इन्डोनेसियाको राष्ट्रपतिमा विडोडो पुनः विजयी
इन्डोनेसिया । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । राजधानी जकार्तामा निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गर्दै विडोडो पुनः विजयी भएको घोषणा गरेको हो ।
राष्ट्रपति विडोडोले ५५।५ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोले ४४।५ प्रतिशत मत प्राप्त गरेका छन् । इन्डोनेसियाका ३४ वटा प्रान्तका १३० सहरमा मतगणना गरिएको थियो ।
प्रबिवोले मतपरिणाम स्वीकार गरेका छैनन् । प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनले पाँचवटा प्रान्तमा फेरि निर्वाचन गराउनुपर्ने माग गरेका छन् । ती प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ ।
मतपरिणाम सार्वजनिक गर्दा निर्वाचन आयोगको कार्यालयलगायत जाकार्ताभर कडा सुरक्षा सतर्कता कायम गरिएको थियो । सुरक्षाका लागि सयौँको संख्यामा सैनिक तैनाथ गरिएको थियो । विडोडोका विरोधीले हिंसा मच्चाउन सक्ने आशंकामा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
यसअघि सन् २०१४ मा विडोडोले ५३।१५ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुविआन्तोले ४६।८६ प्रतिशत मत प्राप्त गरेका थिए । इन्डोनेसिया विश्वको सबैभन्दा ठूलो मुसलमान बाहुल्य रहेको देश हो ।