पाँच वर्ष भित्रमा सबै खोला–खोल्सीमा पुन निर्माण गर्ने छौँ

Mohan Bastola

पृथ्वी सुब्वा गुरुङले जनअपेक्षा अनुसार अझै पनि का मगर्न नसकेको बताउनु भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश इञ्चार्ज गुरुङले आगामी दिनमा जनताबाट थप उत्साहसहित काम गरेर अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गुरुङसँग मोहन बास्तोलाले गरेको कुराकानीः

सरकारले अघि सारेको खुशी नेपाली समृद्ध नेपालको अभियानले कत्तिको सार्थकता पाएको जस्तो अनुभूति भएको छ ?

पहिलो कुरा खुशी नेपाली समृद्ध नेपालको नारा नेकपाको मात्र नारा होइन । यो करीब तीन करोड नेपालीको नारा हो । हामीले यसलाई यसरी बुझ्नुपर्छ । हो, यो नारा मुलुकको प्रधानन्त्री समेत रहनु भएको नेकपाका अध्यक्ष केपी शर्मा ओलीको मात्र होइन । यो सारा नेपालीको नारा हो । यो सबैको लक्ष्य पनि हो । अब हामी सबै नेपालीले समृद्धिको अभियानमा एकजुट भएर जुट्नुको अर्को विकल्प छैन । हामी सबै नेपाली एक भएर अघि बढ्ने हो भने मात्र यो नारा अभियानका रुपमा विकास हुने छ र साच्चै मुलुक पनि समृद्धिको दिशामा अघि बढ्ने छ । अहिले सात प्रदेश मध्ये ६ ओटा प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार छ । दुई नम्बर प्रदेशमा पनि नेकपाकै समर्थनमा सरकार बनेको छ । यसरी हेर्दा सात वटै प्रदेशमा सरकारमा सहभागी दलकै नेतृत्वको सरकार छ । यो समृद्धिको अभियान पूरा गर्नका लागि सकारात्मक सन्देश पनि हो । मैले अघि पनि भने हामी सबैको लक्ष्य भनेको खुशी नेपाली समृद्ध नेपाल नै हो । सरकार अहिले त्यहि लक्ष्य अनुसार नै अघि बढेको छ । केन्द्र सरकार मात्र होइन प्रदेश र स्थानीय सरकार पनि त्यहि लक्ष्य अनुसार नै अघि बढेको छ । यो सबैको अभियान भएकाले सबै लाग्नु आवश्यक पनि छ ।

तपाईँ आफ्नो जिम्मेवारीप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ र यो सरकारको समृद्धिको अभियानमा कत्तिको अघि बढेको जस्तो लागेको छ ?

सात वटै प्रदेश यो अभियानमा जुटेका त अवश्य छन् नै गण्डकी प्रदेश पनि अहिले सुखी नेपाली समृद्ध नेपालको अभियानमा जुटेको छ । यहाँका हरेक गतिविधि त्यसैसँग केन्द्रित रहेको छन् । कानुन निर्माणको कुरा होस या कानुनी राज्य स्थापना गर्ने कुरा नै किन नहोस् यहाँको सरकार यहि अभियानमा जुटेको छ । शुसासन र शान्ति–सुव्यवस्था कायम गर्ने सन्दर्भमा पनि यो प्रदेश लागि परेको जानकारी गराउन चाहन्छु ।

केन्द्र सरकारको अभियानकै पथमा गण्डकी प्रदेश पनि अघि बढेको छ ?

हो, स्वाभाविकै रुपमा प्रदेश सरकार केन्द्र सरकारको दिशा निर्देश अनुसार नै अघि बढ्नुपर्छ । गण्डकी प्रदेश पनि त्यहि अनुसार नै अघि बढेको छ । हो, कतिपय सन्दर्भमा जनताले सोचे अनुसारको काम गर्न नसकेको सत्य हो । तर, अहिले पनि हामी जनताको चाहना अनुसार नै काम अघि बढाइरहेका छौँ । हामीले जनभावना अनुसार नै आफ्ना गतिविधिलाई अघि बढाई रहेका छौँ । हामीलाई यहाँका जनताले निकै ठूलो विश्वास गरेर विजयी बनाएर पठाएको भएकाले पनि हामीले जनताको अपेक्षा अनुरुप नै काम गर्ने प्रयास गरेका छौँ ।

गण्डकी प्रदेशका जनताले सिंहदरबारको अधिकार गाउँगाउँमा आयो भन्ने कत्तिको महशुस गर्न सके जस्तो लागेको छ ?

