क्रिकेटमा नेपालको यस्तो छ उत्कृष्ट पुनरागमन

Mohan Bastola

काठमाडौँ । नेपालले पहिलो एकदिवसीय र टी–२० सिरिज जितेपछि नेपालको चर्चा चुलिएको छ । घरेलु टोली युएइसँग तीन एकदिवसीय तथा तीन टि–२० खेल खेलेको नेपाली टोलीले दुवै सिरिज समान २–१ ले जितेको छ । दुवै सिरजअन्तर्गतका पहिलो खेलमा पराजय भोगेको नेपालले पछिल्ला दुई खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि रक्षा गरेको हो ।

उपाधि जितेपछि नेपाली टोलीका खेलाडीले आत्मविश्वासी बनाएको बताएका छन् । विश्वकप छनोटको यात्राका लागि समेत यो जितले जनिक पुर्याएको उनीहरुको भनाई । जारी प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व रेकर्डसमेत बनाएपछि अझ बढी चर्चा भएको हो । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बन्नुभएको छ । उहाँले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोड्नु भएको हो। यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बन्नुभएको छ । टी–२० सिरिज खेल्नुअघि नेपालले युएइसँग तीन खेलको एकदिवसीय शृङ्खला खेलेको थियो ।

नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्वनमा परेको तीन वर्ष भइसक्यो । यसबीचमा राष्ट्रिय टोलीले तीन ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षैदेखिको विश्व क्रिकेटमा एकछत्रराज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व रेकर्ड समेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् ।