यू–१९ विश्वकप छनोटमा नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

 

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालको छनोटको आशा बढेको छ । जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको जित हात पारेसंगै नेपालको आशा बढेको हो ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा विजयका लागि नेपालले ९३ रनको लक्ष्य पाएकामा २२२ बल खेल्नुअघि नै जित हात पार्यो । नेपालले १३ ओभरमै २ विकेटको नोक्सानीमा जित पाएको हो ।

रित गौतमले नटआउट ३९, आसिफ शेखले २६ र पवन सर्राफले १९ रन बनाए ।

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले ३३।५ ओभरमा अलआउट हुँदै ९२ रन बनायो । लिज्जत डानियल फिकरीले सर्वाधिक ३७ रन बनाए । नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए । खेलका सुरुवाती दुवै विकेट कमल सिंह ऐरीले लिएका थिए ।

सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले तेस्रो खेलमा तुलनात्मक कमजोर टोली मलेसियासंग खेलेको हो ।

जितपछि ४ अंक जोडेको नेपाल छनोटका लागि संघर्षरत छ । शीर्ष स्थानको एक टिमले मात्र विश्वकपमा ठाउँ बनाउने छ ।
यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविसको आधारमा १ रनले पराजित भएको थियो । नेपालले मंगलबार ओमानसंग खेल्नेछ ।