दैनिक २ अर्ब ५० करोड डलर कमाउँछन् विश्वका अर्बपतिहरु
काठमाडौं । विश्वका अर्बपतिहरुले दैनिक २ अर्ब ५० करोड डलर कमाउने गरेको एक प्रतिवेदनले देखाएको छ । जबकी विश्वको आधा गरिब जनसंख्याको औसत सम्पत्ति भने घट्दै गएको छ । विश्वका अर्बपतिको संख्या २ हजार २०८ जना पुगेको छ । सोमबार सार्वजनिक भएको अक्सफामको प्रतिवेदन अनुसार एक दशकअघिको विश्वको वित्तीय संकटपछि अर्बपतिको संख्या झण्डै दोब्बर बनेको हो ।
स्विट्जरल्याण्डको डेभोसमा हुन गइरहेको विश्व आर्थिक फोरमअघि यस किसिमको वार्षिक प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा धनी र गरिबबीचको आर्थिक असमानता बढ्दो क्रममा रहेको देखिएको छ । विश्वका सबैभन्दा धनी २६ मानिसहरुको सम्पत्ति गत वर्ष १४ खर्ब डलर पुगेको थियो । यो सम्पत्ति गरिब ३ अर्ब ८० करोड मानिसको सम्पत्तिबराबर हो ।
अत्यधिक सम्पत्ति भएका धनी मानिसहरुमा धेरैजसो अमेरिकी रहेका छन् । फोर्ब्सका अनुसार एमेजनका जेफ बेजोस, माइक्रोसफ्टका बिल गेट्स, बक्सायर हाथवेका वारेन बफेट र फेसबुकका मार्क जुकरवर्गको संयुक्त सम्पत्ति ३ खर्ब ५७ अर्ब डलर छ ।
अक्सफामको प्रतिवेदनमा मुलुकहरुलाई आर्थिक असमानता कम गर्न करको नीतिमा परिवर्तनको लागि सुझाव दिएको छ । अक्सफामले सार्वजनिक सेवाको क्षेत्र, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको लागि पनि विभिन्न मुलुकहरुलाई सुझाव दिएको छ ।