गण्डकी प्रदेशका जनताले यो सरकारबाट निकै धेरै अपेक्षा गरेका छन् । हामीले पनि जनअपेक्षा अनुसार का मगर्न सकेकाले नै होला । यहाँका जनता पनि उत्साहित भएका छन् । उनीहरुले हामीले गण्डकी प्रदेश पायौँ । हामीले राजधानी पायौँ भनेर खुशी व्यक्त गरेका छन् । अन्य धेरै प्रदेशले अहिलेसम्म पनि प्रदेशको नाम र राजधानी पाउन सकेका छैनन् । त्यसैले यो प्रदेशका जनता यस अर्थमा पनि भाग्यमानी छन् । अहिले यहाँका जनताले हामी गण्डकी प्रदेश र पोखरा राजधानी भएको प्रदेशका जनता हौँ भन्न सक्ने भएका छन् । यो ठूलो कुरा हो । प्रदेश सरकारले गरेको यो ठूलो उपलव्धी पनि हो । हामीले यो सँगै विकास निर्माणका कामलाई पनि तिप्र गतिाम अघि बढाएका छौँ । यहाँका सबै जनताको मनोभावनालाई आधार मानेर हामीले गण्डकी प्रदेश नामाकरण गर्न सक्नु कम्ति चुनौतिको कुरा होइन । यो हामीले सफल ढंगले सम्पन्न गर्न सकेका छौँ ।

त्योसँगै गण्डकी प्रदेशको अर्को सफलता भनेको जनताको घरघरमा पानीको व्यवस्था गरेका छौँ । धारा नभएको घरमा धाराको व्यवस्था गरेका छौँ । बाटोघाटो नभएको ठाउँमा बाटोघाटो पुर्याउने व्यवस्था गर्दै आएका छौँ । यो जनताले प्रत्यक्ष अनुभव गर्ने कुरा हो । हामी दुई वर्ष भित्रमा जुनजुन घरमा धारा र पानी छैन । ती–ती घरमा धारा र पानी पुर्याउने अभियानमा जुटेका छौँ । पाँच वर्ष भित्रमा प्रत्येक घरमा धारा र पानी पुर्याउने अभियानमा हामी जुटेका छौँ । यो अभियानमा जनताले हामीलाई व्यापक साथ र सहयोग गरेका छन् ।

त्यो सँगै हामीले घर–घरमा विद्यूत लाईन पुर्याउने कुरामा पनि हामी लागि परेका छौँ । त्यो अभियानमा पनि जनताको व्यापक सहभागिता र समर्थन रहेको छ । यो प्रदेश सरकारको पनि सफलता हो । हामीेले यसलाई पनि सफलताको रुपमा लिएका छौँ । यो अभियानमा प्रतिपक्षीहरुको पनि सहयोग रहेको छ । यसले हामीलाई अझ ढुक्कका साथ काम गर्ने अवसर सिर्जना भएको छ । हामीले यो कार्यकालमा जनताले अनुभूत गर्ने गरी काम गर्न सक्छौँ भन्ने आत्माविश्वास पैदा भएको छ । हामीलाई काम गर्न पनि उत्साह पैदा भएको छ ।

त्यो सँगै हामी कृषिको व्यवासायी करण गर्ने कुरामा पनि ध्यान दिएका छौँ । कृषिको आधुनिकीकरण र व्यवसायी करणमा पनि हामीले ध्यान दिएका छौँ । कृषिलाई प्रविधिसँग जोड्ने कुरामा पनि हाम्रो ध्यान केन्द्रित भएको छ । यसले पनि कृषकहरुमा उत्साह पैदा भएको छ ।

तपाईँहरु जनतासँग प्रत्यक्ष जोडिएर नै काम गरिरहनु भएको छ ?

निश्चय पनि, हामी अहिले जनतासँग जोडिएर काम गरिहेका छौँ । गण्डकी प्रदेश प्रर्यटन प्रर्वद्धनका लागि पनि निकै उपयुक्त प्रदेश हो । यो प्रदेशका २ सय ३८ वटा गाउँले त होमस्टे सञ्चालन गर्ने भनेर हामीसँग माग गर्नुभएको छ । यो खुशीको कुरा हो । त्योसँगै हामीले यो पाँच वर्ष भित्रमा ऊर्जा, भौतिक पूर्वाधार जस्ता कुरामा पनि हामीले ध्यान दिएका छौँ । भौतिक पूर्वाधारकै कुरा गर्ने हो भने हामीले यो पाँच वर्ष भित्रमा सबै खोला–खोल्सीमा पुन निर्माण गर्ने छौँ । पुल अभावले कुनै पनि बाटा–घाटा रोकिने छैनन् । यो पाँच वर्ष भित्रमा प्रदेशका सबै पालिकामा हामीले बीच बाटो पुर्याएको हुने छौँ । यसमा सबै पालिकाको सहयोग रहेको छ ।

जनताको मन जित्ने गरी नै तपाईँहरु अघि बढ्नु भएको छ ?

हो, मैले अघि पनि भने हामीले अझै पनि जनताको अपेक्षा अनुसार काम गर्न सकेका छैनौँ । हामी अब विस्तारै जनताको मन जितेर अघि बढ्ने छौँ ।