नेपालको यू–१९ विश्वकप यात्रा समाप्त

maitrinews

मलेसिया ।   सन् २०२० को यू–१९ क्रिकेट विश्वकपको यात्रा समाप्त भएको छ । मलेसियामा जारी एसिया क्षेत्रको छनोट प्रतियोगितामा युएइले शीर्षस्थान कब्जा गरेपछि नेपालको यात्रामा पूर्णविराम लागेको हो ।

६ राष्ट्र सहभागी प्रतियोगीतामा सबै खेलमा जित निकाल्दै युएई विश्वकपका लागि छनोट भयो । अन्तिम खेलमा बिहीबार ओमानलाई १० विकेटले हराउँदै युएईले विश्वकपमा सहभागीता सुनिश्चित ग-यो ।

टस जितेर ब्याटिङ रोजेको ओमानले युएइलाई १०६ रनको लक्ष्य दिएको थियो । उसले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो । युएइले यो लक्ष्य सहजै पुरा ग-यो । कुनै पनि विकेट नगुमाई १२ ओभर १ बलमा युएइले जित निकाल्यो । युएइका ओपनर आर्यन लाक्राले ५१ र सयद हैदरले ५६ रन बनाए ।

यसअघि युएइले नेपालसहित सिंगापुर, हङकङ र मलेसीयालाई हराएको थियो । पानी परेर अवरुद्ध भएको नेपालविरुद्धको खेलमा युएइ भाग्यमानी सावित भयो । नेपालविरुद्ध २४८ रनको लक्ष्य पछ्याएको युएइले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाउँदा खेल रोकियो र युएइ डकवर्थ लेविसका आधारमा एक रनले विजयी भयो ।

युएइबाहेक अन्य सबै टिमसँग विजयी नेपाली टोली अहिले कुवेतविरुद्ध खेलिरहेको छ ।