अमेरिकामा चिसोका कारण सातको मृत्यु , विभिन्न भेगमा आपतकालीन घोषणा

Maitrinews

 

काठमाडौं । अमेरिकामा एकाएक बढेको चिसोले करोडौं मानिस प्रभावित भएका छन् । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको छ ।

सिकागो राज्यका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि चिसो रहेको बताइएको छ ।

त्यहाँ रेलमार्गमा आगोले हिउँ पगालेर रेल चलाइएको छ । यो हप्ताको अन्त्यसम्ममा अमेरिकाका २ करोड मानिसले माइनस २८ वा त्यो भन्दा कम तापक्रमको महसुस गर्ने अनुमान गरिएको छ ।
चिसोका कारण अमेरिकाको मध्यपश्चिमी भेगमा धेरै प्रभाव परेको छ । विस्कोन्सिन, मिसीगन र एलिनोइसका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

उत्तरी डाकोडाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ ।

अमेरिकी मौसम पूर्वानुमान केन्द्रका अनुसार केही ठाउँमा बिहीबार दिनैभरि नै हिमपात हुने सम्भावना छ । विस्कोन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ ।
मौसमको खरावी अमेरिकाबाट क्यानडा हुँदै रुससम्म पुग्ने बताइएको छ ।