुर्व्यवहार तथा आक्रमणविरुद्ध संसारभरि मीटू अभियान चलिरहेका बेला उक्त सर्वेक्षण प्रतिवेदन आएको छ।
सो सर्वेक्षणमा तुलनात्मक रूपमा थोरै सहभागी हुनुको अर्थ राष्ट्रसङ्घभित्र जारी अविश्वासको भावना, कुनै कारबाही नहुने आशङ्का तथा जवाफदेहीपनको अभावु रहेको उनले बताए।

ूसमानता, मर्यादा तथा मानव अधिकारको जगमा उभिएको हाम्रो जस्तो संस्थाले उदाहरण प्रस्तुत गरेर अगुवाइ गर्नुपर्छ, उनले भने।
डेलोइटले तयार पारेको सो प्रतिवेदन अनुसार यौन दुर्व्यवहारको सिकार भएको बताउनेहरूमध्ये आधाभन्दा धेरैले त्यस्तो घटना कार्यालयकै वातावरणमा भएको बताए भने १७।१ प्रतिशतले चाहिँ कार्यालयसम्बन्धी सामाजिक समारोहमा भएको बताए।

बीस प्रतिशतभन्दा धेरैले चाहिँ उनीहरूलाई अनुचित लाग्ने यौनसम्बन्धी कथा वा चुट्किला सुनाइएको बताए।

अन्य १४।२ प्रतिशतले उनीहरूको पहिरन वा शरीर वा यौन क्रियाकलापबारे अनुचित टिप्पणी गरिएको बताए। तेह्र प्रतिशतले चाहिँ उनीहरूलाई असहज लाग्ने गरि यौनसम्बन्धी कुराकानीमा सहभागी गराइएको बताए।